१३ बैशाख २०८१, बिहीबार
Follow Us

दिपक श्रेष्ठले एनआरएन इंग्ल्याण्ड राज्य परिषद अध्यक्षमा उम्मेदवारी दिने

नेपालब्रिटेन डट कम्
३० श्रावण २०७६, बिहीबार १९:३४

लण्डन । एनआरएन यूकेको इंग्ल्याण्ड राज्य समन्वय परिषदको अध्यक्ष पदमा बेलायतका चर्चित एनआरएन अभियन्ता दिपक श्रेष्ठले उम्मेदवारी दिने भएका छन् ।

आउँदो सेप्टेम्बर १४ मा हुने निर्वाचनबाट पहिलोपटक गठन हुन लागेको इंग्ल्याण्ड राज्य परिषदमा अध्यक्ष पदको लागि श्रेष्ठ उम्मेदवार बन्न लागेका हुन् ।

यसअघि एनआरएन यूके उपाध्यक्षमा उम्मेदवारी दिने चर्चा गरिएका श्रेष्ठ पछिल्लो समय उम्मेदवार नबन्ने मनस्थितिमा थिए । एनआरएन यूकेले हालै इंग्ल्याण्ड राज्य परिषदको समेत निर्वाचन गर्ने निर्णय गरेपछि भने उनले राज्य परिषदको अध्यक्षमा उम्मेदवारी दिन लागेका हुन् ।

‘म एनआरएनमा कुनै पद भन्दा पनि विशेष भुमिकाको खोजीमा थिएं । इंग्ल्याण्ड राज्यको अध्यक्षको रुपमा काम गरेर देखाउन धेरै ठाउँ छ भन्ने लाग्यो र उमेदवारी दिने निर्णय गरेको हुं’, श्रेष्ठले भने, ‘एनआरएन यूकेका अग्रज एवम मेरा सहकर्मी साथीभाईहरुले पनि मलाई राज्य परिषदकै नेतृत्वमा जान प्रेरित गर्नुभएको छ ।’

इंग्ल्याण्ड राज्यको अध्यक्षका रुपमा श्रेष्ठले एनआरएनलाई ग्रास रुटसम्म पुर्याउने, स्वस्र्फुत रुपमा संस्थाको सदस्यता लिने वातावरण निर्माण गर्ने, स्थानीय संघसंस्था र समुदायको भावना बुझ्ने, एनआरएनको औचित्य र महत्वबारे बुझाउने लगायतका कार्यलाई प्राथमिकतामा राखेर काम गर्ने प्रतिबद्धता गरेका छन् ।

एनआरएन यूकेको २०१३-१५ कार्यसमितिमा सदस्य एवम् २०१५-१७ मा कोषाध्यक्षको रुपमा श्रेष्ठले निभाएको प्रभावशाली भुमिकाको एनआरएन वृत्तमा अहिलेसम्म पनि चर्चा हुने गरेको छ ।
बेलायतका एकजना सफल युवा व्यवसायी उनी सामाजिक क्षेत्रमा समेत कहलिएका अभियन्ता हुन् । बुद्ध फाउण्डेसन यूकेका अध्यक्ष उनकै नेतृत्वमा अहिले १ करोड २५ लाख रुपियाको लगानीमा कपिलवस्तुमा बुद्ध वृद्धाश्रम निर्माणाधिन छ ।

श्रेष्ठकै अवधारणा र नेतृत्वमा लण्डनको ट्राफल स्क्वायरमा हरेक वर्ष बुद्धजयन्ती कार्यक्रम पनि आयोजना हुंदै आएको छ । उनी कपिलवस्तु समाज यूकेका संस्थापक अध्यक्ष हुन् ।

पशुपतिनाथ मन्दिर लण्डनमा ट्रस्टी एवम् एनआरएन यूके, अन्तर्राष्ट्रिय कलाकार समाज यूके, पासा पुच साउथ ईस्ट, प्रतिभा नक्षत्र यूके लगायतका बेलायतस्थित थुप्रै सामाजिक संघसंस्थामा उनी सल्लाहकार छन् ।