१३ बैशाख २०८१, बिहीबार
Follow Us

बाढीपहिरोका कारण विभिन्न सडक अवरुद्ध

sarusaru
१६ श्रावण २०७६, बिहीबार ०२:२३

काठमाडौं। बाढी र पहिरोका कारण देशभरका विभिन्न सडक अवरुद्ध छन् । सडक अवरुद्ध हुँदा सरकारले जनशक्ति र उपकरणको प्रयोग गरेर खुलाइरहे पनि पनि ठूला पहिरो गएको, सडक नै भासिएको लगायतका समस्या आउँदा तुरुन्त सडक सञ्चालनमा आउन नसकेको हो ।

निर्माणाधीन कान्ति लोकपथअन्तर्गत धेरै ठाउँमा स्थानमा पहिरो जाँदा अवरुद्ध भएको छ । यो सडकमा पटकपटक हटाउँदा पनि माथिबाट पहिरो आउन नरोकिएको सडक विभागका प्रवक्ता शिवहरि सापकोटाले बताए ।

उनले भने, “नयाँ सडकमा यस्ता समस्या बढी पाइन्छ ।” ललितपुरको लाँकुरी भञ्ज्याङ–मानेदोभान सडक माथिबाट गएको पहिरोका कारण गत बिहीबार अवरुद्ध भएको थियो । सडक अझै सञ्चालन हुन नसकेको विभागले जनाएको छ । सातदोबाटो–धापाखेल दुई साता पहिले  भासिएको थियो । दुई लेनको सडक अहिले एक लेन सञ्चालनमा छ भने एउटा लेनअवरुद्ध छ ।  छम्पी–टीका भैरव सडक माथिबाट आएको पहिराकै कारण झण्डै दुई सातादेखि अवरुद्ध रहेको थियो भने हाल सो सडक केही ठाउँमा सञ्चालन र केही ठाउँमा अवरुद्ध रहेको छ ।

कर्णाली राजमार्गको काने खोलाले करीब ३० मिटर सडक बगाउँदा त्यहाँको सडक गत १२ गतेदेखि अवरुद्ध छ । त्यस्तै बेंसीशहर मनाङ सडक पनि पहिराकै कारण गत बिहीबारदेखि अवरुद्ध रहेको छ ।

लहानको ५४ किमी लम्बाइको मिरचैया कटारी घुर्मी सडक गत महीना २६ गते पहिरोले बगाएको थियो । हाल सो सडकअवरुद्ध रहेको विभागका प्रवक्ता शिवहरि सापकोटाले बताए। सो सडकको नयाँ ट्याक खोल्ने तयारी भइरहेको छ । यातायात सञ्चालन हुन अझै पाँच दिन लाग्ने विभागले जनाएको छ । उनले भने, “अहिले अवरुद्ध सडकमध्ये सबैभन्दा बढी समस्या यही सडकमा रहेको छ ।”

डिसी नेपाल