११ बैशाख २०८१, मंगलवार
Follow Us

एनआरएन युके निर्वाचनः १९ सय सदस्य सहित मिडल्याण्डको टोली पुनम गुरुङ समुहमा

नेपालब्रिटेन डट कम्
२८ श्रावण २०७६, मंगलवार ११:५६

लण्डन । गैरआवासीय नेपाली संघ (एनआरएनए) को आसन्न निर्वाचनमा मिडल्याण्डवासी नेपालीहरुले पुनम गुरुङ समूहसंग मिलेर निर्वाचनमा जाने भएका छन् ।
मिडल्याण्डवासीको एउटै आवाज बुलन्द गर्ने उदेश्यले अध्यक्ष पदकी उम्मेदवार पुनम गुरुङसंग सहकार्य गरेर अघि बढ्ने सहमति भएको मिडल्याण्ड क्षेत्रका अगुवा दयानिधी सापकोटाले जनाए ।
१४ सेप्टेम्वरमा हुने निर्वाचनको लागि निर्णयक शक्तिको रुपमा रहेको सो क्षेत्रमा मात्र १९ सय सदस्य रहेका छन् ।

सोमबार साँझ लण्डनमा बसेको दुई पक्षबीचको वेष्ट लण्डनमा भएको बैठकले लिखित रुपमा चार बुंदे सम्झौतामा हस्ताक्षर गरेको सापकोटाले जानकारी दिए ।
सम्झौतापत्रमा पुनम गुरुङ समुहबाट अध्यक्ष उम्मेदवार पुनम गुरुङ, महासचिव उम्मेदवार फडिन्द्र भट्टराई तथा निर्वाचन अभियान संयोजक ले रि चन्द्रबहादुर गुरुङले हस्ताक्षर गरेका छन् ।

मिडल्याण्डको तर्फबाट साझा नेपाली समाजका अध्यक्ष महेश अधिकारी र पूर्व अध्यक्ष रणबहादुर केसीसहित उम्मेदवारहरु दयानिधि सापकोटा, पशुपति पोखरेल, कोशलेश्वर (कृष्ण) ढकाल र विष्णु चालिसेले हस्ताक्षर गरेका छन् । बाँकी तीन सदस्यका उम्मेदवारले पनि सहमतिका लागि आफ्नो म्याण्डेट पठाएका छन् ।

मिडल्याण्ड र पुनम गुरुङ समुहबीच भएको ४ बुँदे सहमति अनुसार मिडल्याण्डले अध्यक्षमा पुनम गुरुङ र महासचिवका उम्मेदवार फडिन्द्र भट्टराईलाई सघाउने भएको छ ।

त्यस्तै, मिडल्याण्डबाट सामुहिक रुपमा उम्मेदवारी घोषणा गरेका ७ जना उम्मेदवारहरु पुनम समुहले जिताउने ग्यारेन्टी लिएको छ ।

मिडल्याण्डले आइसिसी सदस्यमा दयानिधि सापकोटा, उपाध्यक्षमा पशुपति पोखरेल, सचिवमा कोशलेश्वर (कृष्ण) ढकाल, सहकोषाध्यक्षमा विष्णु चालिसे र सदस्यहरुमा गोमा पौडेल, नृपेश उप्रेती र कृष्ण खरेल छन उम्मेदवारको रुपमा अघि सारेको छ ।

पुनम नेतृत्वको संयुक्त प्यानलबाट अन्य पदका लागि उम्मेदवारहरुको छनौट आपसी समझदारीमा गर्ने तर मिडल्याण्डले थप पद दाबी नगर्ने सहमति भएको बताएको छ ।
पुनम समूहले कुल ७ हजार सदस्यता बुझाएको दाबी गर्दै आएको छ । यसै बीच मिडल्याण्डसंगको सम्झौतापछि सो समुह थप बलियो देखिएको छ । संघको निर्वाचनको लागि आगामी आइतवार उम्मेदवारी दर्ताको कार्यतालिका तय गरिएको छ ।

अध्यक्षको लागि गुरुङ, शेर बहादुर सुनार र प्रेम गाहामगरको उम्मेदवारी आउने अपेक्षा गरिएको छ।