७ बैशाख २०८१, शुक्रबार
Follow Us

नेपालले अब गुरुहरु निर्यात गर्न लागेको छ: स्वामी अरुण

नेपालब्रिटेन डट कम्
४ भाद्र २०७६, बुधबार १२:०५

काठमाण्डूस्थित ओशो तपोवनका संस्थापक स्वामी आनन्द अरुणले ठूलो व्यापार घाटा व्यहोरीरहेको नेपालले अब गुरुहरु निर्यात गर्न लागेको बताएका छन् ।
आफ्ना निकट सहयोगी स्वामी आननद अर्हतसंग मंगलबार बेलुका लन्डन आइपुगेका स्वामी अरुणले ओशो तपोबनबाट तपोबनमा प्रशिक्षित १५, २० जना प्रशिक्षकहरुले नेपाल, भारत, थाइल्याण्ड, ब्रिटेन, रुस लगायतका मुलुकहरुमा योग र ध्यान सिकाइ रहेको बताए।
“हामी तपोभूमिबाट आइरहेका छौं। नेपाल तपोभूमि हो, तपोबन त अझ तपस्थल नै भयो। नेपालमा सबै कुरामा हामी व्यापारघाटामा छौ, तर गुरुहरु भने निर्यात गर्न लागेका छौं,” उनले भने।

“हामीले गरेको तपस्या, ध्यान, साधना, त्यसको सुगन्ध फैलाउन यहां आएको छु। यो सुगन्ध जति बांडिन्छ त्यति नै बढ्छ,” स्वामी आनन्द अरुणले भने। “म यहां आउंदा अत्यन्त खुसी छु । मेरा आत्मीय मित्रहरुसंग वर्षमा एकचोटी भेटन पाउंदा अत्यन्त आनन्द आउंछ ।”
बुधबार बेलुका स्वामी अरुणले अल्डरशटस्थित शिव सामुदायिक तथा संस्कृतिक केन्द्रमा आयोजित कार्यक्रममा प्रवचन दिनेछन् ।

त्यस्तै उनले यही अगष्ट २३ देखि २६ तारिखसम्म लन्डन नजिकै द भेयर, ल्यातिमर एस्टेटमा तीन दिवसीय ध्यान शिविर पनि सन्चालन गर्ने छन्।
संसारका बीसभन्दा बढी मुलुकहरुमा ध्यान शिविरहरु सन्चालन गरीसक्नुभएका स्वामी अरुणले स्वस्थ र सन्तुलित जीवनकालागि ध्यान अपरिहार्य रहेको बताउँदै आएका छन्।
मंगलबार बेलुका उनलाई हिथ्रो विमानस्थलमा बेलायतस्थित ओशो सन्न्यासीहरुले स्वागत गरेका थिए।

“आजको व्यस्त समाजमा संयमित जीवन शैली र ध्यानको महत्व जति वर्णन गरेपनि कम हुन्छ। त्यसैले बोधिसत्व स्वामी अरुणसंग आवासीय ध्यान शिविरमा सपरिवार सहभागी हुन हामी सबैलाई आग्रह गर्दछौं,” ओशो क्याम्प युकेका स्वामी ध्यान शंकरले भने।
www.oshoanandbodhilondon.co.uk/2019-Meditation-retreat.html मा गएर ध्यान शिविरबारे थप जानकारी प्राप्त गर्न सकिनेछ।