माननीय मन्त्रीज्यू अभिवादन ।

 

माननीयज्यू,

नेपाली समाजमा एउटा किस्सा छ  ‘बूढी दसैंको कुरा गर न, खाए जस्तो हुन्छ।’

साँच्चै माननीयज्यू केही दिनदेखि सञ्चार माध्यमले तपाईंको नाम संस्कृति, पर्यटन तथा नागरिक उडड्यन मन्त्रीका रूपमा लिँदा मलाई त्यस्तै सुखद अनुभूति भएको छ।

माननीयज्यू,

मन्त्री हुनुभन्दा अगाडि तपाईंले राष्ट्र र नागरिकलाई केन्द्रमा राखेर गरेका भूमिकाहरूले तपाईंप्रतिको आशा र विश्वास नागरिक तहमा उच्च छ।

भनिन्छ, मानिसको ल्याकत र नियत अवसरमा रहँदा परीक्षण गर्न सकिन्छ।

मलाई आशा मात्र होइन तपाईंप्रति भरोसा छ। अधिकांश राजनीतिज्ञहरूमा प्रतिवद्धता र व्यवहारबीच दसौं कोसको दूरी रहने प्रवृत्तिको अनुभूति गरिरहेका नागरिकलाई  सुधार भएको अनुभूति दिलाउनु हुनेछ।

माननीयज्यू,

तपाईं काम र कर्मलाई महत्व दिने मान्छे।  मैले यस पत्रमार्फत् तपाईंले नेतृत्व गरेको मन्त्रालयले सम्पादन गर्नुपर्ने कार्यहरूसँग जोडिएर केही सवालहरू राखेको छु।

मलाई थाहा छ ‘सूर्यलाई बत्ती देखाउन पर्दैन’। मैले तपाईंलाई सिकाउने धृष्टता कदापी राखेको छैन। र राख्ने पनि छैन। एउटा नागरिकको तहबाट बुझेको बुझाइ र अपेक्षा राखेको छु। आशा छ सोही रूपमा ग्रहण गरिदिनु हुनेछ।

माननीयज्यू,

पर्यटन गतिशील र तीव्र रूपमा विकास भएको एक अत्यन्तै प्रतिस्पर्धी क्षेत्र हो। पर्यटनले गरिबी निवारण, रोजगारी सृजना, वैदेशिक मुद्रा आर्जन र राष्ट्रिय पहिचान राख्न मद्धत पुर्‍याउँछ।

नेपाल विश्वकै एक प्रमुख पर्यटकीय गन्तव्य हो। विश्व सम्पदा सूचीमा समावेश भएका तथा अन्य अनुपम र अद्धितीय प्राकृतिक, साँस्कृतिक र मनोरञ्जनात्मक सम्पदाहरू प्रमुख पर्यटकीय आकर्षण हुन्।

नेपालकको संविधानले पर्यटनसम्बन्धी नीति तय गरेको छ। पर्यटन क्षेत्रको विकासका लागि उपयुक्त कानुनी प्रबन्ध तथा आवश्यक वातावरण निर्माण गरी पर्यटन क्षेत्रको लाभ स्थानीय जनता समक्ष पुर्‍याउने लक्ष्य संविधान, आवधिक योजना तथा वार्षिक कार्यक्रममार्फत् लिइएको छ।

नेपालमा पर्यटनको अपार सम्भावना हुँदाहुँदै पनि दक्षिण एसियामा आगमन हुने पर्यटकहरूको कूल सङ्ख्या र पर्यटकबाट हुने लाभको हिस्सा नेपालले एकदमै कम पाउने गरेको छ।

पर्यटन प्रतिस्पर्धात्मक मानकमा नेपाल १०३ औं स्थानमा छ, जबकी भारत ४० औं, श्रीलंका ६४ औं, भुटान ७८ औं स्थानमा छन्। पाकिस्तान १२४ औं र बंगलादेश १२५ औं स्थानमा छन्।

लागानी योग्य व्यवसायिक वातावरणको मानकमा नेपाल भारत, भुटान र श्रीलंका भन्दा पछि छ।

माननीयज्यू,

यसै यथार्थताको आलोकमा नेपालको पर्यटन क्षेत्रको विकासको अवस्था र सुधारका लागि गरिनु पर्ने प्रयत्नका विषयमा नागरिकको तहबाट निम्न सावलहरू तपाईं समक्ष राख्न चाहन्छु।

पर्यटन क्षेत्रको योगदान अपेक्षाकृत छैन

पर्यटन क्षेत्रले समाजमा आर्थिक, सामाजिक, साँस्कृतिक, मनोवैज्ञानिक जस्ता बहुआयामिक क्षेत्रमा प्रभाव पार्ने गर्दछ।

नेपालमा पर्यटन क्षेत्रले कूल रोजगारीको ३.२ प्रतिशत रोजगारी ( प्रत्यक्ष तथा अप्रत्यक्ष) सृजना गरेको छ।

जिडिपीमा पर्यटन क्षेत्रको प्रत्यक्ष योगदान केबल  २.६ प्रतिशत रहेको छ, जुन विगतको भन्दा घट्दो अवस्था हो। वर्तमान अवस्थालाई हेर्दा विदेशी मुद्रा आर्जन र शोधान्तर घाटा पूर्तिमा पर्यटनले खासै उल्लेखनीय योगदान गर्न नसकेको देखिन्छ।

समग्रमा नेपाली अर्थतन्त्रमा पर्यटनको उल्लेख्य योगदान नरहेको देखिन्छ। तर भारतमा पर्यटन क्षेत्रले जिडिपीमा ६.८८ प्रतिशत र १२ प्रतिशतले रोजगार क्षेत्रमा योगदान पुर्‍याएको छ।

पर्यटकका रूपमा आउने व्यक्तिहरूबाट नेपाली समाजले के कति सभ्यता र संस्कार सिक्न सक्यो त्यो अध्ययनको विषय हो। तर पर्यटकका रूपमा आउने कतिपय व्यक्तिहरू पर्यटन कर्ममा होइन अपराध कर्ममा  संलग्न रहेको तथ्य पनि यदाकदा अखबारहरूमा सुन्न र पढ्न पाइन्छ।

त्यसैले पर्यटनको फल सही रूपमा लिनका लागि पर्यटनलाई बहुआयामिक ढंगबाट सञ्चालन, व्यवस्थापन, नियन्त्रण र सवलीकरण गर्न जरूरी देखिन्छ।

कम खर्चिला पर्यटक,  थोरै दिनको बसाइँ

सन् २०१७ मा नेपालमा प्रतिपर्यटक औसत १२.६ दिनको बसाइँ अवधि रहेको थियो भने प्रतिदिन प्रति पर्यटक खर्च ५४ अमेरिकी डलर रहेको थियो।

पछिल्लो वर्ष यो ४४ डलरमा झरेको छ। नेपालको प्रतिपर्यटक/प्रतिदिन खर्च निकै कम छ। नेपालको पर्यटन संस्कृति र प्रकृतिमा आधारित भएकोले कम खर्चमा यात्रा गर्न रुचाउने, सीमित बजेट भएकालाई आकर्षित गर्ने गरेको पाइन्छ।

उच्च स्तरीय सेवा र सुविधाहरूमा लगानी र उपलब्धतामा जोड दिँदै सघन रूपमा बजारीकीकरण गर्न सक्दा बढी खर्च गर्न सक्ने धनाढ्य पर्यटकहरूको आगमन  बढाउन सकिन्छ।

खोजकर्ता, साहसिक खेल मन पराउने, विशेष रुची भएका र माइस ( मिटिङ, इन्सेन्टिभ, कन्फरेन्स, एक्जिबिसन) का लागि आउने पर्यटकले तीर्थाटनमा आउनेले भन्दा बढी खर्च गर्ने गरेको तथ्य रिपोर्टहरूले देखाएका छन्।

तसर्थ: हाम्रो अबको रणनीति भनेको पर्यटक आगमनमा वृद्धि गर्नुका साथै उनीहरूको बसाइँ लम्बाउने र प्रति पर्यटक खर्च बढाउने हुनुपर्दछ। सारमा भन्दा ‘उच्च मूल्य लामो अवधि’ का पर्यटक हाम्रो लक्ष्य हुनु पर्दछ।

पर्यटकको चाहनाः हाम्रो अवस्था

१.सुरक्षा : स्वतन्त्रतापूर्वक निर्धक्क घुमफिर गर्न पाउने वातावरण, गन्तव्यको सुरक्षित छवि पर्यटकको प्रधान अपेक्षा हो। भूकम्प लगायतका प्राकृतिक प्रकोप तथा कुनै पनि किसिमको अप्ठ्यारो पर्दा भरपर्दो उद्धार र सुरक्षाको व्यवस्थाका विषयमा हामीले पर्यटकको विश्वास जित्ने गरी वातावरण निर्माण गर्न सकेका छैनौं।सुरक्षा र उद्धारको भरपर्दो प्रवन्ध मिलाउन थप कसिलो प्रयत्न आवश्यक छ

२.पर्यटकीय मौलिक विशेषता : पर्यटकहरू औषत अनुभवका लागि होइन विशिष्ट अनुभव लिनका लागि घुम्न आउने हुन्। हामीले हाम्रा अदभूत पर्यटकीय सम्भावनाहरू (विशेष गरी हिमालहरु र वुद्धको जन्म भलो लुम्बिनी) लाई पनि पर्यटकमैत्री ढंगबाट व्यवस्थापन गर्न सकेका छैनौं।

त्यसैले हामीले पर्यटकलाई मन पर्ने ढंगबाट हाम्रा ऐतिहासिक धरोहर, साँस्कृतिक–परम्परा, प्राकृतिक सौन्दर्यता, आतिथ्यता –सत्कार, साहसिक गतिविधि र खेलहरू एवम् नौला अवलोकनका अवसरहरू व्यवस्थित गर्न सक्नु पर्दछ।

३. पूर्वाधार : सहज र सस्तो हवाई सेवा तथा सडक यातायात, सूचना-प्रविधि, आवास, स्वच्छ पिउने पानी, विद्युत आपूर्ति, फोहोरमैला व्यवस्थापन जस्ता पूर्वाधार पर्यटकको पहिलो रोजाइमा पर्दछन्। तर नेपाल वायुसेवासँग तीन वटा मात्र वाइड बडी विमान चालू अवस्थामा छन्।

एक मात्र त्रिभुवन अन्तर्राष्ट्रिय विमान स्थललाई थप विस्तार गरी सुविधा बढाउन नसकिने अवस्था रहेकोले बुटिक विमानस्थलको रूपमा विकास गर्ने कार्य भइरहेको छ। केबल सुन्दरता मात्र थप्न सकिने अवस्थामा यो विमानस्थल रहेको छ। निर्माणाधीन गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल सन् २०१९ सम्ममा सम्पन्न गर्न नसक्ने हो भने नेपाल भ्रमण वर्ष २०२० ले अपेक्षित प्रतिफल दिन मुश्किल देखिन्छ।

हाम्रा बाटाघाटा र अन्य सार्वजनिक स्थलको त कुरै छोडौं विश्व सम्पदा सूचीमा परेका धरोहरहरूमा पनि सरसफाइको अवस्था दयनीय देखिन्छ। छिमेकी राष्ट्र चिनले सगरमाथाको चीन तर्फबाट देखिने भागलाई नजिकबाट अवलोकन गर्न अत्याधुनिक रेल सगरमाथाको काखैसम्म पुर्‍याउने तयारी गरिसकेको छ।

यसरी अन्य देशले गरेको पर्यटनमैत्री पूर्वाधार विकास कार्यबाट हामीले पनि पाठ सिकेनौं भने पर्यटनबाट आर्थिक समृद्धि गर्ने अपेक्षा सपना मात्र हुनेछ।

४. सहयोगी व्यवहार  र प्रवन्ध : स्वास्थ्य र उद्धार सेवाको भरपर्दो प्रबन्ध, आतिथ्यता,सेवाको स्तर, आवास, भोजन, बैंकिङ सेवा, उद्धार कार्य, सूचना केन्द्र, आइसिटी सेवा, पथ प्रदर्शन, मनोरञ्जन क्रियाकलाप आदि सेवा र अवसरहरू पर्यटकको पहिलो रोजाइ हुन्छ।

हामीले सदा बिर्सन नहुने कुरा के छ भने नेपाल बसाइँको क्रममा पर्यटकको मन चिसिनु हुँदैन, निराश हुनु दिनु हुँदैन।

पर्यटकको फेक उद्धार प्रकरणबाट पाठ सिक्दै आउने दिनमा त्यो गल्ती दोहोरिन नदिने गरी नियमन तथा व्यवस्थापन गरिनु अत्यावश्यक छ। योग्य पथ प्रदर्शकको उपलब्धता, वित्तीय सेवा, पर्यटन सूचना प्रणाली, स्वथ्यकर खाना र आवासको प्रबन्ध, नेपाली संस्कारसँग जोडिएको आथित्यता जस्ता विषयमा सघन रूपमा नै सुधारको खाँचो देखिन्छ।

विगतको पर्यटन वर्षहरूले दिएको शिक्षा :

विगतमा भएका दुइटा पर्यटन वर्षहरूमा अघिल्लो वर्षको तुलनामा पर्यटन वर्षमा उल्लेख्य पर्यटक नेपाल आएनन्। पहिलो र दोस्रो पर्यटन वर्ष क्रमश सन् १९९८ र २०११ मा पर्यटकको आगमन वृद्धिदर क्रमश १० र २२ प्रतिशत मात्र थियो।

पर्यटन वर्ष पछिका वर्षहरूमा पहिलो वर्ष केही संख्यामा पर्यटक बढे पनि त्यस पछिका ३/४ वर्षहरूमा पर्यटक आगमन वृद्धिदर ऋणात्मक रह्यो।

यो तथ्यबाट सूक्ष्म रूपमा मनन गर्नुपर्ने पक्ष के रह्यो भने पर्यटन वर्षहरू देखावटी मात्र भए कि ? आएका पर्यटकको मन जित्न नसक्नाले उनीहरूबाट नेपालका विषयमा सकारात्मक सन्देश प्रवाह भएन कि ? पर्यटन वर्ष पछिका वर्षहरूमा पर्यटन क्षेत्र विकासका लागि राज्य सम्वद्ध निकाय र पदाधिकारीको सक्रियता सुस्तायो कि ? यी सवालहरूमा वस्तुगत रूपमा अध्ययन गरी पहिचान गरिएका समस्याहरूको समाधानमा नलाग्ने हो भने पर्यटन वर्षका श्रृंखलाहरू लम्बिने छन् तर पर्यटन क्षेत्रले आशातित प्रगती गर्ने छैन।

पर्यटन शिर्षकमा आएको भन्दा गएको पैसा बढी :

विदेश भ्रमण गर्ने नेपालीको संख्या उच्च दरले बढेको र यसबाट धेरै विदेशी मुद्रा बाहिरिएको तथ्यांकले हामी झस्किनु पर्ने अवस्था छ।

गत आर्थिक वर्षमा पर्यटनबाट नेपालले कुल रु.६७ अर्ब ९ करोड ४६ लाख आम्दानी गरेको थियो भने नेपालीहरूले विदेश भ्रमणमा कुल रु.७९ अर्ब ५९ करोड ६५ लाख खर्च गरेका थिए।

यसरी पर्यटनको वासलातमा नेपालले कुल रु.१५ अर्ब ५० करोड १९ लाख घाटा व्यहोरेको देखिन्छ। विदेश भ्रमणमा खर्च गर्ने पैसा नेपालमा नै राख्ने गरी आन्तरिक पर्यटनलाई प्रवर्द्धन गर्न अत्यावश्यक छ। अन्यथा पर्यटनका लागि हामीले श्रम, समय र पुँजी खर्च गरेको सार्थक हुनेछैन।

माननीयज्यू

संघीय व्यवस्था अनुसार विन्यास भएको शक्ति, स्रोत, अधिकार र जिम्मेवारीको परिधिभित्र रही तत-तत तह र निकायले पर्यटन विकासमा लाग्नु पर्दछ होला।

पर्यटन क्षेत्रलाई दीगो, मौलिक र सार्थक बनाउन हाम्रा पर्यटकीय समस्याहरूलाई समाधान गर्दै संभावना तथा अवसरहरूलाई संरक्षण, संवर्द्धन र विकास गर्न आवश्यक छ।

स्थानीय निकायलाई पर्यटन विकासका सन्दर्भमा बढी भन्दा बढी सचेत, सक्षम, जागरूक र क्रियाशील नबनाउँदासम्म अपेक्षित प्रतिफल सम्भव छैन भन्ने लाग्दछ।

ग्रामीण पर्यटनलाई प्रवर्द्धन गर्ने गरी (घरबास ( होम स्टे) जस्ता पर्यटकीय क्रियाकलापको प्रवर्द्धन गर्न कत्ति पनि विलम्ब गर्न हुँदैन ।  आन्तरिक तथा बाहृय पर्यटकहरू आकर्षित हुनेगरी पर्यटन प्रवर्द्धन गर्न नेपालको आफ्नै आकर्षक ब्राण्डहरू निर्माण गर्न आवश्यक छ। हाम्रा नौला स्थान, नौला क्रियाकलाप, नौला अनुभूतिप्रति पर्यटकलाई आकर्षित गर्न बजार प्रवर्द्धनका रणनीतिलाई आधुनिक पद्धतितर्फ लैजानु पर्ने देखिन्छ।

विश्वासिला सञ्चार साझेदारहरूको पहिचान र परिचालन गरी गन्तव्यहरूका बारेमा नयाँ र ताजा जानकारी दिने तथा नेपालका प्राकृतिक सामिप्यता, साँस्कृतिक सत्यता, आत्मीय सुख र सामाजिक मेल जस्ता उत्साहप्रद मूल्यहरूलाई पर्यटनसँग कसिलोसँग जोड्न पनि जरूरी देखिन्छ।

पर्यटन बहुसरोकारवालाहरूको अन्तरसम्बन्धबाट चल्ने क्षेत्र हो। त्यसैले पर्यटनको प्रवर्द्धन र विकासको लागि सरकारी, गैर सरकारी, निजी तथा साझेदारीको प्रयास आवश्यक छ।

स्थानीय , प्रदेश र संघीय सरकार तथा निजी क्षेत्रको पूर्ण सहयोगसहित पर्यटनमा गुणस्तर मापदण्डको विकास गरी इमान्दार कार्यान्वयन गर्न आवश्यक देखिन्छ।

संस्थागत संरचना, नीतिगत व्यवस्था, व्यवस्थापन प्रणाली एवम् समन्वय र नियमन पद्धतिमा सुधार गर्दै पर्याप्त सहकार्य र उपयुक्त गृहकार्यको साथमा अगाडि बढ्नु हुनेछ र ‘समृद्ध नेपाल, सुखी नेपाली’ को लक्ष्य प्राप्तिमा पर्यटन क्षेत्रले महत्वपूर्ण योगदान पुर्‍याउन सक्ने कुरामा तपाईंको नेतृत्व सफल हुनेछ भन्ने विश्वास लिएको छु।

अन्त्यमा

माननीयज्यू

पत्र लेखनमा मेरो ढंग नपुग्दा वर्णात्मक ठाडा हरफहरूले हजुरलाई पक्कै पनि झन्झट लाग्यो होला। क्रियापदहरूको संयोजन गर्न नजान्दा कहीँकतै गल्ती भए होलान्। मलाई आशा छ पत्रको लयात्मकतालाई भन्दा मर्मलाई आत्मसाथ गरिदिनुहुनेछ।

भनिन्छ, प्रेम र भोक लुकाएर लुक्दैन। तपाईंको क्षमताले गर्न सक्ने कार्यहरूलाई बढो लोभपूर्वक नियाल्दै तपाईंको सफल कार्यकालपछि पुन: अर्को पत्र लेख्ने लोभ समेत राखेको छु। सफल कार्यकालको तपाईंलाई हार्दिक शुमकामना।

 

उही

प्रतिनिधि नेपाली

सेतोपाटी