१५ बैशाख २०८१, शनिबार
Follow Us

कालिका मन्दिरबाट साधु र माग्नेलाई हटाइयो

sarusaru
१८ श्रावण २०७६, शनिबार ०८:२५

बागलुङ– बागलुङ कालिका भगवती मन्दिर परिसरमा बसेर सहयोग माग्नेहरुलाई उद्दार गरिएको छ । शुक्रवार बिहान प्रमुख जिल्ला अधिकारी, प्रहरी उपरिक्षक, मानवसेवा आश्रमका प्रतिनिधि र कालिका भगवती मन्दिर व्यवस्थापन समितिका पदाधिकारीले उद्दार गरेका हुन् । मन्दिरमा मागेर जीवन गुजारी रहेका असहायलाई उद्धार गरी मानव सेवा आश्रममा ल्याइएको छ । बागलुङलाई सहयोगापेक्षी रहित बनाउने आश्रमको उद्देश्य छ । कोही पनि मानिस सडकमा मागेर बस्नु नपरोस् भनेर अभियान शुरु गरेको आश्रमकी संयोजक सुमिरा लामाले बताईन् । एक बर्षभित्र बागलुङलाई सडक मानव रहित बनाउने लक्ष राखेर मठमन्दिर, सडक र सार्वजनिक स्थानमा बस्नेलाई उद्दार गर्ने अभियान थालिएको हो । शुक्रवार मन्दिरबाट तीन जना सहयोगापेक्षीलाई उद्धार गरी आश्रममा ल्याइएको हो । माग्न बसीरहेका साधु भने आश्रममा आउन नचाहेपछि आफ्नो बाटो लागेका थिए । मन्दिर गुठीका अध्यक्ष राजु खड्काले साधु, सन्तलाई पनि मन्दिरबाट हटाइएको बताए । ‘मन्दिर परिसरमा अबदेखि कोही पनि मगन्ते बस्न नदिने निर्णय गरेका छौं’ उनले भने, ‘नक्कली साधु बढी छन्, विकृति मौलाएको छ ।’ लागूऔषध सेवन गर्ने, भक्तजनलाई दुव्र्यवहार गर्नेजस्ता कृयाकलाप बढेपछि मन्दिरबाट उनीहरुलाई हटाइएको उनको भनाइ छ । मन्दिर भित्रने सडकको सौन्दर्य नै बिग्रने गरी मगन्तेहरु बसेपछि भक्तजनलाई आउजाउ गर्नसमेत कठिन हुने गरेको समितिको टिप्पणी छ । साधुसन्त सहित अशक्त, असहायलाई संरक्षण दिन मानवसेवा आश्रम तयार भएपछि मन्दिरबाट उद्धार गरिएको अध्यक्ष खड्काले बताए । कालिका गुठीले दिर्घकालिन योजना बनाएर पर्यटकीय गन्तव्य बनाउने तयारी गरेको छ । प्रदेश सरकारले पनि कालिका मन्दिरलाई पर्यटकीय गन्त्व्यको सूचिमा राखेको छ । बर्षेनी सयौं भक्तजन र पर्यटक आउने भएकोले मन्दिर परिसरलाई आर्कषण बनाउन माग्नेहरुको संख्या हटाउन आवस्यक भएको समेत बताए । 
                             प्रमुख जिल्ला अधिकारी लुकबहादुर क्षत्रीले बागलुङलाई सडक मानवरहित बनाइने योजनामा प्रशासनले पनि साथ दिएको बताए । ‘संरक्षण दिने मानवसेवा आश्रम भएपछि किन सडकमा मागेर जीवन गुजार्नुप¥यो’ उनले भने, ‘बरु उहाँहरुको सहज जीवन यापनमा सबैले सहयोग गरौँ ।’ उद्धारका क्रममा प्रजिअ क्षत्री, प्रहरी उपरीक्षक नवराज भट्टलगाएत उपस्थित थिए । मन्दिरबाट उद्धार गरिएका सहयोगापेक्षीको दैनिक भोजन मन्दिरले नै व्यवस्थापन गर्ने भएको छ । आश्रममा असक्त, बेसाहारा, मानसिक रोगीसहित २८ जनाले आश्रय लिइरहेका छन् । उनीहरु थपिएपछि आश्रममा संख्या बढ्ने छ । तीन बर्ष अघि बागलुङका मनिष रायमाझी लगायतका युवाहरुको सक्रियतामा मानव सेवा आश्रम खोलिएको थियो । तत्कालिन युनिटी लाईफ नेटवर्कको कार्यालय रहेको भवनमा आश्रम राखिएको छ । त्यसअघि बागलुङ बजारका चोकचोकमा असक्तहरु मागेर बस्ने गर्थे । केही बालबालिकाहरु कुकुरसँगै खेलेर दिन बिताउँथे । सडकमा हिड्नेलाई जवरजस्ती पैसा मागेर हैरान समेत पार्थे । युवाहरुको सक्रियतामा सडकमा माग्नेहरुको व्यवस्थापन गर्न आश्रम संचालनमा ल्याएपछि हेटौडाबाट संचालन भएको आश्रमकी लामा समेत बागलुङ आएर सेवामा लागेकी थिइन् । आश्रम संचालन भएपछि जिल्लाका बिभिन्न स्थानमा भेटिएका असहायलाई ल्याएर उपचार गराएपछि राख्ने गरिएको छ । केही बालबालिकाहरु अभिभावकको जिम्मा लगाएर पठाइएको छ भने आश्रममा आएपछि केहीको मृत्यु समेत भएको छ । आश्रममा बागलुङ बासीले जन्मदिन, संघसंस्थाको वार्षिकोत्सव लगायतका अवसर पारेर खाद्यान्न सहयोग गरिरहेका छन् ।

जनमञ्च