११ बैशाख २०८१, मंगलवार
Follow Us

सामाजिक सञ्जालका कारण अपराध बढेको प्रहरीको दावी

sarusaru
१६ श्रावण २०७६, बिहीबार ०२:२८

काठमाडौं। नेपाल प्रहरीले सामाजिक सञ्जालको बढ्दो प्रयोगसँगै मुलुकमा अपराधको सङ्ख्या वृद्धि हुँदै गएको बताएको छ ।
महानगरीय प्रहरी वृत्त महाराजगञ्जले  बुधबार काठमाडौंमा आयोजना गरेको ‘लैङ्गिक हिंसा सम्बन्धी छलफल तथा अन्तक्र्रिया’मा सामाजिक सञ्जालको बढ्दो प्रयोगसँगै विभिन्न आपराधिक घटनामा वृद्धि भएको बताइएको हो ।

कार्यक्रममा महानगरीय प्रहरी परिसर काठमाडौँका प्रमुख, प्रहरी वरिष्ठ उपरीक्षक उत्तमराज सुवेदीले सामाजिक विकृति र सामाजिक सञ्जालको प्रयोगसँगै अपराध बढेको बताए ।  “गतवर्ष प्रहरीले ९७।५ प्रतिशत अपराधको सफल अनुसन्धान गरेको छ,”–उनले भने । सामाजिक विकृतिका कारण समाजमा देखिएका लैङ्गिक हिंसा, घरेलु हिंसा, हत्या आत्माहत्या घटनामा वृद्धि भएकाले यसलाई न्यूनीकरण गर्न समुदाय–प्रहरी साझेदारी कार्यक्रमले सहयोग पुग्ने उनको भनाइ छ ।

महानगरीय प्रहरी वृत्त महाराजगञ्जकी प्रहरी निरीक्षक अनिता महतले समुन्नत समाज निर्माण गर्न प्रहरीले विद्यालय तहदेखि नै सचेतनात्मक प्रशिक्षण सञ्चालन गरेको बताउँदै नेपाल प्रहरीले महिला र बालबालिकाको मुद्दामा गम्भीर भएर अनुसन्धान गरेको उल्लेख गरिन्।

सामुदायिक प्रहरी सेवा केन्द्र बाँसबारीका अध्यक्ष रमेश खड्काले लैङ्गिक हिंसा तथा सामाजिक विकृतिका विरुद्ध सामुदायिक सेवा केन्द्रले काम गरिरहेको बताए ।

डिसी नेपाल