८ बैशाख २०८१, शनिबार
Follow Us

एनआरएन युरोपेली बैठकको सबै तयारी पूरा

नेपालब्रिटेन डट कम्
१५ श्रावण २०७६, बुधबार ०७:३३

लण्डन । गैरआवासीय नेपाली संघ (एनआरएन) १२ औं युरोपेली क्षेत्रीय बैठकको सबै तयारी पूरा भएको छ ।

बैठक अगष्ट ३ र ४ तारिखका दिन इटालीको रोममा तय गरिएको छ । एनआरएन प्रवक्ता भूषण घिमिरेले १२ औँ यूरोपेली क्षेत्रीय बैठकको सबै तयारी सकिएको जानकारी दिए ।

‘एनआरएनए यूरोपको उद्देश्य देश विकासको लागि लगानी र पर्यटन प्रवद्र्धन गर्ने लक्ष्य’ भन्ने मुल नाराका साथ आयोजित बैठकको मुख्य एजेण्डा लगानी र पर्यटन प्रवर्द्धन रहेको उनले जारी गरेको विज्ञप्तिमा उल्लेख छ।

यसैगरी नेपालमा लगानीका लागि उपयुक्त वातावरण बनेको सन्देश प्रवाह गर्नुका साथै सरकारले घोषणा गरेको भिजिट नेपाल २०२० को प्रचारप्रसार गर्नेपनि उद्देश्य रहेको छ ।

यसैगरी बैठकमा गैरआवासीय नेपाली नागरिकताको विषयमा रहेका द्विविधा सम्बन्धी विशेष सेसन, नेपालमा लगानीका लागि नेपालको मौजुदा नियम र कानूनबारे जानकारी, युरोप क्षेत्रका लागि छुट्टै वैदेशिक रोजगार राहत कोषको अवधारणा लगायत एजेन्डामा समेत छलफल केन्द्रित रहनेछ ।
यसका साथै बैठकमा यूरोपेली क्षेत्रमा रहेका गैरआवासीय नेपाली समुदायले भोग्नुपरेको समस्या र त्यसको समाधान, यहाँ रहेका नेपालीका ज्ञान सीप र क्षमता नेपालमा भित्र्याउने सरकारको रणनीति र त्यसमा एनआरएनएको भूमिकाबारे पनि घनीभूत रुपमा छलफल गरिनेछ ।

बैठकमा नेपाल सरकारका तर्फबाट कानून, न्याय तथा संसदीय मामिलामन्त्री भानुभक्त ढकाल, नेपाल पर्यटन बोर्डका कार्यकारी अधिकृत दीपकराज जोशी, नेपाल भ्रमण वर्ष २०२० का कार्यक्रम संयोजक सुरज वैद्य, , नेपाली कांग्रेसका नेता शेखर कोइराला, यूरोपस्थित नेपाली राजदूतावसका सबै राजदूत एवं अन्य विशिष्ट व्यक्तित्वहरु सहभागी हुनेछन्।

यसका साथै यूरोपका २८ राष्ट्रिय समन्वय समितीका पदाधिकारी, एनआरएन अग्रज, सल्लाहकार, संस्थापक तथा पूर्व एवं निवर्तमान अध्यक्ष, वर्तमान अध्यक्ष, मध्यपूर्व, अष्ट्रेलिया, अमेरिका लगायत विभिन्न मुलुकका आइसीसी एवं एनसीसी प्रतिनिधी, पत्रकार, कलाकार लगायत गरी करीब ५ सय जना प्रतिनिधी सहभागी हुनेछन् ।

बैठकमार्फत गरिने निर्णयहरुले समग्र संस्थालाई संस्थागत गर्न मात्रै नभई मुलुककै समृद्धिमा समेत योगदान दिन सफल हुने अपेक्षा लिइएको छ।
नेपालमा लगानी, पर्यटन, ज्ञान सीप र दक्षता भित्र्याउने सन्दर्भमा पनि बैठकमा घनीभूत रुपमा छलफल हुने बताइएको छ ।

बैठकअघि अगष्ट २ मा इटालीका एक सय भन्दा बढी व्यापार एवं पर्यटन व्यवसायी, स्थानीय नगरपालिकाका बिशिस्ट ब्यक्तित्व नेपाल सरकारका मन्त्री , नेपाल पर्यटन वर्षका २०२० का कार्यक्रम संयोजक , नेपाल पर्यटन बोर्ड का प्रतिनिधि गैरआवासीय नेपाली संघका पदाधिकारी लगायतको उपस्थितिमा नेपाल भ्रमण वर्ष–२०२० युरोपको औपचारिक शुभारम्भ गरिने कार्यक्रम रहेको छ ।
इटालीको रोममै संघको १० औं महिला भेलासमेत आयोजना गरिने छ । युरोपका झन्डै २० वटा मुलुकहरुमा रहेका महिलाहरुले भेलामा सहभागिता जनाउने एनआरएन युरोप संयोजक शिव कुमार वरुवालले जानकारी दिए ।