काठमाडौँ — ‘म काठमाडौं उत्रें है,’ २२ असारमा कतारको दोहाबाट हिमालयन एयरलाइन्स हुँदै काठमाडौंको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल उत्रेपछि लीलाबहादुर बस्नेतले कसैको मोबाइलबाट झापाको काँकडभिट्टामा श्रीमती जानुकालाई यति मात्रै सुनाउन भ्याएका थिए । बेलुकासम्म त आफ्नै पुरानो सिमबाट कसो फोन नगर्लान् भन्ने उनलाई लाग्यो । श्रीमान्ले राति अबेरसम्मै फोन गरेनन् ।

‘गलेर आए, सुते होलान् । भोलि त फोन गरिहाल्छन्,’ भनेर उनले मन बुझाइन् । तर, भोलिपल्ट श्रीमान्बारे उनले अनपेक्षित खबर पाएपछि भने उनको भोक र निद्रा हराएको छ ।

सरकारले फ्री भीसा, फ्री टिकटको नीति लागू गरेको दुई वर्षपछि विदेश उडेका बस्नेत स्थानीय एजेन्टलाई १ लाख २० हजार रुपैयाँ बुझाएर क्लिनरको काम गर्न कतार उडेका थिए । २९ महिना काम गरेर नेपाल फर्केका उनी ४२ दिने छुट्टी सकेर गत फागुनमा सोही कम्पनीमा फर्केका थिए । कतार फर्केकै महिना दमका रोगी ८२ वर्षीय पिता शेरबहादुरको मृत्यु भयो । तुरुन्तै घर फर्कन खोज्दा उनलाई कम्पनीले बिदा दिएन । काम पनि भनेजस्तो नभएपछि उनी कम्पनी नै छाडेर घर फिर्ने निधोमा पुगे । नेपाल फर्कने अघिल्लो दिन श्रीमतीलाई फोन गरेर भने, ‘धेरै पैसा छैन । छोरीलाई गुडिया किन्देको छु । अलिकति चकलेट पनि छ ।’

काठमाडौं उत्रेपछि पशुपति गएर पण्डितसँग सल्लाह गरेर पिताको काजकिरियाको विधि टुंग्याएर मात्रै घर फर्कने सल्लाह भयो । तर, भोलिपल्ट काठमाडौं उत्रेपछि भने उनको खबर आएन । जानुकाको मोबाइलमा नयाँ नम्बरबाट मिसकल आएको थियो । श्रीमान्ले पो गरेका हुन् कि भनेर उनले फोन गरिन् । प्रहरीले रिसिभ गरेको फोनबाट उनले श्रीमान् सुन तस्करीको आरोपमा पक्राउ परेको घटना थाहा पाइन् ।

कम्पनी छाडेर नेपाल फर्कने अघिल्लो दिन कम्पनीकै एकजना कामदार साथी रामबहादुर तामाङले भनेका थिए– ‘घर फर्किंदा दोहा एयरपोर्टबाट ५० ग्रामको सुनको बाला लगिदिनु, ५ हजार रुपैयाँ ज्याला पाइन्छ ।’ वैदेशिक रोजगारीबाट कामदारहरूले स्वदेश फर्कंदा ५० ग्रामसम्मको सुन ल्याउन पाउने कानुनी व्यवस्था नै छ । यही व्यवस्थाको फाइदा उठाउँदै संगठित सुन तस्करले घर फर्कने कामदारहरूलाई पैसाको लोभ देखाएर ५० ग्राम सुनको बाला नेपाल ओसार्न लगाउँछन् ।कान्तिपुरमा खबर छ ।