७ बैशाख २०८१, शुक्रबार
Follow Us

वैदेशिक रोजगारीमा ९६ करोड ठगी

नेपालब्रिटेन डट कम्
२ भाद्र २०७६, सोमबार ०३:३०

काठमाडौं – वैदेशिक रोजगारीमा गत आर्थिक वर्ष ९६ करोड रुपैयाँ ठगी भएको छ। वैदेशिक रोजगार विभागका अनुसार आव २०७५/०७६ मा ९५ करोड ८४ लाख ठगी भएको हो। अघिल्लो आवमा डेढ अर्ब ठगी भएको थियो।

व्यक्तिगततर्फ ५६ करोड २१ लाख र संस्थागततर्फ ३९ करोड ६३ लाख ठगी भएको छ। ठगी बढ्दै गएपछि नियन्त्रण गर्न सरकारले अनुगमन संयन्त्र प्रभावकारी बनाउने भएको छ। वैदेशिक रोजगारीमा ठगी नियन्त्रण गर्न सरकारले विगतदेखि नै पहल थाले पनि सफल हुन सकेको छैन।

वैदेशिक रोजगार विभागका अनुसार गत आवमा ठगीमा परेको भन्दै दुई हजारभन्दा बढी उजुरी परेका छन्। विभाग स्रोतका अनुसार दुई हजार ७९ उजुरीमा ९६ करोड रुपैयाँ ठगीको दाबी गरिएको हो। यसमा व्यक्तिगतभन्दा म्यानपावर व्यवसायीबाट (संस्थागत उजुरी) ठगिने बढी छन्। विभागका अनुसार संस्थागत उजुरी एक हजार दुई सय ६३ छन्। व्यक्तिगततर्फ आठ सय १९ उजुरी दर्ता भएका छन्।

वैदेशिक रोजगार विभागका महानिर्देशक डा.भीष्मकुमार भुसालले उजुरीको संख्या संस्थागतमा धेरै देखिए पनि व्यक्तिगतमा बढी रकम ठगी भएको जानकारी दिए। ‘पछिल्लो समय अनुगमन प्रभावकारी बनाउँदै लगेका छौं’, उनले भने। म्यानपावर व्यवसायीले कामदारलाई बढी शुल्क लिने, रोजगारदाताले भने बमोजिम पारि श्रमिक नदिने, पैसा लिने तर विदेश नपठाउनेलगायत ठगी गर्दै आएका छन्। अन्नपूर्ण पाेस्टमा खबर छ ।