१६ चैत्र २०८०, शुक्रबार
Follow Us

महानगरमा माध्यमिक तहका २९ जना शिक्षकको पदस्थापन

नेपालब्रिटेन डट कम्
२९ श्रावण २०७६, बुधबार १२:०२

काठमाडौं । महानगरका २० वटा सामुदायिक बिद्यालयमा २९ जना शिक्षक शिक्षिकालाई पदस्थापन गरिएको छ । शिक्षक सेवा आयोगले गएको बर्ष असोज महिनामा लिएको खुल्ला प्रतिस्पर्धात्मक परीक्षाबाट छनौटमा परेका शिक्षक शिक्षिकालाई बुधबार पद तथा गोपनीयताको शपथ खुवाएर महानगरले बिद्यालयगत पदस्थापन गरेको हो । प्रतिस्पर्धाबाट छनौटमा परेका शिक्षक शिक्षिकालाई शिक्षा बिकास तथा समन्वय इकाइमा शिफारिस गरिएको थियो । यसै शिफारिसका आधारमा इकाइले नियुक्ति दिएको हो । यसरी पदस्थापन हुनेमा अंग्रेजी पढाउने ४ जना हुनुहुन्छ भने सबैभन्दा बढी गणित पढाउने ८ जना हुनुहुन्छ । त्यस्तै बिज्ञानतर्फ ४ जना, नेपालीतर्फ ६ जना, कार्यालय सञ्चालन र लेखातर्फ ३, कम्प्युटर बिज्ञानतर्फ १ जना र सामाजिकतर्फ ३ जना शिक्षक शिक्षिका हुनुहुन्छ ।

बिद्यालयगत पदस्थापन गर्नु अघि बुधबार राष्ट्रिय सभा गृहमा आयोजना गरिएको नवनियुक्त शिक्षिकशिक्षिकालाई पद तथा गोपनीयताको शपथ खुवाउन आयोजना गरिएको कार्यक्रममा महानगरका प्रमुख बिद्यासुन्दर शाक्यले — शैक्षिक योग्यताको उपयोग गरेर सामुदायिक शिक्षामा अभिभावकको बिश्वाश जगाउने वातावरण तयार पार्न आग्रह गर्नुभयो । पुराना शिक्षकशिक्षिकासँग अनुभव धेरै छ, नयाँमा उत्साह बढी छ । यी दुवै पक्षलाई मिसाएर महानगरका सामुदायिक शिक्षामा सुधार भयो भन्ने अभिभावकमा आशा जगाउनुपर्छ । नत्र अभिभावकले सन्तानको शिक्षाका लागि महिनाभरको कमाइ खर्च गर्नुपर्छ । यो महङ्गो हुन जान्छ । मेयर शाक्यले थप्दै भन्नुभयो — अब महानगरका सामुदायिक बिद्यालय संस्थागत बिद्यालयको दाँजोमा प्रतिस्पर्धात्मक हुनुपर्छ । यसले मात्र अभिभावकहरुमा सरकारी स्कूलप्रति आशा बढ्छ ।

त्यस अवसरमा महानगरको शिक्षा बिभागका निमित्त प्रमुख तारापति खरेलले भन्नुभयो — आदर्श शिक्षाका लागि सामुदायिक बिद्यालयको अध्यापन बिधिमा फाइभ इ (अंग्रेजी अक्षर इ बाट आउने ५ वटा शव्द — इङ्गेजमेन्ट, एक्प्लोर, एक्स्पिरियन्स, एक्प्लेन र इभ्यालुएसन) अवधारणा अबलम्बन गरिनुपनेर्् बताउनुभयो । बिद्यार्थीलाई काम दिइरहनु पर्छ यसले सहभागिता बढाउँछ, कार्यमुलक अनुसन्धानमा लगाउनुपर्छ, अनुभव गराउनु पर्छ, व्याख्या गर्नुपर्छ र मुल्याङ्कन गर्नुपर्छ । उहाँले अष्ट्रेलिया, डेनमार्कलगायत देशको सिकाइ अभ्यासका बारेमा चर्चा गर्दै यो बिधि नेपाली शिक्षा प्रणालीमा कार्यान्वयन गर्न सकिने बताउनुभयो । सामुदायिक बिद्यालयका शिक्षकहरुको काम गर्ने तरिकाका बारेमा चर्चा गर्दै त्यस अवसरमा शिक्षा बिभागका शाखा अधिकृत मोती भट्टराईले — शैक्षिक पात्रो बनाएर पाठ योजना अनुसार शिक्षण बिधि अपनाउन नवनियुक्त शिक्षकशिक्षिकालाई आग्रह गर्नुभयो ।