१५ चैत्र २०८०, बिहीबार
Follow Us

एकदिवसीय क्रिकेट सिरिज भारतले जित्यो

नेपालब्रिटेन डट कम्
३० श्रावण २०७६, बिहीबार ०७:३१

कप्तान विराट कोहलीको सानदार शतकसँगै वेस्ट इन्डिजविरुद्धको तीन खेलको एकदिवसीय क्रिकेट सिरिज भारतले जितेको छ । बिहिबार बिहान भएको दोस्रो खेलमा पाहुना टोली भारतले वेस्ट इन्डिजलाई डकवर्थ लेविसका आधारमा ६ विकेटले हरायो । यससँगै भारतले सिरिज २–० ले जितेको हो ।

वर्षाको कारण अवरुद्ध भएपछि खेल ३५ ओभरमा झारिएको थियो । भारतले ३५ ओभरमा जितको लागि दुई सय ५५ रनको लक्ष्य पाएको थियो । भारतले ३२.३ ओभरमा चार विकेटको क्षतिमा लक्ष्य पूरा गरेको हो ।

भारतको जितमा कप्तान विराट कोहलीले अविजित एक सय १४ रन बनाए । सानदार शतक प्रहार गर्ने क्रममा कोहलीले ९९ बलमा १४ चौका हानेका थिए । कोहरीको यो एकदिवसीय खेलमा ४३औं शतक हो । युवा खेलाडी श्रेयस ऐरले ६५ रन बनाए । केदार जाधवले अविजित १९, शिखर धवनले ३६ र ओपनर रोहित शर्माले १० रन बनाए । वेस्ट इन्डिजका एवियन एलिनले दुई तथा केमर रोचले एक विकेट लिए ।

यसअघि टस जितेर पहिला ब्याटिङ गरेको वेस्ट इन्डिजले निर्धारित ३५ ओभरमा सात विकेटको क्षतिमा दुई सय ४० रन बनाएको थियो । वेस्ट इन्डिजले २२ ओभरमा दुई विकेटको क्षतिमा एक सय ५८ रन बनाउँदा वर्षा सुरु भएको थियो । त्यसपछि खेल ३५ ओभरमा झारिएको थियो । वेस्ट इन्डिजका लागि ओपनर क्रिस गेलले ७२ रन बनाए ।

इभिन लुईसले ४३, निकोलस पुरनले ३०, शिमरोन हिटमायरले २५, साई होपले २४, कार्लोस वर्थवेटले १६ र जोसन होल्डरले १४ रन बनाए । भारतका मोहम्मद खलील अहमदले तीन विकेट लिए । मोहम्मद शामीले दुई, युजभेन्द्र चाहल र रविन्द्र जडेजाले एक एक विकेट लिए । पहिलो खेल वर्षाका कारण रद्ध भएको थियो । दोस्रो खेलमा पनि भारत डकवर्थ लेविसका आधारमा ५८ रनले विजयी भएको थियो । यी टोलीबीच अब दुई टेस्ट खेल हुनेछ ।