११ बैशाख २०८१, मंगलवार
Follow Us

२ नम्बर प्रदेशका बाढि, डुवान प्रभावितलाई अझै राहत

नेपालब्रिटेन डट कम्
१५ श्रावण २०७६, बुधबार ०७:३८

काठमाडौं । प्रदेश नम्बर २ का मुख्यमन्त्री लालबाबु राउतले २ नम्बर प्रदेशका बाढी र डुवानबाट प्रभावितहरुलाई अझै राहत तथा पूनस्र्थापना नभएको गुनासो पोखेका छन् । उनले भने,‘२ नम्बर प्रदेश बाढि र डुवानबाट प्रभावित बनेको छ । ८ वटै जिल्ला प्रभावित बनेका छन् । अझैपनि राहत पुगेको छैन् ।’
मंगलबार रिपोर्टर्स क्लब नेपालले आयोजना गरेको साक्षात्कारमा बोल्दै मुख्यमन्त्री राउतले प्रदेश २ सरकारले आफ्नो क्षमता र स्रोतले भ्याएसम्म तुरुन्तै राहत पुर्याएको सुनाए । अहिले पनि प्रदेश सरकार प्रभावित जिल्लामा पुगेर राहत पुर्याउने काममा लागिरहेको राउतले सुनाए । उनले भने,‘अहिलेपनि राहत वितरण गर्न धेरै बाँकी छ । कतिलाई राहत पुग्यो, कतिलाई पुग्यो भनेर हेर्नको लागि हामीसँग संयन्त्र छैन् । तर राहत धेरैलाई पुगेको छैन् ।’
क्लबका सभापति ऋषि धमलाको सभापतित्वमा आयोजित साक्षात्कारमा बोल्दै उनले नेपालले आफ्नो तर्फबाट बनाउनुपर्ने तटबन्ध लगायतका कामहरु नगरेको कारण बाढि तथा डुवानको समस्या आएको स्पष्ट पारे । उनले भने,‘लालबकैया, बाग्मती, रातु, कमला र त्रियुगा नदि आसपासमा तटबन्ध बनाउनुपर्ने काम हामीले बनाएनौं । २०४६ साल यता अहिलेसम्म भएका तटबन्धहरुको कुनै ममर्तसम्भार भएको छैन् । एकैचोटी पानीको बेग आउँदा थेग्नै सक्दैन् । र, अहिले यो समस्या आएको हो ।’
प्रधानमन्त्री केपी शर्मा ओलीले पनि सहयोगको आश्वासन दिएको उनले सुनाए । उनले भने,‘मैले केन्द्र सरकारका भौतिक पूर्वाधार तथा यातायातमन्त्री रघुवीर महासेठसँग पनि भेट गरें, उहाँले पनि अन्य प्रदेशमा रहेका साधन र स्रोत प्रयोग गरेर २ नम्बर प्रदेशमा खटाउनको लागि मन्त्रालयको टिम नै राखेर निर्देशन दिनुभएको छ । हिजोमात्रै उर्जामन्त्री वर्षमान पुनसँग भेटवार्ता गरेको छु । उहाँले पनि नदी, तटबन्धलगायतका विषयमा दिर्घकालिन समाधान खोज्नेबारे मन्त्रालयका टिम नै राखेर विशेष निर्देशन दिनुभएको छ ।’
राहत तथा पूर्नस्थापनाको लागि प्रदेश सरकार गम्भिर रहेको सुनाउँदै आजमात्रै आफूले राष्ट्रपति विद्यादेवी भण्डारीसँग भेटवार्ता गरेको राउतले सुनाए । उनले भने,‘सिँगो प्रदेश लागिपर्दापनि यो विपति सामना गर्ने हामीसँग क्षमता छैन् । अब संघ र प्रदेश सरकार मिलेर यो विपत्तिको सामना गर्नुपर्छ । टुटेका सडक सञ्जालहरु जोड्ने काम गर्नुपर्छ ।’ मुख्यमन्त्री राउतले बाढि र डुवानबाट तराईमा धेरै ठूलो क्षति पुगेको सुनाए । उनले भने,‘क्षति सानो छैन् । हजारौं बिघा सिँचाईयोग्य जमिन बालुवाले पुरिएको छ । अहिले ती खेतीयोग्य छैनन् ।’
चुरे दोहनका कारण अहिलेको समस्या आईपरेको उनको टिप्पणी छ । उनले भने,‘लोडर, डोजर, टिपर लगाएर चुरे उत्खनन भएको छ । त्यसका कारण पहिरो गएको छ । अब पनि दिर्घकालिन योजना बनाएर समस्याको हल गर्न सकेनौं भने स्थिति भयावह हुन्छ । बरु, चुरे दोहन रोक्ने प्रोजेक्लाई के नाम दिने हो त्यो बरु सोच्नुपर्छ ।’ तर, यसको लागि संघीय सरकारले नै पहल गर्नुपर्ने उनको भनाई छ ।
भर्खरै एक करोड २७ लाख बराबरको खाद्यान्न आफ्नै उपस्थितिमा रौतहटमा वितरण गरिएकोपनि उनले जानकारी गराए । अन्य जिल्लामा पनि खाद्यान्न वितरणको काम भैरहेको राउतले जनाए । उनले भने,‘अहिलेसम्म बाहिरको सहयोग आएको छैन् । प्रदेश र स्थानीय सरकारको आर्थिक अवस्थाले राहत तथा पूर्नस्थापनाको लागि भ्याउँदैन् । जति हामीले आशा गरेका थियौं, त्यति सहयोग भएको छैन् ।’
आफूले प्रधानमन्त्री ओलीसँगको भेटवार्तापनि तटबन्धहरुको म्यापिङको लागि आग्रह गरेको सुनाए । त्यस्तै उनले नेपाली सेना, सशस्त्र प्रहरी र नेपाल प्रहरीले उद्धार तथा राहतमा ठूलो भूमिका निर्वाह गरेको भन्दै खुलेर प्रशंसा गरे । मुख्यमन्त्री राउतले अहिले २ नम्बर प्रदेशका अधिकांश पुल र रोडहरु समाप्त भएको सुनाए । उनले भने,‘अरवौंको क्षति भएको छ । अब पनि बाढि, पहिरो र डुबानका समस्यालाई दिर्घकालिन रुपमा हल गर्न सकेनौं भने हामीले लिएको समृद्धिको सपना पूरा हुँदैन् । प्रधानमन्त्रीले लिएको सुखी नेपाली समृद्ध नेपालको नारा नारामात्रै सिमित हुन्छ ।’
उनले चुरे दोहनलाई रोक्नको लागि प्रदेश सरकारले कडाईका साथ कार्यक्रम ल्याउने पनि जनाए । उनले भने,‘हामी यो विषयमा गम्भिर भएका छौं । यसलाई सुधार गर्न सकिएन भने तराई, मधेशलगायतका ठाउँहरु मरुभुमिकरण हुने खतरा छ ।’ गर्मी, जाडो र वर्षाद जुनसुकै मौसममा पनि तराई, मधेश ठूलो मारमा पर्ने गरेको सुनाउँदै अब दिर्घकालिन समाधानको लागि सबैले पहल गर्नुपर्नेमा राउतले जोड दिए ।
उनले संघीयताको मूल मर्म र भावनाअनुसार सबै निकाय चल्नुपर्नेमा जोड दिए । उनले भने,‘संघले नीति तथा नियम निर्माण गर्ने र निर्देशन दिने हो । सबै निकाय अब नयाँ प्रणालीअनुसार अघि बढ्नुपर्छ । हाम्रो प्रदेशकै कुरा गर्नुहुन्छ भने पनि अहिलेपनि २, ३ मन्त्रालयमा सचिव अनुपस्थित छन्् ।’
फरक प्रसँगमा उनले तत्काल प्रदेश नम्बर २ को मन्त्रिमण्डल पूनर्गठन नहुने स्पष्ट पारेका छन् । उनले भने,‘यो सरकार पाँच वर्षसम्मको लागि हो, यसको अहिले कुनै विकल्प छैन् । तत्काल मन्त्रिमण्डल पूनर्गठन हुँदैन् ।’
बरु अब सरकारले काम गर्ने शैली बदल्ने पनि उनले विश्वास दिलाए । उनले भने,‘पहिलो वर्ष हामीले अनुभव हाँसिल गरेका छौं । अब अर्को वर्ष हामी राम्रो काम गर्छौं । हामी बडो ईमानदारिताका साथ काम गर्छौं ।’