लन्डन । नेपाली कला, संस्कृति र भेषभूषा झल्काउने बेलायतको एउटा वृहत नेपाली मेला आउंदो आइतबार केम्पटन पार्क रेस कोर्समा हुने भएको छ । आयोजक तमुधिं यूकेले सातादिन अघि आइतबार कार्यक्रमस्थलमै पत्रकार सम्मेलन गरि तयारीबारे अवगत गराएको हो । मेलामा लन्डनस्थित नेपाली दूतावासको सहकार्य छ ।

मेलामा २८ संघसंस्थाले झांकी प्रदर्शन गर्ने, स्टेजमा विभिन्न ११ समूहका नाच प्रस्तुत, ६ वटा खाना स्टल र अन्य २५ व्यापारिक स्टल रहने मेला संयोजक जुमकाजी गुरुङले जानकारी दिए । युवाहरुका लागि २ घण्टा समय छुट्याइएको छ जहां उनीहरुले गीत संगीत प्रस्तुत गर्नेछन् ।

मेलामा उत्कृष्ट झांकी प्रस्तुत गर्ने समूहलाई ११ सय पाउण्डको एम्बासडर कप, तीनसय पाउण्डको एनआरएनए कप, ट्रफी, मेडल र प्रमाणपत्र दिइने आयोजकले जनाएका छन् । नृत्यमा उत्कृष्ट हुने पहिलो समूहलाई ५ सय पाउण्ड, झांकी र नृत्य प्रस्तुत गर्ने दुई समूहलाई सान्त्वना स्वरुप दुई दुई सय पाउण्ड दिइनेछ । राफल ड्रमा नेपाल रिटर्न टिकेट र एकतोला सुन राखिएको छ ।

मेलाको अनुमानित बजेट करिब ३५ हजार पाउण्ड छ । ३२ हजार आम्दानी हुने अपेक्षा गरिएकाले मेला घाटामा जाने अनुमान छ ।

तमुधिं यूकेले सन् २००९ देखि वर्षेनी लन्डनमा मेला गर्दै आएको छ । संयोजकले नेपाली कला, संस्कृति, भेषभूषा जोगाउन र विभिन्न समुदायलाई एकै ठाउंमा ल्याउने उद्देश्यले मेला गरिएको जनाए ।

मेलामा वयस्कका लागि प्रवेश शुल्क ५ पाउण्ड, १२ वर्ष मुनीका बालबालिकाका लागि तीन पाउण्ड, कार पार्क शुल्क ५ पाउण्ड र बस शुल्क १२ पाउण्ड तोकिएको छ ।

मेलामा गण्डक प्रदेशका मुख्यमन्त्री पृथ्वी सुब्बा गुरुङलाई प्रमुख अतिथीका रुपमा बोलाइएपनि भिजा कन्फर्म भइनसकेको संस्थाले जनाएको छ । अतिथी सत्कार संयोजक मेजर रि. कृष्ण गुरुंगले विशेष अतिथीहरु राजदूत डा. दुर्गाबहादुर सुवेदीसहित विभिन्न देशका राजदूत, कुटनीतिज्ञहरु गरि करिब तीन सय अतिथीको सहभागिता रहने अपेक्षा गरिएको बताए । मेलामा सुरक्षा र स्वास्थ्य सेवा प्रवन्ध हुने आयोजकले जनाएका छन् ।

पत्रकारहरुको जिज्ञासा मेटाउंदै अध्यक्ष नन्दजंग गुरुङले नेपाली मेला शुरु भएको ११ वर्षमा यसको उपलब्धि नेपाली कला, संस्कृति र भेषभूषा भावी सन्ततिमा हस्तान्तरण गर्न बल पुग्नु रहेको बताए । विभिन्न समुदायबीच अन्तरघुलन र विदेशी कुटनीतिज्ञहरुको उपस्थितिले नेपालबारे अन्तर्राष्ट्यि प्रचार प्रसार र पर्यटन प्रवर्धनमा सघाउ पुग्ने समेत अध्यक्षको विश्वास छ । उनले आफू संस्थाको नेतृत्वमा आएपछि बजेट कटौती गरिएको र यसको मारमा मिडिया पनि परेको उनले स्वीकारे ।


कार्यक्रममा वरिष्ठ उपाध्यक्ष हितकाजी गुरुङले स्वागत मन्तव्य व्यक्त गर्दै आफूहरु आउंदो साता केम्पटन पार्कलाई नेपालमय बनाउन आतुर रहेको बताए ।

मिडिया सेक्रेटरी रोहित गुरुङले सञ्चारकर्मीहरुको परिचय गराएका थिए भने अध्यक्षले सञ्चारकर्मीहरुलाई स्वागत सम्मान गरेका थिए ।

कार्यक्रममा आमा समूहकी सचिव यशोधा गुरुङले आमा समूहले काउन्टरमा टिकेट व्यवस्थापन गर्ने, सारीको एक स्टल राख्ने र संकलित रकम क्यान्सर पीडितलाई सहयोग गर्ने योजना रहेको जनाइन् ।

कतिपय सहभागीले वर्षेनी मेला घाटामा गइरहंदा आयोजनामा फरक रणनीति अपनाउन सुझाएका थिए ।
तस्वीर: शिव भण्डारी