१६ चैत्र २०८०, शुक्रबार
Follow Us

ओली सिंगापुर बस्दा यता प्रचण्ड सक्रिय, बोलाए बैठक

नेपालब्रिटेन डट कम्
९ भाद्र २०७६, सोमबार ०२:५२

काठमाडौँ–नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पार्टी एकीकरणका बाँकी कार्य पूरा गर्ने गृहकार्यमा लागेका छन् ।
पार्टी स्थायी समितिका सदस्य देवेन्द्र पौडेलका अनुसार अध्यक्ष प्रचण्डले एकचरण सबैसँग छलफल गरी सचिवालयको बैठक बोलाउनेछन् । सचिवालयको बैठक मङ्गलबारसम्म बोलाउने तयारी भइरहेको नेता पौडेलले बताए । अध्यक्ष प्रचण्डले आइतबार सचिवालय सदस्यहरू ईश्वर पोखरेल र वामदेव गौतमसँग भेटघाट गरी साङ्गठनिक एकताका बाँकी प्रक्रिया टुङ्गो लगाउने विषयमा छलफल गरेका छन् ।
नेकपाका अध्यक्ष एवम् प्रधानमन्त्री केपी शर्मा ओलीले आफू उपचारका लागि सिङ्गापुर जानुअघि सचिवालयको बैठक बसाएर पार्टी एकीकरणका कामहरू टुङ्गो लगाउने जिम्मेवारी अध्यक्ष प्रचण्डलाई दिएका थिए । प्रचण्डले सोमबार दिउँसो पार्टी केन्द्रीय कार्यालय धुम्बाराहीमा सचिवालयको बैठक बोलाएका छन् । सचिवालयको बैठकले गरेका निर्णयप्रति सात बुँदे असहमति दर्ता गराएका सचिवालय सदस्य माधवकुमार नेपालसँग पनि अध्यक्ष प्रचण्डले छलफल गरेका छन्। छलफलमा वरिष्ठताका आधारमा भएको कार्यविभाजनमा केही त्रुटि भएको भन्दै प्रचण्डले त्यसलाई सर्वसम्मतिका आधारमा सच्याउन प्रयास गरिने प्रतिबद्धता जनाएको माधव नेपालको निजी सचिवालय स्रोतले जनाएको छ । गोरखापत्र दैनिकमाम खबर छ ।