१६ चैत्र २०८०, शुक्रबार
Follow Us

मोनाको तेस्रो महाधिवेशन पर्यटकीय गन्तब्य घोडेपानीमा हुँदै

नेपालब्रिटेन डट कम्
४ भाद्र २०७६, बुधबार ०६:००

टोकियो – म्याग्दी प्रवासी नेपाली संघ (मोना) को केन्द्रीय महाधिवेशन आउँदो अक्टोबर १ देखि ३ सम्म म्याग्दीको रमणीय पर्यटकीयस्थल घोडेपानीमा हुने भएको छ ।
अन्नपूर्ण गाउँपालिकाको घोडेपानीमा हुन गईरहेको तेस्रो महाधिवेशनको तयारीलाई तिब्र पारिएको छ ।

विश्वभरि छरिएर रहेका म्याग्देलीहरुलाई एकत्रित गरी जिल्लाको समृद्धिका लागि संभावित सहकार्य र साझेदारी बढाउने उद्देश्यका साथ विश्वब्यापी अभियानमा रहेको मोनाको तेस्रो महाधिवेशन घोडेपानीमा हुन लागेको हो । नेपाल भ्रमण वर्ष -२०२० को पूर्वसन्ध्यामा जिल्लाकै पर्यटकीय गन्तब्यमा हुन लागेको उक्त अधिशवेशनलाई उच्च महत्वका साथ हेरिएको छ । यसअघि दोस्रो महाधिवेशन २०१७ मा जिल्लाको दोस्रो व्यापारिक केन्द्र मानिने दरबाङ बजारमा भएको थियो भने पहिलो महाधिवेशन २०१५ मा सदरमुकाम बेनी बजारमा भएको थियो ।

महाधिवेशनलाई सम्पन्न गर्न विभिन्न उपसमितिहरुमार्फत तयारीलाई तिब्र पारिएको महाधिवेशन मुल आयोजक समितिका संयोजक तथा मोनाका अध्यक्ष चक्रबहादुर थापाले समुद्रपारिलाई बताए । जसअनुसार व्यवस्थापन उपसमितिमा जंगबहादुर पुन, आर्थिक उपसमितिमा कोषाध्यक्ष राम खड्का, प्रचारप्रसार उपसमितिमा महासचिव मिम पुर्जा, साँस्कृतिक उपसमितिमा मुक्ति रोका, बिधान संशोधन उपसमितिमा घनश्याम शाही, स्मारिका प्रकाशनमा मिम पुर्जाको संयोजक तोकिएको छ ।

तीन दिनसम्म चल्ने महाधिवेशनमा २७ राष्ट्रका प्रतिनिधिहरूको सहभागिता रहने अपेक्षा गरिएको छ । यस महाधिवेशनले आगामी दुई वर्षे कार्यकालका लागि नयाँ नेतृत्वसहितको कार्यसमिति चयन गर्ने कार्यक्रम छ । महाधिवेशनमा नीति भन्दा नेतृत्वको बिषयले प्राथमिकता पाउने गरेको विगतको नजिरलाई यस पटक सुधारिने अपेक्षा गरिएको छ ।

कार्यक्रममा नेपाल सरकारको प्रतिनिधित्व गर्दै महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री थममाया थापाको प्रमुख आतिथ्यता रहने भएको छ भने स्थानिय तहका सबै गाउँ तथा नगरपालिकाका जनप्रतिनिधिहरुको विशेष उपस्थिति रहने बताईएको छ । यसैगरी जिल्लाका लब्धप्रतिष्ठित वौद्धिक व्यक्तित्व, विभिन्न राजनैतिक दलका प्रतिनिधि, जिल्लाका प्रशासनिक तथा अन्य निकायका प्रमुखहरुका साथै समाजसेवी, अभियान्ता, नागरिक समाज, निजी क्षेत्रका व्यवसायीका साथै स्थानीय जनसमुदायको बृहत उपस्थितिमा महाधिवेशन सम्पन्न हुने मोनाका महासचिव मिम पुर्जाले जानकारी दिए ।

महाधिवेशनमा जिल्लाका लोकप्रिय कलाकारहरुको साँगीतिक प्रस्तुतीमा मनोरञ्जनात्मक कार्यक्रम समेत रहने मोना अष्ट्रेलियाका अध्यक्षसमेत रहेका साँस्कृतिक संयोजक मुक्ति रोकाले बताए ।

विभिन्न राष्ट्रमा रहेका मोनाका राष्ट्रिय कमिटीहरु र मोना केन्द्रको हालसम्मका कार्यप्रगति प्रतिवेदन तथा गतिविधिलाई अभिलेखिकरण गर्ने उद्देश्यले स्मारिका प्रकाशनको तैयारी भईरहेको सचिव विक्रम कार्कीले बताए ।

स्थानिय जनसमुदायसंग समन्वय, प्रचारप्रसार, निमन्त्रणा, आवास, भोजन, शान्ति सुरक्षा, मञ्च सजावट, स्वागतद्वार, स्वयमसेवीको व्यवस्थापन लगायतका महाधिवेशनको आवश्यक सबै तैयारीका लागि मोना नेदरल्याण्डका अध्यक्षसमेत रहेका व्यवस्थापन उपसमितिका संयोजक जंगबहादुर पुन एक महिनादेखि महाधिवेशनस्थल घोडेपानीमा खटिरहेका छन् ।

आसन्न महाधिवेशनको तैयारी लगायतका आवश्यक निर्णय गर्न गत सोमबार भएको मोनाको केन्द्रीय समितिको अनलाइन बैठकले विगतका महाधिवेशनका अनुभवहरुबाट पाठ सिक्दै महाधिवेशनलाई थप प्रभावकारी र फलदायी बनाउन नीति, कार्यक्रम, योजना र मुल एजेण्डामा जोड दिने, बाह्य तथा असबन्धित बिषयवस्तुहरुमा महाधिवेशनलाई प्रभावित हुन नदिने, सशक्त, समावेशी र कामकाजी नयाँ कार्यसमिति निर्माणका लागि आवश्यक नियामावली, निर्देशिका एवं मापदण्डको आधारमा पूर्व तैयारी एवं गृहकार्य गर्न महाधिवेशन भन्दा एक महिना अगावै निर्वाचन समिति गठन गर्ने, विगतका कमीकमजोरीलाई सुधारिने लगायतका बिषयमा सहमति जुटेको छ ।