१६ चैत्र २०८०, शुक्रबार
Follow Us

सांसद यादवको सुटुक्क राजीनामा, चर्चामा सीके राउत

नेपालब्रिटेन डट कम्
२९ श्रावण २०७६, बुधबार ०२:५१

काठमाडौं – सप्तरी क्षेत्र नम्बर–१ को प्रतिनिधिसभा सदस्य डा. सूर्यनारायण यादवले पदबाट राजीनामा दिएका छन् । तत्कालीन संघीय समाजवादी फोरम नेपालबाट प्रत्यक्ष निर्वाचित यादवले पार्टी (समाजवादी) लाई जानकारी नदिई संसद् सचिवालयमा राजीनामा पेस गरेका हुन् । राजीनामा दिनुको कारणबारे सांसद यादवले केही बोल्न चाहेनन् ।

समाजवादी पार्टीको मंगलबार बसेको पदाधिकारी बैठकमा अध्यक्ष उपेन्द्र यादवले डा. यादवको राजीनाबारे जानकारी गराएका थिए । अध्यक्ष यादवले सभामुख कृष्णबहादुर महरालाई राजीनामा स्वीकृत नगर्न आग्रह गरेका छन् ।

समाजवादी पार्टीका उपमहासचिव प्रकाश अधिकारीले डा. यादवको राजीनामाबारे पार्टीलाई कुनै जानकारी नभएको बताए ।
सांसद यादवको राजीनामा उपचुनावसँग जोड्न थालिएको छ । यादवको राजीनामा स्वीकृत भएमा सप्तरी १ मा उपचुनाव हुन्छ । उपचुनाव भएमा सीके राउतले उम्मेदवारी दिने चर्चा सामाजिक सञ्जालमा हुन थालेपछि जनमत पार्टीले खण्डन गरेको छ ।अन्नपूर्ण पाेस्टमा खबर छ ।