१६ चैत्र २०८०, शुक्रबार
Follow Us

हाम्रो समाजवाद कम्युनिष्टहरुले भनेजस्तो हुँदैन : डा भट्टराई

नेपालब्रिटेन डट कम्
३२ श्रावण २०७६, शनिबार १६:१८

गोरखा-समाजवादी पार्टी नेपालका राष्ट्रिय परिषद् अध्यक्ष डा बाबुराम भट्टराईले आफ्नो पार्टीले देखेको समाजवाद कम्युनिष्टहरुले भनेजस्तो नहुने बताउनुभएको छ । नयाँ शक्ति पार्टी नेपाल र सङ्घीय समाजवादी फोरम नेपालको जिल्ला एकता घोषणासभामा शनिबार यहाँ आयोजित कार्यक्रममा उहाँले सो कुरा बताउनुभएको हो ।

‘हाम्रो समाजवाद पूँजीवादको टिको मात्र लगाउने खालको प्रजातान्त्रिक समाजवाद पनि होइन, उहाँले भन्नुभयो, “कम्युनिष्टहरुले भनेको जस्तो साम्यवादको खुड्किलो जस्तो समाजवाद पनि होइन”, अध्यक्ष डा भट्टराईले समाजवादी पार्टीले ल्याउने समाजवाद सर्वहारा वर्गको अधिनायकत्वको हुने खालको समाजवाद नभई फरक पहिचान हुने बताउनुभयो ।

उहाँले फरक पहिचान र चिन्तनसहितको समाजवाद निर्माणको बाटोमा पार्टी अघि बढेको उल्लेख गर्दै व्यक्तिगत पहिचान तथा सामूहिकतासहितको समाजवाद नै पार्टीको लक्ष्य रहेको उल्लेख गर्नुभयो ।

उहाँले विचारलाई कार्यान्वयन गर्ने आधार सङ्घीयता हो भन्दै यसले मात्र सवै वर्ग, क्षेत्र, लिङ्ग तथा उत्पीडित समुदायको पहिचान दिलाउने बताउनुभयो ।

पूर्वप्रधानमन्त्रीसमेत रहनुभएका सांसद डा भट्टराईले उत्पादन वृद्धिलाई जोड नदिएसम्म सुशासन कायम हुन नसक्ने विचार राख्नुभयो । उत्पादनमा वृद्धि भए मात्र सबै जनताको आर्थिक परिवर्तन हुनसक्ने भन्दै जो छ त्यही मात्र बाँडीचुडी खाने हो भने कहिल्यै आर्थिक समृद्धि हुन नसक्ने उहाँको भनाइ छ ।