६ चैत्र २०८०, मंगलवार
Follow Us

पहिलोपटक प्रतिनिधिसभाका उपसभामुख, राष्ट्रिय सभाका उपाध्यक्ष र प्रदेशसभाका उपसभामुखहरुबीच भिडियो कन्फ्रेन्स

नेपालब्रिटेन डट कम्
५ भाद्र २०७६, बिहीबार ११:५९

काठमाडौं– पहिलोपटक प्रतिनिधिसभाका उपसभामुख, राष्ट्रिय सभाका उपाध्यक्ष र प्रदेशसभाका उपसभामुखहरुबीच आज भिडियो कन्फ्रेन्स भएको छ ।
प्रतिनिधिसभाका उपसभामुख, राष्ट्रियसभाका उपाध्यक्ष र ७ वटै प्रदेशसभाका उपसभामुखहरुबीच अनुभव आदान प्रदान र समन्वय गर्ने उद्देश्यले भिडियो कन्फ्रेन्स आयोजना गरिएको हो । भिडियो कन्फ्रेन्समा प्रतिनिधिसभाका उपसभामुख डा. शिवमाया तुम्बाहाङ्फे, राष्ट्रिय सभाका उपाध्यक्ष शशिकला दाहालले सिंहदरवारस्थित आ–आफ्नै कार्यकक्षबाट सहभागी हुनुभएको थियो ।
प्रदेश नम्बर १ का उपसभामुख सरस्वती पोखरेल विराटनगरबाट, प्रदेश नम्बर २ का उपसभामुख उपमा देव जनकपुरबाट, प्रदेश नम्बर ३ का उपसभामुख राधिका तामाङ हेटौंडाबाट, गण्डकी प्रदेशका उपसभामुख सिर्जना शर्मा पोखराबाट, प्रदेश नम्बर ५ का उपसभामुख कृष्णी थारु बुटवलबाट, कर्णाली प्रदेशका उपसभामुख पुष्पा घर्ती विष्ट सुर्खेतबाट र सुदूरपश्चिम प्रदेशका उपसभामुख निर्मला बडाल जोशी धनगढीबाट सहभागी हुनुभएको थियो ।
प्रतिनिधिसभाका उपसभामुख, राष्ट्रिय सभाका उपाध्यक्ष र प्रदेशसभाका उपसभामुखहरुबीचको अनुभव र सरोकार साझा देखिएको छ । उहाँहरुले संविधानले प्रतिनिधिसभाको सभामुखको अनुपस्थितिमा उपसभामुखले प्रतिनिधिसभाको अध्यक्षता गर्ने भनिए पनि नियमावलीमा फरक अर्थ लगाएको, नियमावली संशोधन भए पनि सहजता नभएको धारणा राख्नुभयो । सभामुख र उपसभामुखबीच कार्यसञ्चालनमा समन्वय वृद्धि हुँदै गए पनि कतिपय विषयमा सहजता हुन नसकेको अनुभव राख्नुभयो । उहाँहरुले उपसभामुख र उपाध्यक्षहरु आफैँ सिर्जनात्मक हुनुपर्ने, अधिकार उपयोगमा चनाखो रहनुपर्ने र समन्वयको वातावरण निर्माण गर्न आफैँ अघि सर्नुपर्नेमा पनि एक हुनुभयो ।
संघीय संसद सचिवालयले केन्द्र र प्रदेश तहका संसदबीच सहकार्य र समन्वय गर्ने उद्देश्यले २०७५ साल भदौ ३ गते पहिलोपटक काठमाडौंको चन्द्रागिरीमा संसदीय प्रक्रिया र अनुभवसम्बन्धी अन्तक्र्रिया कार्यक्रम गरेको थियो । त्यसपछि ३ नम्बर प्रदेश सभाले चितवनमा २०७५ साल मंसिर २९ गते अन्तरप्रदेश सभा अनुभव आदान प्रदान कार्यक्रम आयोजना गरेको थियो ।
यस प्रकारको कार्यक्रमलाई निरन्तरता दिने योजना रहे पनि प्राविधिकरुपमा कार्यक्रम गर्न सम्भव नभएपछि प्रतिनिधिसभाका उपसभामुख, राष्ट्रिय सभाका उपाध्यक्ष र प्रदेशसभाका उपसभामुखहरुले प्रविधिको प्रयोग गर्दै बैठक गर्नुभएको हो । भिडियो कन्फ्रेन्समा उहाँहरुले आफ्ना अनुभवहरु साटासाट गर्नुका साथै संसदलाई प्रभावकारी बनाउन उपसभामुखले खेल्नुपर्ने भूमिका र दायित्वबारे पनि छलफल गर्नुभएको छ ।