१४ बैशाख २०८१, शुक्रबार
Follow Us

रमेश सायनको ‘छुटेका अनुहार’लाई पद्मश्री साहित्य पुरस्कार दिने घोषणा

नेपालब्रिटेन डट कम्
१० भाद्र २०७६, मंगलवार १०:०६

काठमाडौं– पद्मश्री साहित्य पुरस्कार २०७५ रमेश सायनको संस्मरण ‘छुटेका अनुहार’लाई अर्पण गर्ने घोषणा भएको छ ।

खेमलाल हरिकला लामिछाने समाज कल्याण प्रतिष्ठानले निबन्धकार रमेश सायनको संस्मरण ‘छुटेका अनुहार’लाई सो पुरस्कार अर्पण गर्ने निर्णय गरेको हो ।

छुटेका अनुहारमा लेखक रमेश सायनले आफैँले भेटेर छुटेका केही अनुहार र तिनको मनोवृत्तिको सूक्ष्म चित्रण अनुभूतिको गहिराइसम्म पुगेर कलात्मक शैलीमा प्रस्तुत गरेका छन् ।

त्यस्तै यस वर्षको पद्मश्री साधना सम्मान इतिहासविद् तथा संस्कृतज्ञ डा महेशराज पन्तलाई अर्पण गर्ने निर्णय गरिएको खेमलाल हरिकला लामिछाने प्रतिष्ठानका अध्यक्ष जीवा लामिछानेले जानकारी दिए ।

दुईसय भन्दा बढी शोधलेखका साथसाथै ६ वटा पुस्तक प्रकाशित गरेका महेशराज पन्त नेपाली भाषा, संस्कृति, इतिहासका अन्वेषक हुन् ।

२०६३ सालदेखि प्रतिष्ठानले नेपाली साहित्यका वर्षभरि प्रकाशित पुस्तकमध्ये निर्णायक मण्डलले उत्कृष्ट ठहर्याएकोको पुस्तकलाई प्रत्येक वर्ष पद्मश्री साहित्य पुरस्कार अर्पण गर्दै आएको छ ।

त्यस्तै २०६७ सालदेखि प्रतिष्ठानले साहित्य, कला, सङ्गीत, अभिनय आदि क्षेत्रमा दीर्घ साधना गर्नुहुने वरिष्ठ साधकलाई पद्मश्री साधना सम्मान अर्पण गर्दै आएको छ ।

दुवै सम्मान तथा पुरस्कार कोजाग्रत पूर्णिमाको दिन अर्पण गरिने प्रतिष्ठानले जनाएको छ ।

पद्मश्री साहित्य पुरस्कार र पद्मश्री साधना सम्मानको राशि दुई लाख रुपैँया रहेको छ ।