१४ बैशाख २०८१, शुक्रबार
Follow Us

विद्यालयका कर्मचारीको मृत्यु भएपछि मनकामना माविमा तालाबन्दी

sarusaru
३० श्रावण २०७६, बिहीबार १३:१५

गोरखा : गोरखा नगरपालिका ९ र १० का स्थानीयबासीले मनकामना बहिरा माध्यमिक विद्यालयमा तालाबन्दी गरेका छन्। विद्यालयका कर्मचारी श्यामहरि घिमिरेको हत्यामा विद्यालयको संलग्नता रहेको आरोप लगाउँदै बिहीबार तालाबन्दी गरिएको मृतकका आफन्त सुवास घिमिरेले जानकारी दिए।

‘करिब पाँच सय जनाको समूहमा आएका स्थानीयबासीले विद्यालयमा ताला लगाएका हौं’, उनले भने। तालाबन्दीपछि स्थानीयबासीले ‘हत्या गर्न पाइँदैन, बहिरा संघ खारेज गर, विद्यालय व्यवस्थापन समिति खारेज गर’जस्ता नारा लगाएका थिए।

५० बर्षका कर्मचारी घिमिरेको गत मंगलबार बिहान आठ बजेतिर विद्यालयबाट करिब एक सय मिटर पर शव भेटिएको थियो। सोमबार राति छात्राबासमा रहेका विद्यार्थीलाई खाना खुवाएर नजिकै रहेको आफ्नो घरमा सुत्न जाने क्रममा घिमिरे बेपत्ता भएका थिए।

खोजतलासको क्रममा जंगलमा चोटैचोट लागेको अवस्थामा शव भेटिएको विद्यालय व्यवस्थापन समितिका अध्यक्ष षडानन्द रेग्मीले जानकारी दिए।

यसअघि पनि उनीमाथि विद्यालयभित्र पटकपटक आक्रमण हुने गरेकाले यसपटक पनि विद्यालयभित्रै आक्रमण भएको हुनसक्ने आफन्तको आरोप छ। उनको शव पोष्टमार्टमपछि पनि गोरखा अस्पतालमै राखिएको छ। घटनाको सत्यतथ्य अनुसन्धान नभएसम्म शव नबुझेने अडान आफन्तको छ।

प्रहरीले भने सातजना विद्यार्थीलाई नियन्त्रणमा लिएर अनुसन्धान सुरु गरेको जनाएको छ। ‘हामीले गम्भीर रुपमा अनुसन्धान गरिरहेका छौं’, जिल्ला प्रहरी कार्यालय गोरखाका डीएसपी महेन्द्र नेपालले भने, ‘सम्पूर्ण संयन्त्र प्रयोग गरिरहेका छौं। आशा गरौं छिट्टै सत्यतथ्या फेला पर्ला।’

घटना भएको दिन गत मंगलबारदेखि सो विद्यालय बन्द रहेको छ। ‘आउँदो आइतबारदेखि प्रथम त्रैमासिक परीक्षा छ। तर विद्यालय बन्द रहेको छ’, शिक्षक रोमबहादुर थापाले भने, ‘यो तालाबन्दीले झन् कतिदिन लम्बिने हो।’

अन्नपूर्ण पोष्ट