१६ चैत्र २०८०, शुक्रबार
Follow Us

काश्मिरबारे भारत र पाकिस्तानी प्रधानमन्त्रीसँग ट्रम्पको फोनवार्ता

नेपालब्रिटेन डट कम्
३ भाद्र २०७६, मंगलवार ०८:२९

वासिङ्टन – अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले काश्मिर विवादबारे भारत र पाकिस्तानका प्रधानमन्त्रीसँग छुट्टा छुट्टै कुराकानी गर्नुभएको छ ।

राष्ट्रपति ट्रम्पले सामाजिक सञ्जाल ट्वीटर मार्फत् फोनमा दुवै देशका प्रधानमन्त्रीसँग आफूले कुरा गरेको बताउनुभएको छ । उहाँले ट्वीटमा भन्नुभएको छ, “मैले मेरा दुई असल साथी भारतका प्रधानमन्त्री नरेन्द्र मोदी र पाकिस्तानका प्रधानमन्त्री इमरान खानसँग कुराकानी गरेको छु ।”

व्यापार, रणनीतिक साझेदारी, भारत र पाकिस्तानको सहकार्यलगायतका विषयमा पनि कुराकानी भएको ट्रम्पले उल्लेख गर्नुभएको छ ।

काश्मिर मामिलामा परिस्थिति नराम्रो भएपनि वार्ता निकै राम्रो भएको राष्ट्रपति ट्रम्पले जानकारी दिनुभएको छ ।

यही अगस्ट ५ तारिखका दिन भारत सरकारले संविधानको धारा ३७० खारेज गरेर जम्मु काश्मिरलाई दिइएको विशेष अधिकार समाप्त गरेको थियो । भारत सरकारले जम्मु काश्मिरलाई केन्द्र शासित प्रदेश तथा जम्मु काश्मिरबाट लद्दाख क्षेत्रलाई अलग गरी अर्को केन्द्र शासित प्रदेश बनाएको थियो ।

भारत सरकारको उक्त घोषणापछि भारत र पाकिस्तानकाबीचमा फेरि सम्बन्ध चिसिएको छ भने विश्व समुदायले पनि चासोका साथ हेरेको छ ।