१२ बैशाख २०८१, बुधबार
Follow Us

भारतीय राष्ट्रपति मुखर्जी आज जनकपुर र पोखरा भ्रमणमा

नेपालब्रिटेन डट कम्
१९ कार्तिक २०७३, शुक्रबार ०४:२४

काठमाडौं । भारतीय राष्ट्रपति प्रणव मुखर्जी आज जनकपुर र पोखरा भ्रमणमा जाने कार्यक्रम छ । विहान १० बजे जनकपुर जानु हुनेछ भने मध्यान्न १२ः३० बजे पोखरा जानेका कार्यक्रम छ । राष्ट्रपति मुखर्जीको नेपाल भ्रमण आज अन्तिम दिन हो ।
भारतीय राष्ट्रपति प्रणव मुखर्जीको आज हुने जनकपुर भ्रमणका लागि जनकपुरवासी निकै उत्साहित देखिएका छन् । मुखर्जीको स्वागत गर्न जनकपुरवासी निकै आतुर देखिएका छन् । उनको स्वागतमा सारा जनकपुरलाई बेहुलीझैँ सिङ्गारिएको छ । मुखर्जीको स्वागतका लागि जनकपुरको मुख्य सडकमा स्वागतद्वार र दुवै देशका राष्ट्रिय झन्डाले सजाइएको छ । आज बिहानैदेखि मानिस मुखर्जीको स्वागतका लागि नेपाल र भारतका झन्डासहित प्रमुख चोकमा उभिएर तयारी अवस्थामा छन् । जनकपुर विमानस्थलदेखि राष्ट्रपति मुखर्जी सवार हुने मुख्य चोक, सडकमा स्वागत तथा सजावट गरिएको हो ।

यसैगरी, राष्ट्रपति प्रणव मुखर्जीलाई स्वागत गर्न विद्यार्थी पनि सडकमा आउने भएका छन् । उहाँलाई स्वागत गर्न जनकपुरका २५ वटा निजी विद्यालयका चार हजारभन्दा बढी विद्यार्थी सडकमा नेपाल भारतको झन्डासहित उत्रिने प्यावसन धनुषाका उपाध्यक्ष विश्वलाल सिंहले जानकारी दिनुभयो । प्याब्सन र एन प्याब्सनले संयुक्तरुपमा समन्वय गरी व्यवस्थापन पक्षसँग सहकार्य गरेर राष्ट्रपति मुखर्जीलाई स्वागत गर्न जनकपुरको विमानस्थलको अगाडि श्यामचोकदेखि शिवचोकसम्म दुवै छेउ विद्यार्थीले उभिएर झन्डा हल्लाई स्वागत गर्ने कार्यक्रम रहेको उहाँले बताउनुभयो ।

स्वागतद्वारमा ‘भारतका महामहिम राष्ट्रपति प्रणव मुखर्जीलाई जनकपुरमा हार्दिक स्वागत छ’ लेखिएको छ । विमानस्थल, श्यामचोक, क्याम्पसचोक, मुरलीचोक, क्षेप्रका, तिरहुतिया गाछी, रामचोक लगायतका स्थानमा स्वागतद्वार बनाइएको छ । जानकीमन्दिरलाई सरसफाइ गरी नयाँ रङ्गरोगन गरिएको छ भने विशेष किसिमले झिलिमिली बत्ती तथा टेन्ट, झालर आदिले सजाएर झकिझकाउ पारिएको छ ।

त्यसैगरी, मुखर्जी भ्रमणको पूर्वसन्ध्यामा बिहीबार सुरक्षा व्यवस्थापनसम्बन्धी पूर्वाभ्यास गरिएको छ । नेपाली सेना, सशस्त्र प्रहरी तथा नेपाल प्रहरीको संयुक्त टोलीले जानकीमन्दिर तथा तिरहुतिया गाछीमा पूर्वाभ्यास गरेका धनुषाका प्रजिअ दिलीप चापागाईंले जनाउनुभयो ।

राष्ट्रपति मुखर्जी आज बिहान १० बजे जनकपुर आउने कार्यक्रम छ । विमानस्थलबाट उहाँले सिधा जानकीमन्दिर पुगी करिब २० मिनेट पूजाअर्चना गर्नुहुने छ । त्यहाँबाट तिरहुतिया गाछी जानुहुनेछ जहाँ जनकपुर उपमहानगरपालिकाका तर्फबाट कार्यकारी अधिकृत पुण्यप्रसाद लुइँटेलले उहाँलाई नागरिक अभिनन्दन गर्नुका साथै नगरको साँचो हस्तान्तरण गर्ने कार्यक्रम छ ।

जनकपुर उपमहानगरपालिका स्रोतबाट प्राप्त जानकारीअनुसार अभिनन्दन समारोहमा गृहमन्त्री विमलेन्द्र निधि तथा पर्यटन तथा नागरिक उड्डयनमन्त्री जीवनबहादुर शाही पनि सहभागी हुनुहुनेछ । राष्ट्रपति मुखर्जी अभिनन्दनका लागि मञ्च निर्माण गरिएको छ भने अभिनन्दन समारोहमा सहभागी हुने देशी तथा विदेशी पाहुना एवम् सर्वसाधारणका लागि भव्य पण्डाल निर्माण गरिएको छ । तिरहुतिया गाछीमा प्रवेश गर्न दुई ढोकाको व्यवस्था गरिएको छ ।

भारतीय राष्ट्रपति मुखर्जीको आगमनका क्रममा शान्तिसुरक्षाको व्यवस्थालाई कडा बनाइएको छ । नेपाली सेना, सशस्त्र प्रहरी, नेपाल प्रहरी तथा अनुसन्धान विभागका कर्मचारी चोकचोकमा खटाइएका छन् । अहिले जनकपुरको प्रमुख चोक तथा गल्लीगल्लीमा व्यापक मात्रामा सुरक्षाकर्मी परिचालन गरिएको देखिन्छ ।

पोखरा पूर्वअभ्यास
भारतीय राष्ट्रपति प्रणम मुखर्जीको ‘कारकेड’ चलाउने पोखराको सडकमा हिजो पूर्वअभ्यास गरिएको छ । सुरक्षा निकायले विहान मुखर्जीको सवारी चलाउँदा प्रयोग हुने विमानस्थलबाट पोखरा ग्राण्ड होटल र त्यहाँबाट रामबजारस्थित भारतीय पेन्सन क्याम्पसम्म सवारी सञ्चालनको पूर्वअभ्यास गरेका हुन् ।
पश्चिमाञ्चल क्षेत्रीय प्रशासक खगराज बरालका अनुसार सुरक्षासहित मुखर्जी भ्रमणको सबै तयारी पूरा भएको छ । मुखर्जीको सुरक्षार्थ करिब एक हजार पाँच सय सुरक्षाकर्मी खटिने छन् । पहिलो घेरामा भारतबाटै आएको ‘कमाण्डो’ रहँदा दोस्रो, तेस्रो र चौथो घेरामा क्रमशः नेपाली सेना, सशस्त्र प्रहरी र नेपाल प्रहरी रहने छ । मुखर्जीको स्वागतका लागि विमानस्थलबाट उनी आराम गर्न जाने विरौटास्थित पोखरा ग्रान्ड होटेल र त्यहाँबाट भारतीय पेन्सन क्याम्पसम्मको बाटोको दायाँ–वायाँ दुबै देशका झन्डासहित घडा राखी सांस्कृतिक झाँकी प्रस्तुत गर्ने तयारी छ ।