१५ बैशाख २०८१, शनिबार
Follow Us

यकिन भएन त्रिचन्द्र स्थापना दिन

नेपालब्रिटेन डट कम्
१० भाद्र २०७६, मंगलवार ०२:१४

काठमाडौँ। राजधानीको प्रसिद्ध त्रिचन्द्र बहुमुखी क्याम्पसको स्थापना मिति अनुसन्धानकर्ताका लागि खोजको विषय बन्नसक्ने देखिएको छ ।
क्याम्पसले स्थापना दिवस मनाउने मिति र इतिहासकारहरूले उल्लेख गरेको मिति ठ्याक्कै मिल्दैन । महिना मिले पनि गते फरक पाइएको छ । स्थापनाकालको लिखत क्याम्पससँग छैन । इतिहासकारहरूले कुन आधारमा स्थापना मिति उल्लेख गरेका छन् भन्ने पनि प्रस्ट छैन । क्याम्पस स्थापना भएको मिति वरपरको गोरखापत्रको अङ्क सुरक्षित नभएकाले पनि मिति किटान गर्न सकिने अवस्था छैन । त्रिचन्द्र बहुमुखी क्याम्पस नामकरण गरिए पनि अझै जनजिब्रोमा त्रिचन्द्र कलेज नै भन्ने गरिएको सो क्याम्पसले हरेक भदौ ५ गतेलाई स्थापना दिवसका रूपमा मनाउँदै आएको छ । क्याम्पसका कर्मचारीहरू ७५औँ वार्षिकोत्सवबाट मात्र स्थापना दिवस मनाउन थालिएको बताउँछन् । बिहीबार क्याम्पसले स्थापनाको १०२औँ वर्ष मनाएको छ । गोरखापत्र दैनिकमा खबर छापिएको छ।