१६ चैत्र २०८०, शुक्रबार
Follow Us

बेलायतमा ट्राफिक छल्न प्यारामिटर ग्लाइडरको प्रयोग

नेपालब्रिटेन डट कम्
३० श्रावण २०७६, बिहीबार ०७:३६

ट्राफिक जाममा फस्दा धेरै मानिस अफिस पुग्ने छरितो विकल्प विकास होस् भन्ने चाहना गर्छन् । इंग्ल्याण्डका प्यारामोटर ग्लाइडर टम प्राइडो–ब्रुनोले यस्तै एउटा विकल्प प्रयोग गरिरहेका छन् ।
उनी प्याराग्लाइडरलाई सुधार गरेर निर्माण गरिएको उपकरणमा उडेर घरदेखि कार्यालयसम्म जान्छन् । टमले उडानको लागि एउटा इन्जिनवाला प्याराग्लाइडर प्रयोग गरिरहेका छन् ।
उड्नु अघि टम आफ्नो पिठ्यूमा एउटा ठूलो जालिदार घेरा र प्यारामोटर ग्लाइडरसँग जोडिएको एउटा पट्टी बाँध्छन् । त्यसपछि उनी काँधको माथिबाट डोरी तानेर मोटर चलाउँछन् ।
मोटर चल्नासाथ टमको पिठ्यूको ठूलो पंखा घुम्न थाल्छ । त्यसपछि टम फराकिलो खुल्ला मैदानमा दौडिन शुरु गर्छन् ।
१०–१२ कदम दौडैपछि उनी आफ्नो दुवै खुट्टा हावामा उठाउँछन् र लगतै उनको प्यारामिटर ग्लाइडरले उनलाई उडाउन थाल्छ ।

उडेर ३० किमी टाढा कार्यालय
टम प्राइडो–ब्रूनको कार्यालय दक्षिण पश्चिम इंग्ल्याण्डको विल्टशायरमा छ । मौसम सफा भएको अवस्थामा टम सधै यो दुरी उडेरै पार गर्छन् ।
आफ्नो उडानबारे बताउदै टम भन्छन् ,‘विहान उठेपछि म सबैभन्दा पहिले झ्यालको पर्दा हटाएर मौसम हेर्ने गर्छु ,’ बीबीसीसँगको कुराकानीमा टमले भने ,‘ आजको दिन राम्रो भएकाले म हवाई शयर नै गर्दैछु । यसको सवारी गाडिकोभन्दा उत्तम छ ।’
टम अक्सर साइकलमा वा पैदल यात्रा गर्न रुचाउँछन् । तर, उडदाँ भने उनी उनी रोमाञ्चकारी र प्रेरणादायी महसुस गर्छन् । त्यसैले मौसम राम्रो भएको दिन उनी शेरबार्नमा रहेको घरदेखि कार्यालय रहेको डार्सेटसम्मको ३० किमी दुरी उडेरै तय गर्छन् ।
उडानबारे प्रस्ट्याउदैं उनी भन्छन् ,‘ मुख्य कुरा तपाईले पिठ्यूमा एउटा ठूलो पङ्खा बाध्नुपर्छ । त्यसपछि त्यसलाई प्याराग्लाडरसँग जोड्नुपर्छ ।’
पंखामा जोडिएको इन्जिनतर्फ इसारा गर्दै उनी भन्छन् ,‘ अनि चारदेखि पाँच लिटर इन्धन लाग्ने खालको इन्जिन आवश्यक हुन्छ ।’

५० किमी प्रति घण्टाको गति
उनी प्रतिघण्टा ५० किलोमिटरको रफतारमा उड्छन् । यद्यपि केही प्यारामोटर ग्लाइडर यो भन्दापनि तीब्र गतिमा उड्न सक्छ ।
उनी भन्छन् ,‘३० देखि ३५ माइल प्रति घण्टाको रफ्तार भएमा उडान रमाइलो बित्छ । ग्लाइडर उच्च प्रविधिको छ भने तपाईले गति दुई गुणा सम्म बढाउन सक्नुहुन्छ ।’
उनी ग्रामिण क्षेत्र माथि हुदैं उड्छन् । उनका अनुसार आकासबाट देखिने हराभरा खेतको दृश्य निकै लोभलाग्दो हुनेगर्छ ।
‘उड्दा फरक कोणबाट संसार देखिन्छ । मेरो लागि उडानको सबैभन्दा महत्वपूर्ण पक्ष यही हो । माथिबाट स्कुल र खेत हेरेर दिनको शुरुवात गर्नु शानदार हुन्छ । ’
टम कार्यालय नजिक आएपछि उडानको गति घटाउँदै लान्छन् । त्यसपछि विस्तारै तल आउँछन् । उत्रने बेलामा पनि उनलाई १०–१५ मिटर दौडनुपर्छ ।
‘यसमा कार्यालय पुग्दा उर्जा महसुस हुन्छ । उत्साहित हुनुहुन्छ । यसले तपाईँको दिननै उत्कृष्ट हुन्छ ।’

उड्ने अनुभव

टम प्याराजेट इन्टरनेशनल कम्पनीका सेल्स एण्ड मार्के्टिङ डाइरेक्टर हुन् । उनको कम्पनीले यो उपकरण बनाएर बेच्छ ।
घर र कार्यालय आउजाउको लागि उड्ने उनी एक्लो भने होइनन् । उनको कार्यालयका १२–१४ जना अन्य स्टाफ प्यारामोटर प्रयोग गरेर कार्यालय जाने गर्छन् ।
यसको संख्या बढ्दै गइरहेको छ । टम यसबारे भन्छन् ,‘ हामी उड्ने अनुभव विस्तार गर्न चाहन्छौं । हामी मानिसलाई उड्न प्रोत्साहित गर्न चाहन्छौं ताकि धेरै भन्दा धेरै मानिस यसमा सामेल हुन ।’
आधिकारिक रुपमा यो तीन चार वर्ष पहिले सुरु भएको थियो । सुरुमा कम्पनीले प्याराग्लाइडिङ खेल सजिलो बनाउनको लागि यसको डिजाइन गरेको थियो ।
‘हाम्रा सबै स्टाफ यो काम गर्छन् । तर एउटा भनाई छ– तपाईँले आफ्नो मेहनतलाइ त्यहाँ लगाउनु पर्छ जसले अवस्थामा सुधार ल्याउँछ ,’ टमले भने ।