७ बैशाख २०८१, शुक्रबार
Follow Us

घुससहित वन अधिकृत पक्राउ

नेपालब्रिटेन डट कम्
२७ श्रावण २०७६, सोमबार ०७:५०

अख्तियार दुरुपयोग अनुसन्धान आयोग महेन्द्रनगरको टोलीले रु तीन लाख घुससहित एक सहायक वन अधिकृतलाई नियन्त्रणमा लिएको छ ।

डडेल्धुराको गन्यापधुरा गाउँपालिका–१ भात्काँडाबाट सब–डिभिजन कार्यालय बिपिनगर डोटीमा कार्यरत सहायक वन अधिकृत सुरेशचन्द्र डिसीलाई आइतबार अख्तियारको टोलीले नियन्त्रणमा लिएको हो । अधिकृत डिसीलाई तीन लाखसहित नियन्त्रणमा लिइएको हो ।

विशेष सूचनाका आधार आयोगको कार्यालय महेन्द्रनगरबाट खटिएको टोलीले आरोपित डिसीबाट रु तीन लाख २६ हजार रकम बरामद गरिएको आयोगको कार्यालय महेन्द्रनगरका सूचना अधिकारी टोपबहादुर विष्टले जानकारी दिनुभयो ।

ठेकेदारलाई काठ मिलाइदिने भन्दै डिसीले ती ठेकेदारबाट पाँच लाख ४५ हजार बैंकमा हाल्न भनेपछि उक्त रकम ठेकेदारले जम्मा गरेको विष्टले बताउनुभयो । उहाँले भन्नुभयो, “अरू पैसा निकालेर यताउता पारिसकिएको रहेछ ।” अख्तियारको टोलीले रु तीन लाख २६ हजार मात्रै बरामद गरेको सूचना अधिकारी विष्टले जानकारी दिनुभयो ।

उहाँका अनुसार प्रहरी नायब उपरीक्षकको नेतृत्वमा गएको टोलीले नगदसहित डिसीलाई नियन्त्रणमा लिएको हो । पक्राउ परेका डिसीलाई राति नै महेन्द्रनगर ल्याइएको छ । घटनाबारे थप अनुसन्धान भइरहेको अख्तियारल जनाएको छ ।
–––