१२ बैशाख २०८१, बुधबार
Follow Us

प्रधानमन्त्री भिडियोबाटै मन्त्रिपरिषद्‍ बैठकमा सहभागी हुने

sarusaru
६ भाद्र २०७६, शुक्रबार ०२:५२

काठमाडौं : अब भिडियोबाट प्रधानमन्त्रीको उपस्थितिमा पनि मन्त्रिपरिषद् बैठक बस्न सक्ने भएको छ। उपचारका लागि प्रधानमन्त्री केपी शर्मा ओली सिंगापुर उड्नुअघि बुधबार बसेको मन्त्रिपरिषद् बैठकले यस्तो निर्णय गरेको हो।

बिहीबार नियमित पत्रकार सम्मेलनमार्फत मन्त्रिपरिषद्का निर्णय सार्वजनिक गर्दै सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुल बाँस्कोटाले यस्तो जानकारी दिएका हुन्।

‘अब प्रधानमन्त्री अनुपस्थित रहेका बेला भिडियोबाटै मन्त्रिपरिषद् बैठकमा सहभागी हुनुहुनेछ’, मन्त्री बाँस्कोटाले भने, ‘बुधबार बसेको मन्त्रिपरिषद् बैठकले यसको बाटो खोलेको छ।’

स्वास्थ्य उपचारका लागि प्रधानमन्त्री ओली केही समय सिंगापुरमै बस्नुपर्ने भए उनी भिडियोमार्फत मन्त्रिपरिषद् बैठकमा उपस्थित हुनेछन्। सरकारले भदौ १, २ र ४ गते बसेको मन्त्रिपरिषद् बैठकका निर्णय बिहीबार एकैपल्ट सार्वजनिक गरेको छ।

१२ वर्षअघि मिर्गौला प्रत्यारोपण गरेका ओलीले आफ्नो स्वास्थ्य परीक्षणलाई उत्तिकै महत्व दिँदै आएका छन्। उनको दिल्लीस्थित अपोलो अस्पतालमा मिर्गौला प्रत्यारोपण गरेपछि नियमित स्वास्थ्य परीक्षण काठमाडौं, दिल्ली, बैंकक र सिंगापुरमा हुँदै आएको थियो।

यसपटक ओलीको सिंगापुर बसाई कति लामो हुन्छ भन्ने टुंगो छैन। प्रधानमन्त्रीका प्रेस संयोजक चेतन अधिकारीले प्रधानमन्त्रीको सिंगापुर बसाईको अवधि तय नभएको अन्नपूर्णलाई बताए।

पार्टी एकताका काम टुंग्याउनेसहितका जिम्मेवारीसहित अर्का अध्यक्ष पुष्पकमल दाहाललाई कार्यकारी भूमिका दिनुले पनि यो अनिश्यचलाई झल्काउँछ। प्रधानमन्त्री सिंगापुर उड्नुअघि बसेको नेकपा सचिवालय बैठकले प्रधानमन्त्रीलाई स्वास्थ्यलाभको कामना गरेको थियो।

कस्तो उपचार हुन्छ सिंगापुरमा ?

प्रधानमन्त्री ओली बिहीबार सिंगापुर उड्नुअघि उनका निजी चिकित्सक डा. दिव्या सिंहले प्रधानमन्त्रीको स्वास्थ्यबारे जानकारी सार्वजनिक गरेकी छन्।

ओलीको ‘मिर्गौलासम्बन्धी एन्टीबडीको मात्रा बढी देखिन गएको’ प्रधानमन्त्रीका निजी चिकित्सक सिंहले लेखेकी छन्। ‘मिर्गौलासम्बन्धी एन्टीबडीको मात्रा केही बढी देखिन गएको थियो’, डा. सिंहले भनेकी छन्, ‘एन्टीबडीलाई शरीरबाट निस्कासन गरी निराकरण गर्ने उपचार विधिलाई निरन्तरता दिन फेरि त्यसतर्फ जान लाग्नुभएको हो।’

वरिष्ठ मिर्गौला रोग विशेषज्ञ डा. राजेन्द्रकुमार अग्रवालका अनुसार एन्टीबडी भनेको शरीरको डिफेन्स मेकानिज्म (प्रतिरोध प्रणाली) को हिस्सा हो। यसले बाह्य तत्त्वबाट शरीरलाई जोगाउँछ।

ओलीको प्रत्यारोपण गरिएको मिर्गौलामा एन्टिबडी रियाक्सनका कारण समस्या भएको हुन सक्ने अनुमान गरे पनि आफूले केही भन्न नसक्ने उनले सुनाए।

सिंगापुरमा रहँदा नेसनल युनिभर्सिटी अस्पतालमै नेपाली चिकित्सकका साथमा त्यहाँका विज्ञहरूको टोलीले प्रधानमन्त्रीको मिर्गौलाको थप परीक्षण र क्षमता अभिवृद्धिका लागि आवश्यक उपचार समेत गरिने डा. सिंहले जनाएकी छन्।

प्रधानमन्त्रीको स्वास्थ्यका सम्बन्धमा नयाँ र उल्लेखनीय जानकारी प्राप्त भएमा मिडियामार्फत अवगत गराउने पनि उनले उल्लेख गरेकी छन्। प्रधानमन्त्री ओली थाई एअरबाट पत्नी राधिका शाक्यसहित निजी चिकित्सक, सल्लाहकार लिएर सिंगापुर उडेका हुन्।

बुधबारको मन्त्रिपरिषद्ले बैठकमा प्रधानमन्त्रीलाई भिडियोबाटै सहभागी गराउने निर्णयले प्रधानमन्त्रीको सिंगापुर बसाई लम्बिने संकेत गरेको छ ।

अन्नपूर्ण पोष्ट