६ बैशाख २०८१, बिहीबार
Follow Us

सडक बालबालिका टोली फुटबल खेल्न मलेसिया

नेपालब्रिटेन डट कम्
१३ श्रावण २०७६, सोमबार १०:०७

मलेसियामा आयोजना हुने ‘युथ फुटबल एण्ड लिडरसिप क्याम्प’मा सहभागी हुन २० सदस्यिय नेपाली टोली क्वालालम्पुर प्रस्थान गरेको छ । एसियाली फुटबल महासंघको सहयोग तथा सेल्टर आश्रय नेपालको आयोजनामा अघिल्लो महिना भएको दोस्रो राष्ट्रिय बालबालिका लिगमा उत्कृष्ट भएका दुई टिमका खेलाडीलाई मलेसिया लगिएको हो ।मलेसिया जाने टिममा छात्र र छात्रा तर्फ ९–९ खेलाडी भने टोलीको नेतृत्व तथा ब्यवस्थापन शेल्टर आश्रय नेपालकी अध्यक्ष खुश्वु ओली र प्रियंका बस्नेतले गरेका छन् । भोलिदेखि पाँच दिनसम्म चल्ने क्याम्पमा फुटबलको आधारभुत कुराहरु सिकाइनेछ । त्यससँगै समस्या समाधान, रणनीतिक विचार, मानसिक विकास, ब्यक्तित्व विकास लगायतका कार्यशालाहरुमा पनि सहभागि गराइनेछ । टिमले मलेसियाको यू–१७ टिमसँग मैत्रिपूर्ण फुटबल पनि खेल्नेछ ।
शेल्टर आश्रय अनाथ तथा आश्रय विहिन बालबालिकाको पढाई, बसोबासको क्षेत्रमा काम गर्दै आएको छ । बालबालिकालाई सहभागि गराएर शेल्टरले दुई पटक राष्ट्रिय फुटबल लिग सफलतापूर्वक आयोजना गरिसकेको छ । अघिल्लो संस्करणका उत्कृष्ट खेलाडीहरुले रसियाको मस्कोमा आयोजना भएको स्ट्रिट चाइल्ड वल्र्डकपमा सहभागिता जनाउने मौका पाएका थिए । यो संस्करणमा उत्कृष्ट हुने टिमले मलेसियामा जाने अवसर पाएको हो ।
मलेसिया जाने पुरुष टोलीमा सन्तोष राई, करण सुनुवार, मुकेश सुनुवार, निरज योगी, सञ्जु बादी, राजु बडु, सबिन गुरुङ, सुबिन गुरुङ, सुनिल बादी तथा जीवित कुस्मा थारु छन्।
त्यस्तै महिला टोलीमा अलिन बादी, सीता चेपाङ, कमला नेपाली, अलिशा कुमाल, सपना पौडेल, सबिना पौडेल, उमा राना मगर, सिर्जना रिजाल र उमा पर्जा छन्।
टोलीको प्रतिनिधित्त्व आश्रय नेपालकी अध्यक्ष खुश्बु ओली र प्रियङ्का बस्नेतले गर्नेछन्।