१३ बैशाख २०८१, बिहीबार
Follow Us

तरकारीको मूल्यमा अस्वाभाविक वृद्धि, दुई सय प्रतिशतसम्म मूल्यवृद्धि

नेपालब्रिटेन डट कम्
१२ श्रावण २०७६, आईतवार ०२:४२

काठमाडौं । केही दिनपहिलेको वर्षाले क्षति पु¥याएको बहानामा व्यापारीले तरकारीको मूल्य आफूखुसी बढाएका छन् । मूल्य अस्वाभाविक रूपमा वृद्धि भएपछि उपभोक्तालाई भान्सा चलाउनै कठिन हुँदै गएको छ । दुई साताको बीचमा तरकारीको मूल्य दोब्बरले वृद्धि हुँदा पनि नियमनकारी निकायले बजारमा हस्तक्षेप गरेको छैन ।
गत वर्ष प्रतिकेजी ३० देखि ४० रुपैयाँ पर्ने हरियो तरकारीको अहिले दोब्बर मूल्यवृद्धि भएर प्रतिकेजी १ सय ५० रुपैयाँसम्म पुगेको छ । गोलभेंडाको बजार मूल्य प्रतिकेजी १ सय ३० रुपैयाँसम्म पुगेको छ । हरियो तरकारीको बजार मूल्य प्रतिकेजी १ सय २० देखि १ सय ५० रुपैयाँसम्म पुगेपछि सर्वसाधारणले हरियो तरकारी र सागपात खानै छाडेका छन् । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिका अनुसार पछिल्लो समय सबैभन्दा धेरै मौसमी हरियो तरकारीको मूल्य वृद्धि भएको छ । घिउ सिमी, बोडी, लौका, तितेकरेला, परबल, घिरौला, हरियो फर्सी, इस्कुस, गोलभेंडालगायतका मौसमी तरकारीको मूल्य अकासिएको छ ।

गत आर्थिक वर्षको ११ साउनमा कालीमाटीमा गोलभेंडाको प्रतिकेजी न्यूनतम मूल्य ४० रुपैयाँ थियो । चालू आर्थिक वर्षको सोही अवधिमा गोलभेंडाको मूल्य न्यूनतम १ सय रुपैयाँ र अधिकतम मूल्य १ सय १० रुपैयाँ पुुगेको समितिले जनाएको छ । कालीमाटी बजारभन्दा अन्य ठाउँमा सोही गोलभेंडाको मूल्य प्रतिकेजी १ सय ५० रुपैयाँसम्म पर्ने गरेको उपभोक्ता बताउँछन् । यसैगरी, गत वर्ष घिरौलाको न्यूनतम मूल्य ६० रुपैयाँ थियो । चालू आर्थिक वर्षको सोही अवधिमा घिरौलाको प्रतिकिलो मूल्य १ सय २० रुपैयाँ पुगेको छ । यो गत वर्षको तुलनामा दोब्बरले वृद्धि भएको हो । यसैगरी, गत वर्ष हरियो फर्सीको प्रतिकिलो मूल्य ६० रुपैयाँ रहेकोमा चालू आर्थिक वर्षको सोही अवधिमा दोब्बरले वृद्धि भई १ सय २० रुपैयाँ पुगेको छ ।राजधानी दैनिकमा याे खबर छ ।