१४ बैशाख २०८१, शुक्रबार
Follow Us

एनआरएन यूकेको उम्मेदवारी दर्ता १८ तारिख आइतवार (निर्वाचन तालिका सहित)

नेपालब्रिटेन डट कम्
२६ श्रावण २०७६, आईतवार १२:२७

लण्डन । गैरआवासीय नेपाली संघ (एनआरएनए) यूकेको निर्वाचन तालिका सार्वजनिक भएको छ । आइतबार फार्नबरोस्थित भिलेज होटेलमा आयोजित जानकारीसभामा निर्वाचन समितिले उक्त तालिका सार्वजनिक गरेको हो ।

निर्वाचन समितिका अनुसार सेप्टेम्बर १४ मा हुने एनआरएन यूकेको निर्वाचनको लागि उम्मेदवारी दर्ता भने अगस्ट १८ तारिख आइतवार हुने भएको हो ।

अगस्ट ११ आइतवार, साँझ ५ बजे मतदाताको प्रथम नामावली प्रकाशन, १३ अगस्ट दिउँसो ३ बजेसम्म नामावली सच्चाउने एवम् थप कागजात बुझाउने, १४ अगस्ट साँझ ५ बजे मतदाताको दोस्रो नामावली प्रकाशन, १५ अगस्ट दिउँसो ३ बजेसम्म मतदाता नामावलीउपर दाबीविरोध र सोहिदिन साँझ ८ बजे मतदाताको अन्तिम नामावली प्रकाशन गरिने कार्यक्रम छ ।

त्यसैगरी, १८ अगस्टको बिहान १० देखि दिउँसो १ बजेसम्म उम्मेदवारी दर्ता, दिउँसो साढे २ बजे उम्मेदवारको पहिलो नामावली प्रकाशन, साँझ ५ बजेसम्म दाबी विरोध र साँझ ८ बजे उम्मेदवारहरुको दोस्रो नामावली प्रकाशन गरिने भएको छ ।

उम्मेदवारी फिर्ताको लागि २० अगस्टको दिउँसो १ बजेसम्मको समय दिइनेछ भने सोहि दिन दिउँसो २ बजे उम्मेदवारको अन्तिम नामावली प्रकाशन गरिनेछ ।

मतदानको कार्यक्रम सेप्टेम्बर १४ को बिहान ८ देखि साँझ ८ बजेसम्म रहनेछ ।

निर्वाचन समितिका संयोजक मेजर रिटायर्ड डमर घले (एमबिई) र सहसंयोजक शिवजी श्रेष्ठले निर्वाचन तालिका सार्वजनिक गर्दै स्वतन्त्र र निश्पक्ष निर्वाचनको गर्ने प्रतिबद्धता जनाए ।

यसअघि आइतबारको लागि तोकिएको साधारणसभा अन्तिम समयमा स्थगित गर्दै जानकारीसभा मात्र गरिएको थियो । सो अवसरमा अध्यक्ष योगकुमार फगामीले सदस्यताको लागि प्राप्त आवेदनहरुको रुजु गर्ने प्रक्रियामा भएको प्रगतिबारे जानकारी गराएका थिए ।

सोहि अवसरमा विधान संशोधन समितिका संयोजक योगेन क्षेत्रीले प्रस्तुत गरेका विभिन्न संशोधन प्रस्तावहरुमाथि सहभागीहरुले आआफ्ना राय, सुझाव पेश गरेका थिए ।

गैरआवासीय नेपाली संघका सल्लाहकार डा. हेमराज शर्माले विधान संशोधनका विषयमा जानकारी दिए ।

कार्यक्रमलाई शुभकामना मन्तव्य राख्दै संघका उपाध्यक्ष कुल आचार्यले विश्वकै सबैभन्दा बढि सदस्य भएको राष्ट्रिय समन्वय परिषद बन्न सफल भएकोमा बेलायतको टिमलाई बधाई तथा धन्यवाद ज्ञापन गरेका थिए ।

प्रवक्ता रमेश सरांगकोटीले सञ्चालन गरेको कार्यक्रममा सचिव तारानाथ भण्डारीले स्वागत मन्तव्य दिएका थिए ।