१५ चैत्र २०८०, बिहीबार
Follow Us

पूर्वयुवराज पारस शाहद्वारा कालु पाँडेलाई सम्मान अर्पण

नेपालब्रिटेन डट कम्
७ भाद्र २०७६, शनिबार १९:४५

काठमाडौं । पूर्वयुवराज पारस शाहले नेपाली एकीकरणका योद्धा काजी कालु पाँडेलाई सम्मान अर्पण गरेका छन् ।

कामपा, नागर्जुन, वडा नं ७, दहचोकस्थित कालु पाँडेको समाधिमा पुगेर पारसले बीर योद्धालाई आज सम्मान गरेका हुन् ।

दहचोकस्थित ऐतिहासिक स्थल अवलोकन गर्ने क्रममा पारस कालु पाँडेको समाधिस्थल गएका थिए । सो अवसरमा स्थानीय बासिन्दाले राजसंस्था र पारसको जयजयकार गर्दै नारा लगाएका थिए ।

‘राष्ट्र, राष्ट्रिय एकताका लागि योगदान पुर्याउने, जीवन उत्सर्ग गर्ने बीर पुरुषहरुको सम्मान सबै नेपालीको कर्तव्य हो भन्ने भावना उहाँमा पाए,’ स्थानीय सुबीरमान सिंह बस्न्यातले भने ।

पृथ्वीनारायण शाहले दहचोक गडीबाटै किर्तिपुर, काठमाडौं, पाटन र भक्तपुरमाथि विजय हासिल गरेका थिए । किर्तिपुरको लडाईमा पाँडेले वीरगति प्राप्त गरेपछि गोरखा देख्ने ठाउँमा शव गाडि दिनु भन्ने इच्छा व्यक्त गरेबमोजिम उनको शीर दहचोकमा गाडिएको इतिहास छ ।

बस्न्यातका अनुसार, पूर्वयुवराज आउने खबर सुनेर स्थानीयहरु स्वतस्फूर्त स्वागतमा सहभागी भए । दहचोक प्रवेश गर्ने क्रममा पंचकन्याले पारसको स्वागत गरेका थिए । कान्काली, दहचोक र कालु पाँडेको समाधिस्थल, तीन ठाउँमा स्थानीयले घडाकलश राखेका थिए ।

सो अवसरमा रमेश गौतम, सुन्दर लामिछाने, रामकृष्ण भट्टराई लगायतका वडा अध्यक्षहरु स्वागतमा सरिक भए । स्वागतमा स्थानीय शिक्षक, सर्वसाधारण, महिला र विशेष गरेर युवाहरुको उल्लेख्य उपस्थिति थियो ।