८ बैशाख २०८१, शनिबार
Follow Us

डाबरका औषधिमा उच्च आर्सेनिक

नेपालब्रिटेन डट कम्
१५ श्रावण २०७६, बुधबार ०२:४८

काठमाडौँ – झापाका ३६ वर्षे वेदप्रसाद शर्मा पेसाले कविराज हुन् । आयुर्वेदिक औषधिबारे आफैं जानकार छन् । करिब ४ वर्षअघि ढाड दुख्न थालेपछि उनले अर्का आयुर्वेदिक डा. सिद्धार्थ ठाकुरको सल्लाह लिए । अनि उनैको सल्लाहअनुसार शर्माले डाबर इन्डियाबाट उत्पादित आयुर्वेदिक औषधिहरू महायोगराज गुग्गुल, प्रवाल भष्म, महावाधिध्वंसन रस, वातगजांकुशरस, प्रवाल भष्म, बृहतवातचिन्तामणि रसलगायत औषधि सेवन गर्न थाले ।
कतिपय चिकित्सकले उनलाई शल्यक्रिया गर्नुपर्ने सल्लाह पनि दिएका थिए । तर डा. ठाकुरकै सल्लाहमा शर्माले डाबर इन्डिया लिमिटेडबाट उत्पादित ती औषधि सेवन गरे । औषधि सेवन गरेको केही दिनमा उनलाई हल्का सञ्चो भयो । निको भए जस्तो लागेपछि काममा फर्किए । दुई सातापछि ढाड दुख्ने समस्या फेरि बल्झियो ।

करिब ६/७ महिनासम्म निको हुँदा औषधि छाड्ने र बल्झिँदा खाने गर्न थालें,’ उनले भने, ‘त्यति गर्दा पनि समस्या समाधान नभएपछि काठमाडौंस्थित अन्नपूर्ण न्युरो अस्पतालमा शल्यक्रिया गराएँ । केही दिनपछि छाला कालो हुने, उप्किनेलगायत समस्या देखिए । न्युरो अस्पतालमा फलोअपमा जाँदा ढाडको समस्या निको भइसकेको थियो । तर छालाको समस्याले पिरोल्न थाल्यो ।’

विभिन्न ठाउँमा परीक्षण गराउँदासमेत कारण पत्ता लागेन । बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा देखाउँदा आर्सेनिकका कारण यस्तो समस्या भएको आशंका गरियो । योसँगै अन्य विभिन्न स्वास्थ्य समस्या पनि देखिन थाले । स्वास्थ्य स्थिति थप जटिल बन्दै गएपछि उनी भारतको भेलौरस्थित क्रिस्चियन मेडिकल कलेज (सीएमसी) गए । त्यहाँ जँचाउँदा शरीरमा अधिकतम ०.५ मिलिग्राम आर्सेनिक मात्रा हुनुपर्नेमा १ सय ९९ मिलिग्राम देखियो । पिसाबमा यसको मात्रा १ हजार १ सय ४२ मिलिग्राम थियो ।कान्तिपुर दैनिकमा खबर छ ।