१६ चैत्र २०८०, शुक्रबार
Follow Us

पत्रकार अर्जुन गिरीलाई सफाइ

sarusaru
९ भाद्र २०७६, सोमबार ०२:२९

पोखरा : समाचार लेखेकै भरमा साइबर अपराधको अभियोग लागेका पोखराका पत्रकार अर्जुन गिरीले अदालतबाट सफाइ पाएका छन्। ताण्डव साप्ताहिकका सम्पादक गिरीविरुद्ध लागेको अभियोगको दाबी नपुग्ने ठहर जिल्ला अदालत काठमाडौंले आइतबार गरेको हो।

न्यायाधीश विनोदकुमार पोखरेलको इजलासले विद्युतीय कारोबारसम्बन्धी अभियोगमा गिरीविरुद्ध दायर गरेको मुद्दामा फैसला गरेका हुन्। बिपेन्द्रराज बतासले नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी) दिएको जाहेरीका आधारमा सम्पादक गिरीलाई कास्की प्रहरीले २ वैशाखमा पक्राउ गरी काठमाडौं लगेको थियो। पक्राउ परेको ४ दिनपछि अदालतले गिरीलाई साधारण तारेखमा रिहा गरेको थियो।

अदालतले आइतबार फैसला गर्दै साइबर अपराधको अभियोग दाबी नपुग्ने प्रष्ट पारेको हो। गिरीको गिरफ्तारीविरुद्ध पत्रकार महासंघले देशव्यापी आन्दोलन गरेको थियो। गिरीविरुद्धको मुद्दामा अदालतमा ४ पटक पेसी भएको थियो।

उनको मुद्दामा आइतबार वरिष्ठ अधिवक्ता बोर्ण बोहरा र अधिवक्ता भक्तिराम घिमिरेले बहस गरेका थिए। यसअघि अधिवक्ता स्वागत नेपालले पनि उनको पक्षमा पैरवी गरेका थिए।

गिरी ताण्डवन्युज डटकका समेत सम्पादक हुन्। उनको अनलाइन पत्रिका प्रेस काउन्सिल र सूचना विभागमा दर्ता हुँदा हुँदै नभएको भन्ने आधारमा प्रहरीले मुद्दा अगाडि बढाएको थियो।

अन्नपूर्ण पोष्ट