८ बैशाख २०८१, शनिबार
Follow Us

मिथिलाञ्चलको महापर्व छठ आज

नेपालब्रिटेन डट कम्
२१ कार्तिक २०७३, आईतवार ०६:१२

काठमाडौं । तराइवासी नेपालीहरुको महान् चाड छठ आज अस्ताउँदो सूर्यलाई अर्घ दिएर धूमधामका साथ मनाइँदै छ । भोलि बिहान उदाउँदो सूर्यलाई पूजाआजा र अर्घ दिएपछि छठ पर्व सम्पन्न गरिन्छ । सूर्यको आराधना तथा व्रत पूजालाई छठ पर्व भन्ने चलन छ । मूलतः तराईवासी र मैथिली समाजले मनाउने विशेष चाडको रुपमा रहेको यो पर्वलाई सूर्य षष्ठी, स्कन्ध षष्ठी र छठी मइया आदिको नामले पुजिन्छ । छठ पर्वका अवसरमा तराईका नदी–तलाउमा श्रद्धालु भक्तजनको भिड लाग्ने गर्छ ।
श्रद्धालु भक्तजनका अनुसार सात्विक र श्रद्धाका साथ गरिने यस पूजाबाट सुख शान्ति, धनधान्य र पुत्र प्राप्ति हुने तथा विभिन्न कठिनाइबाट मुक्ति पाइने विश्वास रहेको छ । खरना भनिने दोस्रो दिन दिनभर व्रतालुहरू उपवास बसेर साँझको समयमा रोटी, खीर, नैवेद्य आदिद्वारा छठमाईको पूजा गरी शान्तमय वातावरणमा भोजन गरी आफ्ना परिवारलाई खरनाको प्रसाद वितरण गर्ने चलन छ ।
व्रतको तेस्रो दिन अर्थात् षष्ठी तिथिमा पवित्र जलाशयमा नुहाएर ठेकुवा, पुरी, चामलको पीठोको सख्खर सहितको लड्डु विभिन्न प्रकारका फलपूmल, उखु, नरिबल, बेसारको बोट र मिष्ठान्नलाई बाँसले बनाइएको ढकी, नाङ्लो आदिमा राखेर नदी, पोखरी, नहर र जलाशयको छेउमा गएर अस्ताउँदै र उदाउँदै गरेको सूर्यको पूजा गर्ने परम्परा छ ।
रातभरि भजन कीर्तनसहित छठमाईको पूजा–आजा गरी भोलिपल्ट सप्तमी तिथिमा उदाउँदो सूर्यलाई दोस्रो अर्घ दिएर यो पवित्र पर्वको समापन गरिन्छ । श्रद्धालुहरूको आज जनकपुरको गङ्गासागर, धनुषसागर, रामसागर, रत्नसागर, विहारकुण्ड, रुक्मिनी सागर र वीरगंजको घडिअर्वा लगायतका कुण्ड, पोखरीमा विशेष भीड लाग्ने गर्दछ ।