१६ चैत्र २०८०, शुक्रबार
Follow Us

महावीर पुनसँग ‘म अघि बढ्छु’

sarusaru
२९ श्रावण २०७६, बुधबार ०२:०६

धरान : समाज परिवर्तन र युवायुवतीलाई कुलतबाट जोगाउन प्रदेश १ मा ‘म अघि बढ्छु’ कार्यक्रम सुरु गरिएको छ। प्रदेश १ को आन्तरिक मामिलिा तथा कानुन मन्त्रालयले १४ जिल्लामा एकैसाथ यो कार्यक्रमको सुरुवात गरेको हो।

लागुऔषध, समाजिक विकृति र विसंगतिमा टिनएज समूहका युवायुवती कुलतमा फस्ने क्रम नरोकिएपछि उनलाई समाज परिवर्तनको बाटोमा हिँडाउन प्रदेश १ मा ‘म अघि बढ्छु’ कार्यक्रम सुरु गरिएको कार्यक्रम संयोजक नवराज राईले बताए।

उनका अनुसार प्रदेश १ का २ हजारभन्दा बढी विद्यालयमा सगरमाथा टिन्स क्लब गठन गरी समाज परिवर्तनको बाटोमा अग्रसर बनाउन विद्यार्थीलाई प्रशिक्षित गराउँदै कार्यक्रमको सुरुवात गरिएको हो।

म अघि बढ्छु कार्यक्रम प्रदेश १ का सुनसरी, मोरङ, झापा, इलाम, पाँचथर, ताप्लेजुङ, तेह्रथुम, धनकुटा, उदयपुर, खोटाङ, भोजपुर, ओखलढुङगा र सोलुखुम्बु जिल्लामा एकैसाथ सुरु गरिएको छ।

कार्यक्रममा सामजिक रुपमा ख्याति कमाएका व्यक्तित्वले प्रत्येक विद्यालयमा गई कक्षा ९ देखि १२ सम्म अध्ययनरत १३ देखि १९ वर्ष उमेर समूहका युवायुवतीलाई म अघि बढ्छु कार्यक्रममार्फत सकारात्मक बाटोमा हिडाउन कार्यक्रमको आयोजना गरिएको कानुन मन्त्रालयका अधिकृत रवि खनालले बताए।

मंगलबार सुनसरी र मोरङका विभिन्न विद्यालयमा सामाजिक अभियन्ता महावीर पुनले विद्यार्थीलाई सकारात्मक काम गरे आफू मात्र, नभएर परिवार, समाज र राष्ट्रको विकास हुने बताए।

उनले विद्यार्थीलाई सत्‍मार्गमा लाग्न अभिप्रेरित गरे।उनले विद्यार्थीलाई कुलतमा नलाग्न र कुलतमा लाग्ने साथीलाई समेत सही बाटोमा डोर्‍याउन सचेत गराए।

पुनले प्राकृतिक, समाजक तथा सांस्कृतिकरुपले विश्वकै धनी देश नेपाल आर्थिक रुपमा गरिब भएको भन्दै देशको विकासका लागि विद्यालयस्तरदेखि सबै सचेत हुनुपर्ने भन्दै आफू  ‘म अघि बढ्छु’ कार्यक्रमको प्रचारप्रसारका लागि प्रदेश १ का जिल्लामा आएको बताए।

प्रदेश सरकारले ‘म अघि बढ्छु’ भन्ने अभियानका लागि सगरमाथा टिन्स क्लब संचालन तथा व्यवस्थापन कार्यविधि २०७५ को मन्त्रीपरिषद निर्णय गरी यो कार्यक्रमको सुरुवात गरिएको मुख्यमन्त्री शेरधन राईले बताएका छन्।

उनले प्रदेश १ का युवायुवती सकारात्मक बाटोमा अघि बढाउने उदेश्यले विभिन्न क्षेत्रमा समिति गठन गरी कार्यक्रमलाई प्रभावकारी बनाइएको जानकारी दिए।

अन्नपूर्ण पोष्ट