११ बैशाख २०८१, मंगलवार
Follow Us

कथित त्रिपक्षीय वार्ता मान्दैनौ : गेसो

नेपालब्रिटेन डट कम्
२० कार्तिक २०७३, शनिबार १४:१७

लन्डन । भूपूगोर्खा समस्या समाधानका लागि हुने भनिएको त्रिपक्षीय वार्तामा बस्न भूपूगोर्खाहरुको एउटा घटक गोर्खा भूतपूर्व सैनिक संघ (गेसो) ले अस्वीकार गरेको छ । नेपाल सरकार, भूपूगोर्खा र बेलायत सरकारबीच हुने भनिएको वार्तामा आफूहरुलाई विश्वास नभएको भन्दै गेसोले वार्तामा बस्न अस्वीकार गरेको हो । शनिवार अल्डरशटमा आयोजित पत्रकार सम्मेलनमा गेसो अध्यक्ष कृष्णकुमार राईले सन् १९४७ मा भएको नेपाल भारत र बेलायतबीच भएको त्रिपक्षीय सन्धिलाई आधार बनाएर हुने वार्ता आफूहरुलाई मान्य नहुने बताए ।

अध्यक्ष राईले त्रिपक्षीय वार्ताका नाममा समाजमा भ्रम फैलाएको उनले आरोप लगाए । गेसोले त्रिपक्षीय वार्तासम्बन्धी छलफलमा सम्पूर्ण जानकारीसमेत नदिएर बेलायतका लागि नेपाली राजदूत दुर्गाबहादुर सुवेदीले सूचना लुकाएको आरोपसमेत लगाएकाे छ ।

अगामी दिनमा दुई पक्षीय वार्ता वा नेपाल र बेलायतबीच नयाँ सन्धी हुनु पर्नेमा गेसोको जोड थियो । अध्यक्ष राईले कथाकथित त्रिपक्षीय वार्ताप्रति कुनै पनि विश्वास नभएको बताए । गेसो सल्लाहाकार डा. चन्द्र गुरुङले भारत नेपाल र बेलायतबीचको पुरानो सन्धीलाई बेलायतको अदालतले खारेज गरिसकेकाले त्यसको औचित्य समाप्त भएको दावी गरे ।

यसअघि बेलायतस्थित नेपाली दूतावासले एक विज्ञप्ति जारी गर्दै २ सय बर्षदेखिको भूपूगोर्खासम्बन्धी समस्यालाई वार्ताको माध्यमबाट टुंगोमा पु¥याउने नेपाल सरकारको प्रस्तावमा बेलायत सकरात्मक भएको जनाएको थियो । नेपाली दूतावास लन्डनका अनुसार बेलायत सरकारले त्रिपक्षीय वार्ताको सहजीकरणका लागि बेलायतका लागि नेपाली राजदूत दुर्गाबहादुर सुवेदीलाई आग्रह गरेको थियो ।