१३ बैशाख २०८१, बिहीबार
Follow Us

‘ओली सरकार कसै न कसैको घेराबन्दीमा परेको छ’

नेपालब्रिटेन डट कम्
१२ श्रावण २०७६, आईतवार ११:०३

काठमाडौं । राजपा नेपालका अध्यक्ष मण्डलका नवनियुक्त संयोजक राजकिशोर यादवले सरकारले भोलिसम्म सर्लाहीमा संविधानको बर्खिलापमा गैरन्यायिक हत्या भएको र उक्त प्रकरणबारे संसदीय छानबिन समिति गठन नगरेसम्म सदन चल्न नदिने चेतावनी दिएका छन् ।
आइतबार रिपोर्टर्स क्लब नेपालले आयोजना गरेको साक्षात्कारमा बोल्दै यादवले सर्लाहीमा भएको हत्या प्रकरण गैरन्यायिक र संविधानको बर्खिलापमा रहेको दाबी गरे । उनले भने,‘हामीले सदनभित्र यो हत्या प्रकरणको बारेमा सत्य, तथ्य छानबिन हुनुपर्छ भनेर आवाज उठाईरहेका छौं । तर, अहिलेसम्म सरकारले संसदीय समिति गठन गरेको छैन् । भोलिसम्म पनि समिति गठन नगरे हामी भोलि बस्ने सदनपनि अवरुद्ध गर्छौं ।’
क्लबका सभापति ऋषि धमलाको सभापतित्वमा आयोजित साक्षात्कारमा बोल्दै संयोजक यादवले तत्काल संसदीय समिति गठन गर्नुपर्ने आफूहरुको अडान कायमै रहेको सुनाए । यादवले पार्टीको महाधिवेशन निर्धारित मितिमै हुने स्पष्ट पारेका छन् । उनले भने,‘हामी पार्टीको महाधिवेशन निर्धारित मिति कात्तिक २८, २९ र ३० गते नै गर्छौं । हाम्रो मुख्य ध्यान नै त्यतातर्फ छ ।’
आफूले महाधिवेशनको मुखमा पार्टी नेतृत्वको जिम्मेवारी पाएकोले महाधिवेशनको वातावरण निर्माण गरेर सफल तुल्याउने मुख्य काम रहेको पनि यादवले सुनाए । उनले भने,‘पार्टीको आन्तरिक संगठन सवलीकरण र मजवुद पार्दै अघि बढ्नुपर्छ । नीति तथा सिद्धान्तलाई लागु गर्नुपर्छ ।’ आफ्नो पार्टी तेस्रो ठूलो शक्तिको रुपमा संसदमा रहेकोले सोहीअनुसार सार्थक र प्रभावकारी भूमिका निर्वाह गर्दै आएको पनि यादवले सुनाए ।
यादवले वर्तमान सरकार मनोमानी र एकलौटी ढंगले अगाडि बढेको आरोप लगाए । उनले भने,‘यो सरकारले लोकतन्त्रलाई संकुचित गर्दै अघि बढेको छ । संसदभित्र विपक्षीको भूमिकालाई अझै मजबुद बनाउनुपर्छ । यसको लागि हामीले कांग्रेससँग कार्यगत एकता गरेका छौं ।’ लोकतन्त्रको सवालमा, जनताको जनजीवीकाको सवालमा, शान्ति र सुशासनको सवालमा, सुशासनको सवालमा कांग्रेससँग एक ठाउँमा रहनेपनि उनले जनाए ।
पूर्वमन्त्री समेत रहेका नेता यादवले राजपा सशक्त वैकल्पिक शक्ति निर्माण गर्ने तयारीमा आफूहरु लागेको पनि सुनाए । राजनीतिक, सैद्धान्तिक र वैचारिक रुपमा मिलन हुने शक्तिहरुसँग मोर्चाबन्दी हुनेपनि यादवले जनाए । उपेन्द्र यादव नेतृत्वको समाजवादी पार्टी, नेपाललगायतका साना दलहरुसँग पनि एकताको लागि कुराकानी भैरहेको यादवको भनाई छ । यद्धपी मिडियामा हल्ला भएजस्तो समाजवादी पार्टीसँग एकताबारे औपचारिक वार्ता तथा सहमति नभएको पनि यादवले जिकिर गरे ।
उनले भने,‘दुवैतर्फ वार्ता कमिटी बनाईएका छन् । तर, औपचारिक वार्ता अहिलेसम्म भएको छैन् । हाम्रो पार्टी अब महाधिवेशन गर्नतिर केन्द्रित छ । त्यही अनुसार कार्यक्रम ल्याउँदैछ । हामी समयमै महाधिवेशन गर्छौ । सफल हुन्छौं ।’
वर्तमान सरकारसँग देश र जनताको हित र पक्षमा काम गर्नसक्ने अवसर रहेको पनि त्यसलाई सदुपयोग गर्न नसकेको यादवको आरोप छ । उनले भने,‘यो सरकारसँग देश र जनताको पक्षमा काम गर्ने ऐतिहाँसिक अवसर थियो । डिपार्चरको काम गर्नुपर्दथ्यो । तर, सरकारले विश्वास जगाउन सकेन् ।’ ओली सरकार कसै न कसैको घेराबन्दीमा परेको उनको दाबी छ । उनले थपे,‘सबै मोर्चामा यो सरकार असफल छ ।’
सरकारले अहिलेसम्म निर्मला पन्तको बलात्कारपछि हत्या प्रकरणमा दोषी पत्ता लगाएर कारवाही गर्न नसकेको यादवको आरोप छ । उनले भने,‘हत्यारा पत्ता लगाउनु त परै जाओस्, सरकारको तर्फबाट गैरजिम्मेवारपूर्ण अभिव्यक्ति आईरहेका छन् । अहिले महिलाहरुको अस्मितामाथि खेलबाड भैरहेको छ । सरकार मुलुकमा शान्ति, अमनचयन कायम गर्न पूर्ण रुपमा असफल भैसकेको छ ।’
सरकार दिनहुँ काण्डै काण्डमा फसेको पनि यादवको आरोप छ । ‘देशको आर्थिक अवस्थामा गम्भिर समस्या छ’,उनले भने,‘अर्थतन्त्र कमजोर भएको छ । संचिति रकमले जम्मा ८ महिनाभन्दा बढि धान्न सक्ने अवस्था छैन् । अब यसलाई साधारण प्रक्रियाबाट धान्न सकिने अवस्था छैन् । सरकारले ¥याडिकल कदम चाल्नुपर्छ । व्यापार घाटा बढिरहेको छ । शोधान्तर बढेको छ । नेप्से पनि कमजोर भएको छ ।’
संविधान अपुरो र अधुरो रहेकोले यसलाई पूर्ण बनाउनको लागि संशोधन गर्नुपर्ने माग आफूहरुले उठाउँदै आएको यादवको भनाई छ । उनले भने,‘संशोधनमार्फत संविधानलाई पूर्णता बनाउनुपर्छ । अहिलेसम्म हामीले सदनभित्र यो आवाज उठाउँदै आएका छौं । अब पनि सरकार जिम्मेवार भएन भने हामी आन्दोलन घोषणा गरेर जान पनि बाध्य हुन्छौं ।’
फरक प्रसँगमा यादवले अहिले बाढी, पहिरोलगायतका कारण राष्ट्रिय विपत्ति रहेको सुनाउँदै मधेशमा डुबानको र पहाडमा पहिरोको ठूलो समस्या रहेको बताए । उनले भने,‘यो नौलो समस्या होईन, मनसुन सुरु हुनेबित्तिकै देशमा त्रासको वातावरण बन्छ । तर, सरकारले दीर्घकालिन उपाय खोजेर समाधानको प्रयास नै गरेन । सरकार यसप्रति उदासिन र गैजिम्मेवार बन्यो ।’
विकासको नाममा चुरे दोहन हुनु गलत भएको उनको गुनासो छ । उनले भने,‘विकासको नाममा अवैज्ञानिक काम भयो । डोजर चलाएर पहाडमा बाटो बनाउने काम भएका छन् । घना वनजंगल मास्ने काम भए । अव्यवस्थित् बस्ती बढेको छ । सरकार झिनामसिना काममा अल्झिएको छ ।’ तराई÷मधेशमा बाढी र डुबानको समस्या भारतको कारणले भयो भनेर भन्नु नै गलत रहेको यादवको जिकिर छ । उनले भने,‘सधैं यसरी नकारात्मक चर्चा गरेर हुँदैन् । नेपालले आफूले गर्नुपर्ने काम आँफैं गर्नुपर्छ । अनिमात्रै भारतसँग वार्ता गर्नुपर्छ ।
सडकमा हल्ला गरेर परराष्ट्र नीति राम्रो हुँदैन् ।’ नेपाली जनताको सुरक्षा गर्ने जिम्मा नेपाल सरकारको भएकोले त्यसतर्फ सरकारले ध्यान दिनुपर्ने उनको भनाई छ । उनले भने,‘सरकारले समाधानको खोजी गर्यो भने हामी साथ दिन तयार छौं ।’
त्यस्तै, यादवले प्रदेश नम्बर २ को सरकारमा आफ्नो पार्टी पनि सहभागी रहेकोले सरकारको काम प्रभावकारी हुनुपर्छ भनेर आफूहरुले समिक्षा गरिरहेको सुनाए । उनले भने,‘सरकार बनेदेखि अहिलेसम्मको सरकारको कामको पूनर्रमुल्यांकन गर्नुपर्छ भनेका छौं । अनिमात्रै हामी निर्णय लिन्छौं ।’
जनपक्षीय काम भएको छ कि छैन भनेर आफुहरुले समिक्षा गर्ने पनि यादवले जनाए । तर, अहिले नै मन्त्रीहरु हटाउने वा नहटाउने भन्नेबारे कुनै निर्णय नभएको यादवको जिकिर छ ।