१३ बैशाख २०८१, बिहीबार
Follow Us

श्रमदानले हुने काममा साढे २ अर्ब खर्च

नेपालब्रिटेन डट कम्
१७ श्रावण २०७६, शुक्रबार ०२:५२

काठमाडौं – विगतमा जनश्रमदानबाट हुँदै आएका कुलो सफाइ, पाटीपौवा निर्माण, स्कुल भवन सरसफाइ, नाली मर्मतजस्ता काम पछिल्लो वर्ष प्रधानमन्त्री रोजगार कार्यक्रमअन्तर्गत सम्पन्न भएका छन्। यस्ता कामका लागि सरकारले गत आर्थिक वर्षमा करिब साढे दुई अर्ब रुपैयाँ खर्च गरेको छ। श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले प्रधानमन्त्री रोजगार कार्यक्रममार्फत पछिल्लो दुई महिनामा यो रकम खर्च गरेको हो।

आर्थिक वर्ष २०७५/७६ मा सोही कार्यक्रमका लागि विनियोजित तीन अर्ब १० करोड रुपैयाँमध्ये जेठ र असार महिनामा दुई अर्ब ३६ करोड ७९ लाख ६९ हजार रुपैयाँ खर्च भएको मन्त्रालयले जनाएको छ। मन्त्रालयका उपसचिव लोकनाथ भुसालले स्थानीय तहमार्फत कार्यक्रम कार्यान्वयन गरिएकाले अझै सबै विवरण आउन बाँकी रहेको बताए। कार्यक्रममार्फत सम्पन्न भएका सबै आयोजनाको विवरण संकलन हुन बाँकी रहेकाले खर्च साढे दुई अर्ब रुपैयाँ हाराहारी पुग्ने अधिकारीहरूले बताएका छन्।नागरिकमा खबर छ ।