१४ बैशाख २०८१, शुक्रबार
Follow Us

नेपालको चाहना ओलीलाई एक पद मात्रै

नेपालब्रिटेन डट कम्
४ भाद्र २०७६, बुधबार ०२:४७

काठमाडौँ – नेकपाका वरिष्ठ नेता माधव नेपालले पार्टीका पछिल्ला निर्णयमा असहमति जनाउँदै अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीको अधिकार कटौती गर्नुपर्ने खालको मत जाहेर गरेका छन् ।

७ बुँदे नोट अफ डिसेन्ट राख्दै नेता नेपालले अध्यक्षहरूबाटै एक व्यक्ति एक पदको व्यवस्था लागू हुनुपर्ने प्रस्ताव गरेका हुन् ।

पार्टी नेताहरूलाई जिम्मेवारी प्रदान गर्ने सन्दर्भमा वरिष्ठता र योग्यता बेवास्ता गर्दै बिनामापदण्ड जिम्मेवारीका ‘खातै खात’ लगाएकाले यस्ता जिम्मेवारीको कटौती हुनुपर्ने नेपालको असहमतिपत्रमा उल्लेख छ ।
‘वरिष्ठता एवं योग्यता बेवास्ता गर्दै बिना कुनै मापदण्ड कसैलाई जिम्मेवारीमाथि जिम्मेवारीको खातैखात, कसैलाई जिम्मेवारीविहीन बनाएर अपमानित गर्ने कुरालाई न्यायोचित मान्न सकिन्न,’ नेपालले पार्टी सचिवालयमा बुझाएको असहमतिपत्रमा भनिएको छ, ‘अतः एक व्यक्ति एक प्रमुख जिम्मेवारीको वैधानिक व्यवस्थालाई पार्टी अध्यक्षद्वयदेखि सबै व्यक्तिमा लागू गरियोस् ।’ कान्तिपुर दैनिका खबर छापिएकाे छ ।