१२ बैशाख २०८१, बुधबार
Follow Us

कांग्रेस नेतृ सुजातालाई क्यान्सरको आशंका

नेपालब्रिटेन डट कम्
२० कार्तिक २०७३, शनिबार १२:४४

काठमाडौं । नेपाली कांग्रेसकी नेतृ सुजाता कोइरालालाई क्यान्सर भएको आशंका गरिएको छ । पूर्व उपप्रधानमन्त्री समेत रहेकी उनी एक महिना लामो मलेसिया भ्रमणबाट २६ अक्टोबरमा नेपाल फर्किएपछि घरमै आराम गरिरहेकी छन्। कोइरालाले परिवारका सदस्य र सहयोगी बाहेक अन्यसँग भेटघाट र टेलिफोनमा समेत कुरा गरेकी छैनन् । एसियाली महिलाहरुको सञ्जाल (आइक्याप) को सम्मेलनमा सहभागी हुन मलेसिया पुगेकी कोइराला त्यहीँ अस्वस्थ भएकी थिइन्। उनलाई क्यान्सर भएको आशंकामा नमुना परीक्षणका लागि सिंगापुर पठाइएको छ । ‘विस्तृत स्वास्थ्य परीक्षण रिपोर्ट आइसकेको छैन, तर प्रारम्भिक रिपोर्ट अनुसार उहाँलाई क्यान्सर भएको आशंका गरिएको छ ।
मलेसियाको एक मेडिकलमा स्वास्थ्य परीक्षणका क्रममा उक्त मेडिकलले कोइरालालाई क्यान्सर भएको प्रारम्भिक रिपोर्ट दिएको हो । उनलाई क्यान्सर भएको आशंका गरिएपनि के को क्यान्सरको लक्षण भन्ने खुलेको छैन। नमुना परीक्षणपछि आइतबार बेलुकीसम्ममा रिपोर्ट आउने बताइएको छ ।
कोइरालाले नेपाल फर्किएपछि आफ्नो उपचारका लागि सरकारसँग सहयोग माग गरेकी छन् । उनले आफूलाई क्यान्सर भएको उल्लेख गर्दै सरकारसँग एक करोड माग गरेकी गृह मन्त्रालय श्रोतले जानकारी दिएको छ । कोइरालाका सहयोगीले पनि सरकारसँग सहयोग माग गरिएको पुष्टी गरेका छन् ।