१५ चैत्र २०८०, बिहीबार
Follow Us

समस्यामा वैदेशिक रोजगारबाट फर्केका नेपालीे, २३ हजार आवेदन २३ जनाले मात्र पाए ऋण

नेपालब्रिटेन डट कम्
११ श्रावण २०७६, शनिबार ०३:००

काठमाडौं – वैदेशिक रोजगारीबाट फर्किएका नेपालीलाई स्वदेशमा रोजगारी दिन सरकारले ल्याएको कार्यक्रम प्रभावकारी हुन नसक्दा विदेशबाट फर्किएकाहरू अलपत्र परेका छन् ।
सरकारले सो कार्यक्रमको प्रभावकारी कार्यान्वयन गर्न नसक्दा देशको अर्थतन्त्रको महत्वपूर्ण हिस्सा ‘रेमिट्यान्स’ भित्र्याउन महत्वपूर्ण योगदान दिँदै आएका नेपालीको अपमान भएको उनीहरूले आरोप लगाएका छन् । मुलुकको अर्थतन्त्रको ठूलो हिस्सा ‘रेमिट्यान्स’ ले धान्दै आएको छ ।

स्वदेशमै व्यवसायको वातावरण तयार पार्ने आकर्षक नारा दिएर सरकारले विदेशबाट फर्किएकाका लागि सहुलियतपूर्ण ऋण उपलब्ध गराउने घोषणा गरेको थियो । सरकारले उत्साहपूर्वक घोषणा गरेको कार्यक्रमको कार्यान्वयनमा भने समस्या देखिएको छ । बैंकले अनेक बहाना बनाएर ऋण दिन आनाकानी गरेपछि स्वदेशमै केही इलम गर्ने सुन्दर सपना बोकेर फर्केका हजारौंले ऋण पाउन सकेका छैनन् ।
सरकारले बिनाधितो सहुलियत दरमा ऋण उपलब्ध गराउने घोषणा गरे पनि सरकारको सो घोषणाअनुरूप बैंकले बिनाधितोमा ऋण उपलब्ध गराउँदा लगानी जोखिममा पर्ने र ११ प्रतिशतभन्दा बढी ब्याज असुल्दै आएका बैंकले ३ प्रतिशतमा ऋण दिनुपर्ने भएपछि आनाकानी गरेको स्रोतले जानकारी दिएको छ ।

सहुलियत ऋणका लागि आवेदन खुला भएपछि २३ हजारभन्दा बढीकोे संख्यामा आवेदन परेको थियो । वैदेशिक रोजगार प्रवद्र्धन बोर्डका अनुसार १८ हजार ७ सय ६७ जनाको मात्र आवेदन सदर भएको छ । सहुलियत ऋण उपलब्ध गराउन समन्वय गरिरहेको सामाजिक संस्था रिटर्नी नेपालका अनुसार आवेदन दिएर स्वीकृत भएका १८ हजारमध्ये हालसम्म २३ जनाले मात्र ऋण पाएका छन् । राजधानी दैनिकमा यो खबर छापिएको छ।