७ बैशाख २०८१, शुक्रबार
Follow Us

एनआरएन युके निर्वाचनः तीन उम्मेदवारले छाडे चुनावी मैदान, सुनवारलाई समर्थन

नेपालब्रिटेन डट कम्
२८ श्रावण २०७६, मंगलवार २३:००

लण्डन । गैरआवासीय नेपाली संघ (एनआरएनए) युकेको आसन्न निर्वाचनको लागि अध्यक्ष पदको लागि उम्मेदवारी घोषणा गरेका ५ जना मध्य ३ जनाले चुनावी मैदान छोडेका छन् । अध्यक्षको पदमा उम्मेदवारी दिने भन्दै पटक पटक सार्वजानिक रुपमा अभिव्यक्ती दिदैं आएका प्रेम गाहामगर, सुशिला राई र ललित न्यौपानेले चुनावी मैदान छोडेका हुन् ।

उनीहरुले मंगलवार अल्डरशटमा एक संयुक्त पत्रकार सम्मेलनमा बोल्दै अध्यक्षका अर्का अध्यक्षका प्रत्यासी शेर बहादुर सुनारलाई सहयोग गर्ने घोषणा गरेका छन् ।

पत्रकार सम्मेलनमा बोल्दै अध्यक्षका प्रत्यासी ललित न्यौपानेले एनआरएनए सानो घेरामा राखेर समाजको हित नहुने वताए । उनले चार जना साथीहरुले मिलेर जाने प्रस्ताव ल्याएको त्यसलाई आफुले स्वीकार गरेको वताए । उनले सक्षम नेतृत्व चयन गर्नु पर्नेमा जोड दिए । उनले आगामी निर्वाचनमा आइसीसी सदस्यमा उम्मेदवारी दिने घोषणा गरे ।

अर्का प्रत्यासी शुसिला राईले आफ्नो उम्मेदवारी फिर्ता लिदैं शेर सुनारलाई सहयोग गर्ने वताउँदै आइसीसी सदस्यमा उम्मेदवारी दिने घोषणा गरिन् ।

अर्का प्रत्यासी प्रेम गाहामगरले पुरानो प्रथाबाट सदस्यता वितरण गरेका कारण आफु अध्यक्षको उम्मेदवारीबाट पछि हटेको वताए । उनले सदस्यता वितरण प्रणाली गलत भएको दावी गरे । उनले दलितजातिबाट एनआरएनको नेतृत्व भएमा पूर्ण समावेशी हुने भएका कारणले शेर सुनारलाई अध्यक्षमा समर्थन गरेको वताए । उनले अध्यक्षको उम्मेदवारीको फिर्ता लिदै पुनः उपाध्यक्षमा उठ्ने जानकारी दिए ।

पत्रकार सम्मेलनमा बोल्दै अध्यक्षका प्रत्यासी शेर बहादुर सुनारले सबै जना मिलेर अगाडी बढे मात्र एनआरएन पूर्ण हुने वताए । उनले यसअघि संघले दिएको जिम्मेवारी पुरा गरेको स्मरण गरे । उनले आफ्नो योगदानको कदर गर्दै आगामी निर्वाचन अध्यक्ष पदमा विजयी गराउन आग्रह गरे ।

पत्रकार सम्मेलनमा शसांक शर्मा, नारायण कंडेल, प्रवेश केसी, ओम थापा, एनआरएनएका पूर्व सल्लाहकार विश्वआर्दश पण्डित लगायतले शुभकामना दिए ।

१४ सेप्टेम्वरमा हुने निर्वाचनको लागि निर्णायक शक्तिको रुपमा रहेको मिडल्याण्डवासीले १९ सय सदस्य सहित अध्यक्षकी प्रत्यासी पुनम गुरुङलाई सहयोग गर्ने घोषणा गरे लगत्तै उनीहरु शेर सुनारको पक्षमा उभिएका हुन् ।

सोमबार साँझ मात्र मिडल्याण्डबासी र पुनम गुरुङ पक्षले लिखित रुपमा चार बुँदे सम्झौतामा हस्ताक्षर गरेका थिए ।

फोटो : शिव भण्डारी