१४ बैशाख २०८१, शुक्रबार
Follow Us

गर्भवती बुहारीको हत्या आरोपित सासू–ससुरा पक्राउ

sarusaru
२२ श्रावण २०७६, बुधबार ०२:४९

राजविराज : गर्भवती बुहारीको हत्या आरोपमा मंगलबार सप्तरीमा सासू–ससुरा पक्राउ परेका छन् ।

सप्तरीको अग्नीसाइर कृष्णसवरण गाउँपालिका–३ की १९ वर्षीया गर्भवती रञ्जुदेवी यादवको हत्या आरोपमा सप्तरी प्रहरीले उनकी सासु ४५ वर्षीया लीलादेवी यादव र ससुरा ५५ वर्षीय महेन्द्र यादवलाई पक्राउ गरेको छ ।

दुई साताको अनुसन्धानपछि आरोपितलाई पक्राउ गरी कर्तव्य ज्यानको उजुरी दर्ता गरिएको जिल्ला प्रहरी कार्यालय सप्तरीका प्रहरी उपरीक्षक मनोजकुमार यादवले बताए । रञ्जुका पति दिनेश यादव बजार गएका बेला राति साढे आठबजे घटना भएको थियो ।

गजेन्द्रनारायण सिंह अस्पताल राजविराजमा साउन ५ गते राति ल्याउनु अगावै निधन भइसकेकी रञ्जुको घाँटीमा डोरीको निलडाम र शरीरमा चोटपटक लागेको देखेपछि मृतकका दाजु रामसेवक यादवले जिल्ला प्रहरी कार्यालय सप्तरीमा उजुरी दिएका थिए ।

सप्तरी प्रहरीका अनुसार रञ्जुको शवको धरानस्थित बीपी  कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा साउन ७ गते पोष्टमार्टम भएको छ । तीन महिनाकी गर्भवती रहेकी मृतकको १० महिनाकी छोरी छन् ।

अन्नपूर्ण पोष्ट