७ बैशाख २०८१, शुक्रबार
Follow Us

प्रवासीको सहयोगमा सडक मर्मत

नेपालब्रिटेन डट कम्
२० कार्तिक २०७३, शनिबार ०७:४६

बेनी । कुहुँ–८ थाइवाङको विकासप्रति प्रवासमा रहेका थाइवाङवासी एकजुट भएका छन् । विश्वका विभिन्न देशमा पुगेका थाइवाङवासीले रु सात लाख जुटाएर गाउँसम्म पुग्ने सडक मर्मत सम्भार तथा स्तरोन्नति गरेका छन् ।
थाइवाङ जोड्ने कुहुँ–पञ्चासे खोलासम्मको जोखिमपूर्ण सडकलाई ब्रेकरको प्रयोग गरेर सडक विस्तार तथा मर्मत गरिएको थाइवाङका स्थानीय बलिभद्र गौतमले जानकारी दिनुभयो ।
“प्रवासमा रहेका थाइवाङवासीको सक्रियतामा सडक मर्मत भएको छ, अब सहजै गाउँसम्म सानाठूला सवारीसाधन चल्छन्” गौतमले भन्नुभयो ।
बेनी–दरवाङ सडकखण्डअन्तर्गत सिमलचौर र पुलाचौर–डडुवा कुहुँ हुँदै गाउँसम्म पुग्ने पुरानो सडक भए पनि भिरालो र जोखिमपूर्ण भएकाले गाउँसम्म सहज सवारीसाधन आवतजावतमा समस्या हुने गरेको थियो । गाउँ नजिकै सवारीसाधन राखेर जानुपर्ने अवस्थामा सडक स्तरोन्नति भएपछि ट्याक्सी समेत गाउँमै पुग्छन् ।
सडकखण्डको पञ्चासे खोलादेखि रातो खोलासम्मको करिब एक किलोमिटर मर्मत गरिएको थाइवाङ गाविसले जनाएको छ । पाँच दिनसम्म लगातारको सडक मर्मत सम्भारपछि कुहुँको हिदी गाउँका साथै मालिकाधुरी जान समेत सहज भएको छ ।
जिल्लाकै धार्मिकस्थलको रुपमा परिचित मालिकाधुरीमा पुग्ने सबैभन्दा छोटो रुट थाइवाङ हँुुदै पर्छ । थाइवाङ गाविस अभियानमार्फत शिक्षा, स्वास्थ्य, विकास निर्माण, आर्थिक अवस्था कमजोर भएकाको उपचारलगायत गाउँमा आवश्यक पर्ने सबै क्षेत्रमा सहयोग गर्ने लक्ष्य रहेको छ ।