७ बैशाख २०८१, शुक्रबार
Follow Us

‘भुलूँ भुलूँ’ मै सम्झिए विक्रमले आफ्नो सांगीतिक विगत

नेपालब्रिटेन डट कम्
११ श्रावण २०७६, शनिबार १०:१६

काठमाण्डौ । नेपालयले आयोजना गर्दै आएको सांगीतिक कार्यक्रम ‘पलेँटी शृङ्खला’मा संगीतकार विक्रम गुरुङका सांगीतिक सृजनाहरू प्रस्तुत भएका छन् । शुक्रवार साँझ कालिकास्थानस्थित नेपालयको ‘आर’शालामा प्रस्तुत भएको कार्यक्रममा गुरूङले संगीत भरेका १४ वटा गीतहरू प्रस्तुत भएका थिए । हङकङमा शिक्षण पेशा गरेर सेवा निवृत्त भएका गुरुङ पलेँटीका निम्ति दुई हप्ता पहिले काठमाण्डौ आएका हुन् ।

संगीतकार विक्रम गुरुङले सिमित गीतहरूमा धुन भरेका छन् । तर उनले भरेका धुनहरू गुणका हिसाबले अब्बल सुनिन्छन् । गुरूङले संगीत भरेको गीत ‘कतै टाढा तिमीबाट पुगेँ भने, कल्पेर नबस्नु’ गायक अरूण थापाको जीवनकै पहिलो रेकर्डेड गीत थियो ।

कार्यक्रमको सुरुवात त्यही गीतबाट भयो । गाउन थाल्नु पहिल्यै गुरुङले आफ्ना मित्र अरूणलाई सम्झिए- “अरूणसँग पोखरामा भेट हुँदा अरूणका आफ्ना गीत थिएनन् । उनी लोकप्रिय हिन्दी र नेपाली गीत गाउँथे । मेरा पनि आफ्ना धुन थिएनन्, सुरुमा म पनि बिना बाजा राजा महेन्द्रको ‘फेरि उसैका लागि’ मा सँग्रहित गीत आफ्नै शोखका निम्ति नयाँ धुनमा गुनगुनाउन प्रयास गर्थेँ तर अरूणसँगको भेटपछि भने हामी दुबैलाई आफैँले नयाँ गीत बनाउनु पर्छ भन्ने लाग्यो । हामी गीतार र कलम लिएर बस्न थाल्यौं र केही गीत जन्मिए ।” गीतमा प्रवेश गर्नु पहिले विक्रमले मित्र अरूण थापाप्रति शब्द श्रद्धाञ्जली अर्पण गर्दै पहिलो रचनामा प्रवेश गरे- ‘कतै टाढा तिमीबाट पुगेँ भने !’

अरूणकै सन्दर्भ जोड्दै विक्रमले दोस्रोगीत सुनाए ‘आँखाको निंद खोसी लाने, हृदयको तरङ्ग छेडी जाने’ । अरूण थापाले गाएका अधिकांश गीतहरू अत्यधिक लोकप्रिय बनेका छन् । विक्रम गुरुङकै शब्द रचनाको ‘आँखाको निंद’ पनि लोकप्रिय भयो । आम श्रोता र संगीतका मर्मज्ञ दुबैथरीले रुचाए यो गीतलाई । कार्यक्रम संचालकले अरुण थापासँगको सन्दर्भ कोट्याउँदै विक्रम सामु जिज्ञासा राख्दा विक्रम आफ्नो सांगीतिक विगतमा डुब्थे र अरूणका बारे बोल्दै गर्दा विक्रमको मुहारमा संवेदनशील भावुकता झल्केको देखिन्थ्यो ।

गम्भीर स्वभावका संगीतकार विक्रमले सुनाएको तेस्रो गीत थियो- ‘जति माया आफ्नो लाग्छ, त्यति माया तिम्रो पनि’ । गीतकार प्रकट पगेनीले लेखेको यो गीत रेकर्ड नभएका शृंखलामा रहेको गीत थियो । तर यो गीतसँग पनि अरूण थापाकै कथा जोडिएको रहेछ । विक्रमले पछिल्लो चरणमा धुन भरेका केही गीत अरूणको स्वरका निम्ति छानेका रहेछन् । रेकर्डिङको प्रवन्ध पनि भइसकेको रहेछ । हङकङबाट बिदामा आएका बखत अरूणलाई खोजेर स्टुडियोमा ल्याइएछ । अरुणलाई शुरुमा विक्रमले चिन्नै सकेनछन् । अरूणलाई चिन्न नसक्नुको कारण लामो अन्तरालपछिको भेट मात्र थिएन । अरूणको तत्कालिन शारीरीक अवस्था चाहिँ थियो । अरूण निकै कमजोर भइसकेका थिए । विक्रमले भावुक हुँदै त्यो भुल्न चाहेको क्षणलाई सम्झिए- ‘त्यतिबेला अरूणको मनले जीवनको महत्व बुझ्न थालेको थियो कि झैँ लाग्थ्यो । तर उसको शरीर उसलाई साथ दिन नसक्ने अवस्थामा पुगेको रैछ । अरूणले नयाँ गीतहरू गाउन प्रयास गर्‍यो तर उसको शरीरले साथ दिएन । म रेकर्डिङको काम अधुरै छोडेर हङकङ फर्केँ । उता पुगेको केही समयमै अरूणले संसार छोडेको खबर सुन्नु पर्‍यो ।‘ अरूणको निम्ति छुट्याइएको धुन सुनाइरहेका विक्रमको मुखाकृति हेर्दा लाग्थ्यो, गायक अरूण विक्रमकै छेउछाउमा गुमसुम बसेका छन् ।

चौथो प्रस्तुतिमा मात्र संगीतकार विक्रमको दाहिनेतिर बसिरहेकी गायिका मीना निरौलाको स्वर सुनियो- ‘विरह चले जस्तो लाग्छ, पहाड सुके जस्तो लाग्छ’ । संगीतकार विक्रम गुरूङमा फुर्सदका बेला पोखरा वरपरका गाउँ घुम्ने चाहना उहिलेदेखि रहेछ । गुरुङ गाउँका अधिकांश हट्टाकट्टा युवाहरू लाहुरे बन्ने परिवेशलाई मनन गरेर बुनेको गीतमा गाउँमा रहेका एक्ला यौवनाहरूको मनोभावलाई समेटिएको थियो।

गायिका मीना निरौलाले संगीतकार विक्रमका थप ३ वटा गीत- मेरो भाग्य मैसँग रिसाए जस्तो’, ‘किन मुटुको ढुकढुकी बढ्यो’ र ‘रात राम्रो तारा जूनले’ सुनाएकी थिइन्; जसमा विक्रम गुरुङकै शब्द रहेका थिए । मीनाको स्वरमा विक्रमका सांगीतिक रचनाहरू राम्ररी सुहाएको सुनिन्थ्यो । अहिलेकी लोकप्रिय गायिका मीना निरौला लामो समयदेखि पलेँटीमा सम्बद्ध रहँदै आएकी गायिका हुन् ।

संगीतकार विक्रमको पलेँटीको पहिलो चरणमा उनको सांगीतिक जीवनको आरम्भसँगै अरुण थापासँगको संगत जोडिएको थियो । दोस्रो चरणमा उनको क्याप्पस र विश्वविद्यालयको अध्ययनसँगै उनका साहित्यिक मित्रहरूसँगको संगत र त्यसको परिवेशमा रचना भएका गीत र तेस्रो चरणमा उनको नेपाल र हङकङको अध्यापन काल र त्यही परिवेशमा सृजना भएका गीत प्रस्तुत भएका थिए ।

विद्यालयको अध्यापनकालको चर्चासँगै जोडिएको गीत ‘रात राम्रो तारा जूनले’ स्कुले विद्यार्थी निम्ति सृजना भएको गीत थियो । त्यस गीतलाई विक्रमले आफ्ना विद्यार्थीप्रति समर्पित गरेका थिए । विद्यार्थीको चर्चा हुँदै गर्दा गुरुको सांगीतिक सृजनाहरूको आनन्दमा ध्यानमग्न देखिएका लेखक कुमार नगरकोटी आफ्नो विद्यार्थीकालको अतीतमा चुर्लुम्मै डुबे झैँ देखिन्थे । कार्यक्रम सकिएपछिको तालीबाट ध्यान भङ्ग भएका कुमारको छोटो अभिव्यक्ति थियो- ‘ऐतिहासिक क्षण; बडा मजा आयो !’

हङकङको प्रसंग आउँदा विक्रमको जन्मथलो तामागी गाउँको पनि चर्चा भएको थियो । उनको जन्मथलोको चर्चा गर्दा नेपाली गाउँहरूको बसाइँ सराईबाट तिनमा आएको रिक्तताको पनि चर्चा भएको थियो । यस्तो लाग्थ्यो- पलेँटीमा संगीतको मिठास त छँदैछ, त्योसँगै सामजिक सरोकारका विषयमा पनि विवेचना भइरहेको छ ।

गायक अरूण थापाको सन्दर्भबाट सुरु भएको कार्यक्रम उनकै सन्दर्भमा आएर समापन भएको थियो । अरूणकै निम्ति सृजना भएर रेकर्ड हुन नपाएको अर्को रचना- ‘एक युगपछिको तिम्रो स्मृति’ गाइसकेर भावुक बनेका विक्रमतिर फर्केर कार्यक्रम संचालक संगीतकर्मी आभासले भने- ‘विक्रम दाइ ! मित्र बितेर गए पनि मित्रता सँधै अमर रहन्छ ! कार्यक्रमको समापन तपाईं र गायक अरुण थापा दाइको मित्रताको उत्सवपूर्ण सम्झनाबाट गरौं ।‘ मुसुक्क हाँस्दै विक्रमले हार्मोनियममा औंला चाल्दै कार्यक्रमको समापन गीत सुनाए- ‘भुलूँ भुलूँ लाग्यो मलाई…’ गीतको अन्तिम अन्तरा सकिसकेपछि पनि विक्रमको मुहारमा भने अरूणकै सम्झना घुमे झैँ अनुभूत हुन्थ्यो ।

विक्रमको कार्यक्रमको अनन्द लिन पोखरादेखि उनका सहपाठी र प्रसंशकहरू पनि आर’शालामा उपस्थित भएका थिए । कार्यक्रमको समाप्तिसँगै आफ्ना मित्र विक्रमलाई अंगालो हाल्दै साहित्यकार शरूभक्त भन्दै थिए- ‘तिम्रो संगीत त तिम्रै निकटमा रहेर उहिलेदेखि नै सुनेको हो तर मञ्चमा पनि यति सुन्दर ढंगले तिमीलाई प्रस्तुत गर्न सकिने रहेछ भन्ने कुरा आजको पलेँटीबाट चाल पाएँ; बधाई छ विक्रम ।‘ मित्रता पूर्ण हाँसोसाथ विक्रमले भने- ‘धन्यवाद भक्त ! तिमी र पलेँटीका सबै श्रोता, दर्शकको मायालाई मनमा राख्नेछु ।‘

पलेँटीमा वाद्यवादनतर्फ बेस गीटारमा अम्बर गुरुङ ‘पोखरेली’ कीबोर्डमा दिनेश रेग्मी, बाँसुरीमा बलराम समाल, तबलामा सन्देश महर्जन, गिटारमा सुरज प्रधान र प्रकसनमा पारस सुवेदीले साथ दिएका थिए।

पलेँटीको आउँदो महिनाको शृंखलामा पुरानो सांगीतिक ब्याण्ड ‘लेकाली समूह’लाई प्रस्तुत गरिने कुरा आयोजक संस्था नेपालयले जानकरी गराएको छ । ‘लेकाली समूह’ ५२ वर्ष पहिले स्थापना भएको सांगीतिक समूह हो जसमा हिरण्य भोजपुरे, गणेश रसिक, उर्मिला, निर्मला श्रेष्ठ, ईन्द्रनारायण मानन्धर लगायत कलाकारहरू सम्मिलित रहेका थिए ।

शुरुमा अँग्रेजी महिनाको अन्तिम शुक्रवार एक दिन मात्र हुने गरेको पलेँटी हाल अन्तिम सप्तान्त- शुक्रवार, शनिवार र आइतबार गरी तीन दिन संचालन हुँदै आएको छ । त्यसैले यसपालीको पलेँटी पनि शनिबार आइतबारसमेत निरन्तर रहनेछ ।