१३ बैशाख २०८१, बिहीबार
Follow Us

‘चिहानको हड्डी फुकेर कुनै संस्था फर्किन्न’

नेपालब्रिटेन डट कम्
२ भाद्र २०७६, सोमबार ०३:०६

काठमाडौँ। प्रधानमन्त्री केपी शर्मा ओलीले सङ्घीय लोकतान्त्रिक गणतन्त्रको नयाँ अभ्यास पूर्ण र परिपक्व रूपमा कार्यान्वयनमा नआउँदै कतिपय अवाञ्छित तत्वहरू कमजोर बनाउन सक्रिय रहेको बताउनुभएको छ । प्रतिनिधिसभामा विशेष समय लिएर सम्बोधन गर्दै उहाँले संविधानसम्मत र संवैधानिक दायराका विषयलाई सरकारले सम्मान गरे पनि प्रणाली उल्ट्याउँछु भन्ने विषय सरकारलाई मान्य नहुने बताउनुभएको हो ।
प्रणाली उल्ट्याउने सपना देख्ने तत्व सफल नहुने प्रधानमन्त्रीले स्पष्ट पार्नुभयो । केही प्रतिगामी तत्व सडकमा आउँदैमा सरकार जिम्मेवारीबाट नभाग्ने पनि उहाँले बताउनुभयो । उहाँले भन्नुभयो, “जुन संस्था र शक्तिहरूको कुरा गर्छन् मानिसहरू, ती शक्तिहरू ज्यूँदै हुँदा हामीले ठेगान लगाएका हौँ । अहिले चिहानमा गएर हड्डी फुकेर त्यो संस्था फर्काउँछु भनेर परिकल्पना गरेर उफ्रिएको देखिन्छ । बेमौसमको यो बाजा नबजाए हुन्थ्यो । सरकारले यो उदारता देखाएको नपत्याएर हो । पत्याएका दिन संविधानको, प्रणालीको, व्यवस्थाको, लोकतन्त्रको र गणतन्त्रको रक्षाका लागि सरकार मैदानमा उत्रिन्छ । त्यसको रक्षा र कार्यान्वयन गर्छ । जनताले दिएको म्यान्डेट यही हो ।”
सम्बोधनमा प्रधानमन्त्री ओलीले सरकारको उदारता र संयमतालाई हेरेर केही तत्व बढ्तै हौसिएको टिप्पणी गर्नुभयो । गोरखापत्र दैनिकमा खबर छ ।