७ बैशाख २०८१, शुक्रबार
Follow Us

‘सरकार अधिनायकवादतर्फ उन्मुख छ, भारतसँग कुरा गर्दा राष्ट्रिय स्वार्थलाई केन्द्रमा राख्नुपर्छ’

sarusaru
४ भाद्र २०७६, बुधबार ०१:५५

काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका केन्द्रीय सदस्य मोहनबहादुर बस्नेतले वर्तमान सरकार अधिनायकवादतर्फ उन्मुख हुन लागेको आरोप लगाएका छन्।

मंगलबार रिपोर्टर्स क्लब नेपालले आयोजना गरेको विशेष साक्षात्कारमा बोल्दै उनले यस्तो आरोप लगाएका हुन्। सरकारले मिडिया काउन्सिल विधेयक पनि प्रेसविरोधी ल्याउन लागेको बस्नेतको आरोप थियो।

क्लबका उपाध्यक्ष बैकुण्ठ ढुंगानाको सभापतित्वमा आयोजित साक्षात्कारमा बोल्दै उनले मिडिया काउन्सिल विधेयक ल्याएर प्रेस जगतलाई नै समाप्त पार्न लागेको आरोप लगाए। विश्वबाट लोप हुदै गएको कम्युनिष्ट नेपालमा दुई तिहाईको सरकार बनाउन सफल भएपछि अधिनायकबादतिर उन्मुख हुन लागेको उनको आरोप थियो।

उनले कांग्रेसको महाधिवेशन आएको बेलामा सरकारले दुई तिहाईको मतमा ज्यादती गरेको आरोप लगाए। उनले भने, ‘हामीले संघीय संविधानलाई स्वीकारेका छौं। प्रधानमन्त्रीले सुरक्षा परिषद गठन गरेर प्रशासनलाई आफ्नो नियन्त्रणमा लिन खोज्नुभयो। मिडिया काउन्सिल विधेयकमार्फत पत्रकारहरुलाई विभिन्न आरोप लगाएर १० वर्षसम्म जेल सजाय दिन खोजिएको छ।’ सरकारले संविधानको आडमा बसेर त्यसलाई भत्काउने काम गरेको समेत उनले आरोप लगाए।

मुलुक संघीय संरचनाअनुसार अघि बढिसकेकोले अब कांग्रेस पनि सोही मर्म र भावानाअनुसार अगाडि बढ्ने उनले विश्वास दिलाए। उनले पार्टीको संरचनालाई स्थानीय, प्रदेश र संघ गरी तीनै तहमा संगठनलाई सुदृढिकरण गर्ने प्रस्ट पारे।

नेपाली कांग्रेसले देशभर राष्ट्रिय जागरण अभियान सञ्चालन गरेको बताए। त्यस्तै उनले आगामी २०७७ फागुनसम्ममा पार्टीको महाधिवेशन गरिसक्ने पनि ठोकुवा गरे। उनले पार्टीले प्रतिपक्षको भूमिका राम्रोसँग निर्वाह गर्न जानेको बताए।

उनले यही भदौ २४ गतेबाट पार्टीले दोस्रो चरणको जागरण अभियान सञ्चालन गर्ने पनि जानकारी दिए। उनकाअनुसार सरकारले गरेका सबैखाले गलत कामकारकाहीलाई जनतासामू सुसुचित गर्नको लागि पनि यो अभियान महत्वपूर्ण साबित हुन्छ।

बस्नेतले मुलुकले अब कुनैपनि प्रकारको द्वन्द्व पचाउन नसक्ने धारणा राखे। मुलुकमा यतिवेला आर्थिक अराजकता सुरु भएको उनको टिप्पणी थियो। जनताले चाहेअनुसार निर्णायक भूमिका निर्वाह गर्ने एकमात्रै पार्टी नेपाली कांग्रेस भएको जनाउँदै उनले आगामी निर्वाचनमा विजयी हाँसिल गर्ने विश्वास दिलाए।

फरक प्रसँगमा उनले भारतीय विदेशमन्त्री एस. जयशंकरको नेपाल भ्रमणबारे टिप्पणी गर्दै नेपाल–भारत द्धिपक्षीय सम्बन्ध सुमधुर र प्रगाढ बनाउनुपर्नेमा जोड दिए। नेपालको राष्ट्रिय झण्डाले झुक्न नपर्नेगरि राष्ट्रिय स्वार्थलाई केन्द्रविन्दुमा राखेर अघि बढ्नुपर्ने उनको सुझाव छ। बस्नेतले ‘साथी फेर्न सकिने तर छिमेकी’ फेर्न नसकिने बताए।

मित्र राष्ट्रसँग सम्बन्ध राख्दा मेरो सरकार ढल्छ वा मेरो पद जान्छ कि भन्ने हिसावले सम्बन्ध नराख्न पनि उनले सुझाव दिए। छिमेकी कमजोर भयो भने अर्को छिमेकीलाई पनि असर पर्नेतर्फ उनले ध्यानाकार्षण गराए। उनले भने, ‘हामी असल छिमेकी भएर अघि बढ्नुपर्छ।’

डिसी नेपाल