७ बैशाख २०८१, शुक्रबार
Follow Us

काङ्ग्रेसद्वारा जरुरी सार्वजनिक महत्वको प्रस्ताव दर्ता

नेपालब्रिटेन डट कम्
२२ श्रावण २०७६, बुधबार ०९:२५

प्रमुख प्रतिपक्षी दल नेपाली काङ्ग्रेसले क्वारेन्टाइनको उचित प्रबन्ध गर्न र जडीबुटी निकासीलाई सहज बनाउनका लागि सरकारको ध्यानाकर्षण गराउन संसद्मा जरुरी सार्वजनिक महत्वको प्रस्ताव दर्ता गराएको छ । काङ्ग्रेस सांसदहरुले आज क्वारेन्टाइनको समस्याका कारण जडीबुटी निकासीमा आएको अवरोध अन्त्य गर्न छलफल गर्नुपर्ने जनाउँदै उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय अन्तर्गत उक्त सार्वजनिक महत्वको सूचना प्रतिनिधिसभामा पेश गर्नुभएको हो ।

उक्त प्रस्तावको प्रस्तावकमा सांसद रङ्गमती शाही हुनुहुन्छ भने समर्थकमा सांसद बालकृष्ण खाँण, डिला सङ्ग्रौला र प्रकाश रसाइली स्नेही हुनुहुन्छ । नेपालको हिमाली तथा पहाडी भू–भाग जडीबुटी भण्डारका रुपमा रहेको छ । यस भेगमा नेपाली नागरिकको ठूलो सङ्ख्याले जडीबुटी सङ्कलन, उत्पादन, भण्डारण, बिक्री वितरणमा प्रत्यक्ष रोजगारी पाएका छन् । नेपालबाट विदेश निर्यात हुने महत्वपूर्ण वस्तुमा जडीबुटी पर्छ ।

नेपालमा उत्पादित र सङ्कलित सबै जडीबुटीको प्रशोधनको प्रबन्ध नेपालमै हुन नसकेको र क्वारेन्टाइनसम्बन्धी व्यवस्था पनि नहुँदा निकासी भइरहेको जडीबुटीमा अवरोध उत्पन्न हुनाका साथै सङ्कलित जडीबुटी खेर जाने, नोक्सान हुने तथा यस क्षेत्रका हजारौँ नेपालीको रोजगारीमा समेत असर परेको प्रस्तावमा उल्लेख छ ।