७ बैशाख २०८१, शुक्रबार
Follow Us

बर्षातको पानी संकलन र व्यवस्थापनका बहुउद्देश्यीय जलाशययुक्त आयोजना अगाडि बढाउछौं : मन्त्री पुन

sarusaru
१२ श्रावण २०७६, आईतवार ०६:०५

काठमाडौं। सरकारले बर्षातको पानीजन्य प्रकोपलाई न्यूनीकरण गर्न र हिउँदमा हुने पानीको संकट टार्नका लागि बहुउद्देश्यीय प्रकृतिका जलाशययुक्त आयोजनाहरुलाई अगाडि बढाउने भएको छ ।

जलस्रोत,ऊर्जा तथा सिंचाई मन्त्री बर्षामान पुनले शनिवारदेखि राजधानीमा आरम्भ भएको ‘जीविकोपार्जन, समुदाय र परिस्थितीय चक्र लचकताको लागि बर्षाको पानीको संकलन’ विषयक दुई दिवसीय सम्मेलनको उद्घाटन गर्दै उक्त कुरा बताएका हुन्। उनले नेपाल बर्षाको पानीको उपलब्धताको हिसाबले धनी रहेको उल्लेख गर्दै भने, ‘तर नेपालमा प्रकृतिले दिएको अमूल्य पानीको ८० प्रतिशत भाग ९० दिनमा परेर बगेर जान्छ। बाँकी ९ महिना हामी पानीको अभावमा गुज्रन बाध्य छौं।’

मन्त्री पुनले बर्षाको पानीबाट हुने प्रकोपलाई कम गर्न र हिउँदको आवश्यकता पूरा गर्नका लागि सरकारले बहुउद्देश्यीय जलाशययुक्त आयोजनाको निर्माणलाई प्राथमिकता दिएको बताउँदै भने, ‘काली गण्डकी, उत्तरगंगा, आँधी खोला जस्ता जलाशययुक्त आयोजनाको विकासले बर्षाको पानी संकलन भई बाढी र डुबानको समस्या कम हुने, जलविद्युत उत्पादन गर्न सकिने,नदीमा हिउँदमा पनि पानीको प्रवाह हुन गई जलयातायात सञ्चालन गर्न सहज हुने र आवश्यक स्थानमा हिँउदमा सिंचाईको सुविधा पुर्याउन सकिने जस्ता बहुपक्षीय लाभ हुनेछन्।’

मन्त्री पुनले राजधानीमा देखिएको भूमिगते पानीको सतह घट्ने समस्यालाई निराकरण गर्न बागमतीको जलाधार क्षेत्रमा धाप र बागमतीमा बाँध बाधेर जलाशय निर्माण गरी बागमतीमा निरन्तर पानीको प्रवाह कायम गर्न लागिएको र दाङ उपत्यकामा देखिएको पानीको समस्यालाई सम्बोधन गर्न नौमुरे बहुउद्देश्यीय जलाशययुक्त जलविद्युत आयोजना विकास गर्ने योजना रहेको बताए।

उनले सरकारले देशभरका नदीहरुको वेसिन अध्ययन गरिरहेको उल्लेख गर्दै भने, ‘हामीले ६ हजार नदी नाला भन्ने मान्दै आएका थियौं तर नेपालमा नदी, खोला र नालाहरुको संख्या २३ हजार रहेछ। यी खोला नालाको जलाधार क्षेत्रमा पोखरी र चेक ड्याम बनाउन सकियो भने नेपालमा पानीको अभाव हुँदैन । पानीका स्रोतहरु पुनर्भरण हुनेछन्।’
डिसी नेपाल