७ बैशाख २०८१, शुक्रबार
Follow Us

तरुण दलका सदस्यसहित दुईजनाको अपहरण

sarusaru
१६ श्रावण २०७६, बिहीबार ०२:४६

वीरगन्ज : वीरगन्जबाट दुई दिनमा दुईजना युवकको अपहरण भएको खबर प्राप्त भएको छ। पर्साको विन्दवासीनी गाउँपालिका वडा नम्बर ४ मधवलका २८ वर्षीय उपनिवेश चौरसीया र वीरगन्ज महानगरपालिका १९ इनर्वा निवासी ३५ वर्षीय अरमान अली अपहरणमा परेको उनीरुका परिवारजनले बताएका छन्।

मङगलबार दिउँसो २ बजे तिर वीरगन्जको घण्टाघर चोकबाट मधवलका चौरसीयालाई उनकै गाउँका दुईजनाले मोटरसाइकलमा जबरजस्ती चढाएर भारतको रक्सौलतर्फ लिएर गएको परिवारजनले बताएका छन्।उनको अवस्था अहिले सम्म अज्ञात रहेको छ।

अपहरणमा परेको भनिएका चौरसीया, नेपाल तरुण दलको जिल्ला सदस्य पनि हुन्। चौरसीयालाई उनकै गाउँका उत्तम तिवारी र इजराउलले घण्टाघरबाट मोटरसाइकलमा चढाएर रक्सौलतर्फ लिएर गएको खबर पाएपछि बुधबार रक्सौल गएर खोजतलास गर्दा पनि चौरसीया फेला नपरेको वडाध्यक्ष अनुज चौरसीयाले जानकारी दिए।

अध्यक्ष चौरसीयाका अनुसार तिवारी र इजराउलले मङगलबार दिउँसो घण्टाघरबाट चौरसीयालाई जबरजस्ती मोटरसाइकलमा हालेर रक्सौलको श्याम होटलमा राति राखेका थिए।  तर बुधबार बिहान इनर्वा प्रहरी चौकीका इन्चार्ज प्रहरी नायव निरीक्षक सुमन सिंहसहितको टोलीसँगै आफू पनि उक्त होटलमा जाँदा उनीहरु त्यहाँ फेला नपरेको वडाध्यक्ष चौरसीयाले जानकारी दिए।

यस्तै, वीरगन्ज महानगरपालिका ६ इनर्वाका ३५ वर्षीय अरमान अली पनि अपहरणमा परेको उनका परिवारजनले बताएका छन्। गत सोमबार बिहान ५ बजे गाउँकै मस्जिदमा नमाज पढेर घर फर्किएका अरमान त्यहि दिन बिहानदेखि अपहरणमा परेका हुन्।

मस्जिदाबाट नमाज पढेर घर फर्किएका अरमानलाई कसैले फोन गरेर बोलाएको र उनी त्यसपछि घर नफर्किएको परिवारजनले बताएका छन्। मङगलबार बिहान बिहान ८ बजे तिर अरमान आफैंले आफ्नो मोबाइलबाट घरमा रहेकी दिदीलाई फोन गरेर आफू अपहरणमा परेको र फिरौती रकम नदिए आफूलाई अपहरणकारीले मार्ने धम्की दिएको परिवारले बताएका छन् ।

अरमानले दिदीलाई फोन गरेलगत्तै उनको मोबाइल स्वीच अफ भएको परिवारले जानकारी दिएका छन्। मङगलबार अरमानको फोन आएलगत्तै अरमान अपहरणमा परेको खबर प्रहरीलाई गरिएको परिवाजनले बताएका छन्।

पर्साका प्रहरी उपरीक्षक सोमेन्द्र सिंह राठौरले भने दुईजना युवक सम्पर्कविहीन भएको सूचना प्रहरीलाई आउने बित्तिक्कै उनीहरुको खोजतलाशमा प्रहरी परिचालन गरिएको जानकारी दिए। ‘अपहरणमा नै परेको भनेर भन्न सक्ने अवस्था अहिले छैन, प्रहरी उपरीक्षक राठौरले भने, ‘लेनदेनको विवाद पनि हुनसक्छ , तै पनि दुवैजनाको खोजीका लागि प्रहरी परिचालन भइसकेका छन्।’

अन्नपूर्ण पोष्ट